एपीएफ कमान्ड तथा स्टाफ कोर्स शुरू



????????????????????????????????????

 

काठमाडौं, नेस
शस्त्र प्रहरी बल कमान्ड तथा स्टाफ कलेज सानोगौचरण काठमाडौंमा तेस्रो समूहको ‘एपीएफ कमान्ड तथा स्टाफ कोर्ष’ सञ्चालन भएको छ।

सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले बुधबरा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजित एक समारोहबीच तेस्रो समूहको ‘एपीएफ कमान्ड तथा स्टाफ कोर्ष’को उद्घाटन गर्नुभयो।

सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले सो अवसरमा मध्यमस्तरका अधिकृतको व्यावसायिक क्षमता र योग्यता अभिवृद्वि गर्दै लैजाने अभिप्रायले स्थापित एपीएफ कमान्ड तथा स्टाफ कलेज उद्देश्य प्राप्तिको दिशामा प्रभावकारी ढंगले अगाडि बढिरहेको बताउनुभयो।

उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा चुनौती, विकास र शान्तिलगायतका विविध विषयवस्तुका बारेमा गहन अध्ययनका साथ महत्त्वपूर्ण जानकारी हासिल गर्नका लागि एपीएफ कमान्ड तथा स्टाफ कोर्ष सहायकसिद्ध ठहरिने चर्चा गर्नुहँुदै नेतृत्त्व विकास र दक्षतायुक्त अधिकृत उत्पादनको लागि यो कोर्ष अत्यन्तै महत्त्वपूर्ण रहेको बताउनुभयो। एपीएफ कमान्ड तथा स्टाफ कोर्षले व्यावसायिक कार्य, शैक्षिक अध्ययन र खोजलगायतका विषयमा ज्ञान आर्जन गर्न उल्लेखनीय सहयोग पुर्याउने बताउनुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले सो कलेजबाट दीक्षित भएका पहिलो समूहका अधिकृतको कार्य सम्पादनले समेत सशस्त्र प्रहरी बल नेपालमा कमान्ड तथा स्टाफ कलेज स्थापनको औचित्य पुष्टि भएको उल्लेख गर्नुभयो।

सशस्त्र प्रहरी बल कमान्ड तथा स्टाफ कलेज व्यवस्थापन समितिका अध्यक्ष सशस्त्र प्रहरी नायव महानिरीक्षक राजेश श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुहँुदै उक्त कोर्षमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा चुनौती तथा सुरक्षा रणनीति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवीय, द्वन्द्व व्यवस्थापन, संयुक्त राष्ट्रसंघीय पद्धति, नेतृत्त्व र विकास, सीमा, भन्सार तथा औद्योगिक सुरक्षा, विशिष्ट व्यक्ति तथा महत्त्वपूर्ण प्रतिष्ठानको सुरक्षा, विपद् व्यवस्थापनलगायत सुरक्षा, विकास र शान्तिलगायतका विषय समेटिएको उल्लेख गर्नुभयो।

१८ महिना अवधिको उक्त कोर्षमा कुल २० जना सशस्त्र प्रहरी नायव उपरीक्षक सहभागी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्