सुरक्षा योजना बन्यो, प्रहरी छैनन्



  • पाँच सय थप माग
    कुमार श्रेष्ठ, बाँके । गतवर्ष दशैंमा १३ ठाउँमा चोरी भए । चोरले कम्तीमा २७ लाख रुपैया लग्यो । धनाढ्यको खाली घर छानी–छानी चोरी गरिएको थियो । नगद र सुनमात्रै लैजाने यी ‘भिआइपी’ चोरलाई प्रहरीले समात्न सकेन । चोरी दिउँसो नै धेरै भएको थियो । दशैंमा धेरै घरहरु खाली रहने र चोरले त्यस्ता घरलाई ‘तार्गेट’ गरेको पाइन्छ । चोरीलाई नियन्त्रण गर्न बाँके प्रहरीले वर्षेनी चाडबाडमा ठूलो संख्यामा प्रहरी परिचालन गर्दछ । बिहीबार (घटस्थापना) देखि यसवर्षको दशैं पनि भित्रिसकेको छ ।

    बाँके प्रहरीले पनि चाडबाड लक्षित सुरक्षा योजना बनाइसकेको जनाएको छ । प्रहरीले राजमार्ग गस्तीदेखि चोरी नियन्त्रण, बैंक, मठमन्दिर सुरक्षा, नाका, भित्रीगल्लीमा गाडी, मोटरसाइकल, साइकल र पैदल गस्तीका लागि छुट्टा–छुट्टै टोली खटाउने योजना बनाएर अघि बढेको छ । योजना त बन्यो तर प्रहरी भने जिल्लामा छैनन् । २ नम्बर प्रदेशको चुनावमा खटिएका प्रहरी फर्किसकेका छैनन् । जिल्लाबाट मात्रै डिएसपीको नेतृत्वमा २ सय ५८ प्रहरी रौतहट पुगेका छन् । त्यसै त जिल्लामा प्रहरीको कमी छ । दंगा गण, तालिम केन्द्रबाट मगाउनु पर्ने अवस्था छ । त्यसमा पनि जिल्लाकै झण्डै ४० प्रतिशत प्रहरी २ नम्बर प्रदेशको चुनावमा गएका छन् । जिल्लाले चाडबाडका लागि कम्तीमा ५ सय जना प्रहरी माग गरेको छ । २ नम्बरको चुनावमा गएको टोली फर्किने र दंगा, तालिम केन्द्रबाट थप मद्दत ल्याएर चाडबाडका लागि बनेको सुरक्षा योजनालाई सफल बनाउने जिल्ला प्रहरी कार्यालय, बाँकेका कार्य शाखाका इन्चार्ज लक्ष्मण शाहीले बताउनुभयो ।

    शाहीका अनुसार, जिल्ला प्रशासन कार्यालयसँग चाडबाडका लागि १० वटाजति गाडीको व्यवस्था गरिदिन आग्रह गरिएको छ ।  दशैंमा प्रायः बजारका घरहरु खाली गरेर गाउँतिर जाने गरिन्छ । घरहरु खाली गरेर जानुपर्ने अवस्था आएमा प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ । प्रहरीलाई जानकारी दिइएमा गस्ती टोलीले विशेष निगरानी राख्ने बताइएको छ ।  विशेष गरेर बाँके जिल्ला विविधतामा एकताको शहर मानिछ । पहाडी, मधेसी, थारु समुदायको बसोबास रहेको जिल्लामा धार्मिक आस्था पनि फरक फरक रहेको छ । यस पटकको दशैंमा पनि हिन्दुले दुर्गा सेलाउने र मुस्लिम समुदायले कर्बला जाने समय एकै दिनमा परेकाले सुरक्षा चुनौती थपिएको छ । धमिलो पानीमा माछा मार्न पल्केकाले त्यस दिनमा केही अप्रिय घटनाका लागि उक्साउने खतरा रहेको छ ।

    त्यसका लागि प्रहरी प्रशासन सचेत बनेको छ । यसका लागि पनि थप टोली माग गरिएको छ । नेपालगञ्ज बजारमा अप्रिय घटनाको संभावना न्यून रहने गर्दछ । केही गाउँमा विगतको तुष बाँकी रहेकाले सुरक्षा चुनौती रहेको छ । यद्यपि, प्रहरी प्रशासनले दुवै समुदायका लागि रुट तय गरिदिने रणनीति बनाएको छ । चाडबाडलक्षित योजनाअन्तर्गत प्रहरी प्रशासनले ‘टोल–टोलमा प्रहरी, जनमैत्री प्रशासन’ को अभियान थालनी गर्दैछ ।भिआइपीका लागि छुट्टै गाडी मागमध्य र सुदूरपश्चिमको केन्द्रविन्दु र ठूलो मन्त्रीमण्डलका कारण नेपालगञ्जमा दैनिक भिआइपीको आगमन भइरहन्छ ।

    साधन र स्रोतको अभाव खेपिरहेको प्रहरीलाई दैनिक आउने भिआइपीको सुरक्षा (स्कटिङ) ले हैरानी बनाएको छ । प्रहरीको संख्या कम, गाडीको अभाव अनि मन्त्री र पूर्वमन्त्रीहरुको भीडले बाँके प्रहरीलाई सधैं तनावमा पार्ने गरेको छ । दैनिक ६ जनासम्म भिआइपी आउदा प्रहरीले दुःख पाउनुसम्म पाएको अधिकारीहरु बताउँछन् ।  नियमित कामको अतिरिक्त भिआइपीको सुरक्षामा कुद्नु पर्ने भएपछि बाँके प्रहरीले भिआइपीका लागि छुट्टै गाडी र टोली परिचालनको अवधारणा अघि बढाएको छ । कम्तीमा दुई वटा गाडी र त्यसका जनशक्ति भिआइपीको सुरक्षाका लागि सधैं तम्तयार अवस्थामा राख्ने गरी व्यवस्था मिलाउन बाँकेले माथिल्लो निकायमा अनुरोध गरेको छ ।

    ‘हामीले लेखेर पठाएका छौं, उताबाट केही आएको छैन, एक प्रहरी अधिकृतले भने, भिआइपीका लागि छुट्टै गाडीको व्यवस्था हुनै पर्छ । नत्र अरु काममा असर पर्छ ।’ सुरक्षा व्यवस्थाका लागि नियमित दौडिरहने गाडीलाई भिआइपीको सुरक्षा भन्दै दिनभरी कुदाउनु पर्ने बाध्यता रहेको छ । पछिल्ला दिनमा प्रहरीले बहालवाला मन्त्री, पूर्व प्रधानमन्त्री र गृहमन्त्रीसम्मलाई अलि चासो दिएको पाइएको छ । यद्यपि, जिल्लामा आउने भिआइपी सबैले अगाडि–पछाडी प्रहरी देखाउने इच्छा राख्ने गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्