माइक्रोसफ्टका इन्जिनियर सीआईबी हिरासतमा



 

सुरेश तामाङ, काठमाडौं
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा माइक्रोसफ्ट कम्पनीका इन्जिनियर मार्कस् केन्डलर छन्। आफूलाई सो कम्पनीको इन्जिनियर दाबी गर्ने मार्कस् नेपालमा कुनै वेभसाइट ह्याक या प्राविधिक फल्ट गरेर हिरासतमा परेका भने होइनन्।

अस्ट्रियाली नागरिक मार्कस् नेपाली नाबालकलाई यौन दुराचार गरेको आरोपमा ब्युरोको हिरासतमा छन्। उनलाई एक बालकलाई यौन शोषण गर्न लागिरहेको अवस्थामा पक्राउ गरी ब्युरोले हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ।

उनलाई ठमेलको एक होटलबाट एक बालकसहित भदौ २१ गते बेलुकी पक्राउ गरेको ब्युरोले जनाएको छ। एक जना विदेसीले विकट गाउँका बालकलाई होटलमा राखेर यौन शोषण गरिरहेको छ भन्ने विशेष सूचनाका आधारमा ब्युरोले मार्कस्लाई पक्राउ गरेको हो।

उनलाई पक्राउ गर्न उनी बसेको होटलको कोठामा पुग्दा बालकलाई नाङ्गै बनाइसकेको अवस्थामा मार्कस्लाई पक्राउ गरिएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए। ‘हामी राति १० बजे मार्कस् बस्ने कोठाभित्र पस्न खोज्यौं तर उनले भित्र पस्न इन्कार गरिरहेका थिए।’ उनले भने– ‘हामी जबरबस्ती भित्र पस्यौं। कोठामा छिरेपछि एक बालकलाई लुगा खोलेर नाङ्गै पारिसकेका रहेछन्। सायद यौन शोषणका लागि तयार अवस्थामा राखेको रहेछ। यस्तो अवस्थामा हामीले उनलाई पक्राउ गरेका हौं।’

अहिले ब्युरोले उनलाई बालयौन दुराचार साथै मानव बेचविखन तथा ओसारपसार मुद्दा चलाउन काठमाडौं जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान गरिरहेको छ। सन् २०१४ देखि नेपाल घुम्न आउन थालेका उनी पटक–पटक गरेर ४ पटक नेपाल आएका थिए। चारैपटक नेपाल आउँदा उनले नेपालका विकट गाउँका गरिब बालकलाई निशाना बनाउने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ। उनी ४ महिनाको फरकमा नेपाल आउने गर्दथे। १⁄२ दिन काठमाडौं बस्ने अनि स्वदेश फर्कने गर्थे।

शुरूमा ठमेलमा रिक्सा चलाउने एक ठिटोलाई उनले आफ्नो गाउँ घुम्न लैजान प्रस्ताव गरे। उनको प्रस्तावलाई स्वीकार्दै सोही रिक्सा चालक ठिटो मार्कस्लाई लिएर धादिङमा रहेको आफ्नो विकट गाउँ पुगेका थिए।
सो गाउँमा मार्कस १० दिन जति बसे अनि फेरि आउने भन्दै आफ्नो देश फर्केका थिए। उनले त्यहाँ गरिब परिवारलाई सहयोग गर्ने, गरिब परिवारको बालकलाई जम्मा गर्ने, माया ममता देखाउने, मन परेको सामान किनिदिने गरेर आफ्नो यौन इच्छा पूरा गर्ने गरेको अनुसन्धानमा खुलेको छ।

उनले चारैपटक नेपाल आउँदा धादिङको सोही विकट गाउँमा पुग्थे। परिवार र बालकलाई केही सहयोग गर्दै यौन इच्छा पूरा गर्दथे। र स्वदेश फर्कन्थे।

पछिल्लोपल्ट उनी अगस्ट २०मा नेपाल आएका थिए। नेपाल आएलगत्तै उनी सो गाउँ पुगेर ३ जना बालकलाई ललाइफकाइ काठमाडौं घुम्न राजी बनाएर ल्याएका थिए।

मार्कस्ले बालकलाई दिनभर घुमाउने र मन परेको चिजविज किनिदिने र राति १० बजेपछि मात्रै यौन शोषण गर्ने गर्थे। ब्युरोले उनलाई पक्राउ गर्दा मार्कस् र त्यो बालकको ठमेल बसाई ५ दिन बित्दै थियो। उनले बालकको संवेदनशील अंगमा छुने, चलाउने, आफ्नो अंग पनि छुन चलाउन उत्साहित गराउने गरेको पनि प्रहरीले जानकारी दिएको छ। उनले आफ्नो लिंगलाई बालकको मुखमा राखेरसमेत यौन इच्छा पूरा गरेका थिए।

ब्युरोले होटलको कोठाबाट विर्य लतपतिएको एक टि–सर्टसमेत बरामद गरेको छ। आफूलाई नेपाली कल्चर राम्रो लागेको र केटीभन्दा केटा मन परेको बताउने मार्कस्ले आफ्नो श्रीमतीलाई समेत डिभोर्स गरेको प्रहरीले दाबी गरेको छ।

उनी आफूलाई माईक्रोसफ्टका इन्जिनियर भनिए पनि ब्युरोलाई उनको पृष्ठभूमि थाहा नभएपछि इन्टरपोलको सहयोग माग्दै उनको पृष्ठभूमि पत्ता लगाउन ब्युरो लागिपरेको छ।

बंगलादेश, भारत, कम्बोडिया र नेपालजस्ता दक्षिण एसियाली मुलुकमा पनि पटक–पटक उनी पुगेको उनको पासपोर्टमा लागेको भिषाले पुस्टी गरेको छ।

प्रतिक्रिया दिनुहोस्