सुस्तायो जिल्लाकै पुरानो बजार



 

सुनील महर्जन, ललितपुर

धौगल बजार वा सस्तो बजार। एक समय यहाँ हरेक दिन सामान किन्ने र बेच्ने मानिस को भीडले पाइला टेक्न ठाउँ हुन्न थियो। तर अहिले दशैं नजिकिँदा पनि यो बजारमा मानिसको खासै चहलपहल छैन।

‘विगत १५ वर्षदेखि बजार सुस्ताउने क्रम जारी छ। पहिला जस्तो यहाँ चहलपहल देखिँदैन । बजार पनि हरेक दिन सुक्दै गएको छ।’ धौगल बजार व्यवस्थापन समितिका अध्यक्ष महेश श्रेष्ठले भन्नुभयो–‘यसले गर्दा व्यवसायी चिन्तित भएका छन्। व्यवसायीले रोजीरोटी स्रोत नै गुमाउनुपर्ने अवस्था आएको छ।’

तत्कालीन ललितपुर नगरपञ्चायतले करिब ६ रोपनी जग्गा अधिग्रहण गरेर २०३५ सालमा नगरपञ्चायतको कार्यालय भवन बनाएको थियो। बीचमा खुला ठाउँ छोडेर तीन तिरबाट घेरेर दुई तल्ले भवन बनाइएको थियो। भवनको पहिलो तल्ला पुरै पसल कबल राख्न मिल्ने गरी बनाएर तत्कालीन नगरपञ्च बुद्धिराज बज्राचार्यले बजार बसाल्नुभएको थियो। अहिले सो भवनमा ललितपुर महानगरपालिकाको शहरी विकास महाशाखाको कार्यालय राखिएको छ। यसअघि लामो समयसम्म सोही भवनमा जिल्ला मालपोत कार्यालय रहेको थियो। ललितपुर ‘कोर सिटी’मा व्यवस्थित रूपमा शुरू गरिएको यो नै सबैभन्दा पुरानो बजार हो। यहाँ बजार बसाउँदा आजको लगनखेल बसपार्क र बजारको कल्पनासमेत कसैले गरेको थिएन। धौगल बजारमा सामान किन्न झम्सिखेल, ग्वार्कोदेखि मानिस आउने गर्दथे। धौगल व्यापारिक केन्द्र बनिसक्दा पनि त्यतिबेला आजको लगनखेल पुरै हिलोले भरिएको ठाउँ थियो। ४० वर्षपछि दृश्य ठ्याक्कै उल्टो भएको स्थानीयबासी बताउँछन्।
‘आज धौगल बजार अस्तव्यस्त, फोहोर र सुनसान देखिएको छ। लगनखेल मुख्य बजारको रूप लिँदै गएको छ। खाद्य व्यापार समितिका अध्यक्ष समेत रहनुभएका श्रेष्ठले भन्नुभयो।

अहिले बजारमा सन्नाटा छाएको जस्तो माहौल छ। यस्तै अवस्था निरन्तरता पाउने हो भने व्यवसायी धमाधम विस्थापित हुने खतरा रहेको व्यवसायीसमेत रहनुभएका स्थानीयबासी चन्द्रकृष्ण श्रेष्ठको भनाइ रहेको छ। श्रेष्ठले भन्नुभयो–‘पुरानो र व्यवस्थित बजारको पहिचान आज हराउने स्थितिमा छ।’

बजारलाई जीवन्त बनाउन पूरै स्वरूप परिर्वतन गर्नुपर्ने पनि उहाँको जोड रहेको छ। बजार दिनहुँ सुक्दै गएको जस्तो रहेको छ। यसलाई पुनर्जीवन दिन दीर्घकालीन योजना ल्याउनुपर्ने पनि श्रेष्ठले खाँचो औंल्याउनुभयो।

सो बजारमा विशेषतः खाद्य सामग्रीको बिक्री गरिन्छ। बजारमा करिब २ सय व्यवसायीले विविध खाद्य सामग्री बिक्री गर्दै आएका छन्। अहिले किनमेल गर्न आउने मानिस हिजोको तुलनामा घटेको व्यवसायीहरू बताउँछन्। अहिले ठाउँठाउँमा बजार छन्। त्यसले गर्दा पनि हिजो केन्द्रिकृत बजारमा मानिस घट्नु स्वभाविक रहेको व्यवसायी र स्थानीयबासी स्वीकार गर्दछन्। कतिपय स्थानीय भने अन्य ठाउँमा भन्दा सस्तो बजारमा सामान अलि महँगो भएकाले पनि नजाने गरेको बताउँछन्।

‘मानिस घट्नु मुख्य समस्या होइन। मुख्य समस्या त यो बजारलाई व्यवस्थित, सफा र आकर्षक बनाउन नगरपालिकाले अग्रसरता नलिनु हो।’ पट्को टोल सुधार समितिका अध्यक्ष समेत रहनुभएका बदन शर्मा राजोपाध्यायले भन्नुभयो। नगरपालिकाले बजार प्रवद्र्धन गर्न आफ्ना तर्फबाट गर्नुपर्ने भूमिका निर्वाह नगरेकाले अहिले बजार कुरूप र अस्तव्यस्त देखिएको पनि राजोपाध्यायको भनाइ छ।

बजारमा मानिस को ध्यान तान्ने, वातावरण आकर्षक बनाउने, सुपथ मूल्यमा खाद्य सामग्रीहरू बेच्ने जस्ता कार्य गर्नेतर्फ पनि कसैले वास्ता नगरेको स्थानीय दौबहाल टोल सुधार समितिका सचिव प्रेम शाक्यले बताउनुभयो। यसैबीच ललितपुर महानगरपालिका वडा नं १६ को कार्यालयले धौगल बजारमा बिहीबार दशैं मेला आयोजना गर्ने भएको छ। धौगल बजारलाई प्रवद्र्धन गर्न हुन लागेको सो मेला सात दिनसम्म चल्ने मंगलबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिइयो।

स्थानीय भल्खु, सलिछेँ, दौबहाल,पट्को टोल सुधार समिति, धौगल बजार व्यवस्थापन समिति र ललितपुर उद्योग वाणिज्य संघको सहयोगमा वडा कार्यालयले सो मेला आयोजना गर्न लागेको वडाध्यक्ष निर्मलरत्न शाक्यले मंगलबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिनुभयो।

‘धौगल बजारलाई पहिलकै व्यापारिक केन्द्रको स्वरूपमा ल्याउन, व्यवसायीको उत्साह बढाउन, स्थानीय व्यवस्थित बजार बनाउन मेला गर्न लागेका हौ।’ वडाध्यक्ष शाक्यले भन्नुभयो–‘बजारको पुरानो स्वरूपलाई पुनर्जीवन दिने यो पहिलो शुरूआत हो।’

मेलामा स्थानीय महिला समूहले बनाएको हस्तकला सामग्री, खाद्यान्न सामग्री, पौष्टिक तथा अर्गानिक तरकारीको स्टल राखिने वडा कायालयले जनाएको छ। हरेक दिन स्थानीय महिला समूह ,संघसस्थाले चर्यानृत्य, सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गर्ने पनि बताइएको छ। हरेक दिन ५ हजारले सो मेलाको अवलोकन गर्ने वडाध्यक्ष शाक्यको अनुमान रहेको छ।

प्रतिक्रिया दिनुहोस्