मृगौला प्रत्यारोपण गर्नेको संख्या बढ्यो



 

काठमाडौं, (नेस)
जनचेतनाको विकाससँगै मृगौला प्रत्यारोपण गर्नेहरूको संख्या बढ्दै गएको छ। पछिल्लो चार वर्षको अवधिमा ३ सय ३६ जनाको मृगौला नेपालमा नै प्रत्यारोपण गरिएको छ। जसमध्ये २ सय ७२ जना पुरुष र ६९ जना महिलाको मृगौला प्रत्यारोपण गरिएको मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले जानकारी दिएको छ।

मानव अंग प्रत्यारोपण भन्नाले एउटा मानिसको कुनै अंग अर्काे मानिसको शरीरमा प्रत्यारोपण गर्नु भन्ने बुझिन्छ। यो एक व्यक्तिको काम नलाग्ने अंगलाई अर्काे व्यक्तिको स्वस्थ अंगले प्रतिस्थापन गर्ने प्रक्रिया हो।
नेपालमा अहिलेसम्म २ जनाको मात्रै कलेजो प्रत्यारोपण भएको छ। २०७३ मंसिर २२ गते भक्तपुरका बलाराम नागा र काठमाडौंका हीराकाजी महर्जनलाई कलेजो प्रत्यारोपण गरिएको छ।

कलेजो प्रत्यारोपणका लागी विशेषज्ञ डाक्टरको संख्या कमी भएकाले पनि कलेजो प्रत्यारोपणको संख्यामा कमी आएको हुन सक्ने बताइएको छ।

कलेजो प्रत्यारोपण लागि केही समयअगाडि कोरियाबाट डा. डेबिड क्वान र भारतबाट डा. सुनील गुप्ताको टोली नेपाल आएको केन्द्रका निर्देशक पुकारचन्द्र श्रेष्ठले जानकारी दिनुभयो।

कलेजो प्रत्यारोपणका लागि २० देखि २५ लाख रुपियाँसम्म खर्च लाग्ने केन्द्रले जानकारी दिएको छ। सरकारले मानव शरीरको अंग प्रत्यारोपण नियमित तथा निषेधित नियमावली, २०७३ लागू गरेपछि मृगौला प्रत्यारोपणका लागि पीडितलाई सहज भएको छ। सरकारले ट्रान्सपलान्ट, चेकजाँच र प्रत्यारोपणपश्चात् आवश्यक पर्ने औषधि किन्नका लागि ५ लाख ५० हजार रुपियाँ उपलब्ध गराउने व्यवस्था गरेको छ। मानव अंग प्रत्यारोपण केन्द्रका अनुसार २०६९⁄०७० मा १३, २०७० –०७१ मा २७, २०७१⁄ ०७२ मा ४१, २०७२⁄०७३ मा १ सय १ र २०७३⁄०७४ मा १ सय ३२ जनाको मृगौला प्रत्यारोपण गरिएको केन्द्रले जनाएको छ।

अहिले काठमाडौंको वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्जबाट समेत मृगौला प्रत्यारोपण हँुदै आएको छ। यसै गरी मस्तिष्क मृत्यु भएका १ जनाको मृगौला झिकेर २ जनालाई मृगौला प्रत्यारोपण गरिएको बताइएको छ। सुनसरीका गोविन्द तिमिल्सिना र काठमाडौंका मिलन श्रेष्ठलाई मृत व्यक्तिबाट मृगौला प्रत्यारोपण गरिएको हो।

केन्द्रले हप्तामा ३ देखि ४ दिन मानव अंग प्रत्यारोपण गर्दै आएको छ। मानव अंग प्रत्यारोपण हुन थालेसँगै कुनै अंग बिग्रेको कारणले मृत्यु हुन सक्ने धेरै व्यक्तिको जीवन बचाउन सहज भएको पनि केन्द्रले जनाएको छ। नेपालमा मानव अंग प्रत्यारोपणलाई कानुनी मान्यता दिइए पनि बेलाबेला मानव अंग नै बिक्री गर्ने गिरोह सक्रिय रहेको छ।

प्रतिक्रिया दिनुहोस्