आगामी निर्वाचनको लागि उमेद्वार छान्दै काग्रेस, असोज १७ भित्र केन्द्रमा नाम पठाउन निर्देशन



नेपाल समाचारपत्र
काठमाडौं
नेपाली काग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक तर्फका उमेद्वार छनौट गरि असोज १७ गते भित्र केन्द्रिय कार्यालयमा पठाउन पार्टीको क्षेत्र तथा जिल्ला तहलाई निर्देशन दिएको छ । काग्रेसले तोकिएको समयसिमा भित्र तल्लो निकायले उमेद्वारको नाम सिफारिस नगरे माथिल्लो निकायले नै निर्णय गर्ने जनाएको छ ।

आगामी निर्वाचनको लागि उमेद्वार छनौट गर्न काग्रेस केन्द्रिय कार्यसम्पादन समितिले दिएको निर्देशनमा उमेद्वार छनौटको विधि समेत तय गरिदिएको छ । प्रतिनिधिसभा र प्रदेश सभाका लागि प्रत्येक क्षेत्रबाट छुट्टाछुट्टै प्रत्यक्ष तर्फ महिला सहित बढीमा ३ जना र समानुपातिक तर्फ महिला सहित बढीमा ३ जना सिफारिस गर्नु पर्ने छ । समानुपातिक निर्वाचन प्रणाली तर्फ उम्मेदवारको नाम सिफारिस गर्दा समावेशी प्रतिनिधित्वको सिद्धान्तका आधारमा सम्बन्धित क्षेत्रको जनसंख्याको बनौटलाई ध्यानमा राखी (दलित, आदिवासी जनजाती, खस आर्य, मधेशी, थारु र मुस्लिम) सिफारिस गर्नु पर्नेछ जनाइएको छ ।

उम्मेदवारहरुको नाम सिफारिश गर्ने प्रयोजनका लागि पार्टीको तेह्रौं महाधिवेशनमा गठन भएका पार्टीका गाउँ ÷नगर कार्यसमितिले २०७४ असोज १० गतेभित्र आफ्नो सुझाव र सिफारिश क्षेत्रमा, क्षेत्रले आफ्नो सिफारिश २०७४ असोज १३ गतेभित्र जिल्लामा र जिल्लाले क्षेत्रबाट आएको सिफारिशमा आफ्नो राय सहित २०७४ असोज १७ गतेभित्र केन्द्रमा अनिवार्यरुपमा पठाउनु पर्ने केन्द्रिय कार्यसम्पादन समितिले जनाएको छ ।

उम्मेदवार सिफारिशका सन्दर्भमा केन्द्रिय कार्यसम्पादन समितिले बनाएको कार्यविधिमा भनिएको छ– जिल्लामा एक संसदीय क्षेत्र रही हाल पनि एकै निर्वाचन क्षेत्र यथावत कायम भएकोमा जिल्लाले उम्मेदवारको सिफारिश गरि केन्द्रमा पठाउनेछ । जिल्लामा एक भन्दा बढी निर्वाचन क्षेत्र रहेको र हाल पनि सोही संख्यामा निर्वाचन क्षेत्र यथावत कायम रहेको भए क्षेत्रले उम्मेदवारको सिफारिश गरी जिल्लामा पठाउनेछ । क्षेत्रको सिफारिशमा आफ्नो राय सहित जिल्लाले केन्द्रमा पठाउनेछ । जिल्लामा निर्वाचन क्षेत्र थपघट भई हाल एक संसदीय क्षेत्र कायम हुन आएकोमा जिल्ला सभापतिको अध्यक्षतामा जिल्ला र क्षेत्रहरुको संयुक्त बैठकबाट उम्मेदवारको सिफारिश केन्द्रमा पठाउनु पर्नेछ । जिल्लामा निर्वाचन क्षेत्र थपघट भई एक भन्दा बढी संसदीय क्षेत्र कायम हुन आएकोमा क्षेत्रले उम्मेदवारको सिफारिश जिल्लामा पठाउनेछ । क्षेत्रको सिफारिशमा आफ्नो राय सहित जिल्लाले केन्द्रमा पठाउनेछ ।

केन्द्रिय कार्यसम्पादन समितिले सम्बन्धित निकायले पार्टीभित्रबाट उम्मेदवारको नाम सिफारिश गर्दा निरन्तर क्रियाशील सदस्यता कायम रहेका, पार्टी्भित्र र आम जनतामा लोकप्रिय एवं गत स्थानीय तहको निर्वाचनमा पार्टीको उम्मेदवारलाई विजयी बनाउन क्रियाशील भूमिका निर्वाह गरेका मध्येबाट गर्नु पर्ने निर्देशन पनि दिएको छ ।

काग्रेसले तय गरेको उमेद्वार छनौटको कार्यविधिमा हाल कायम हुन आएको निर्वाचन क्षेत्रमा आफ्नो क्रियाशील सदस्यता रहेको पार्टीका केन्द्रीय सदस्य, सांसद, जिल्ला सभापति, क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि÷महासमिति सदस्य, दोस्रो संविधान सभा निर्वाचनमा सो क्षेत्रको प्रत्यक्ष तर्फका उम्मेदवार, क्षेत्रीय सभापतिको पदको निर्वाचन भएको भए सो पदको निर्वाचनका निकटतम प्रतिस्पर्धी, क्षेत्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु सहभागि बैठकले नाम सिफारिस गर्ने भनिएको छ ।

एक निर्वाचन क्षेत्रमा भएको सन्दर्भमा जिल्लासभापति, हाल कायम हुन आएको जिल्लामा आफ्नो क्रियाशील सदस्यता रहेको पार्टीका केन्द्रीय सदस्य, सांसद, दोस्रो संविधान सभाका प्रत्यक्ष तर्फका उम्मेदवार, जिल्ला सभापति पदको निर्वाचन भएको भए सो पदको निर्वाचनको निकटतम प्रतिस्पर्धी, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु सो जिल्लाको बैठकको निर्णय प्रकृयामा सहभागी हुने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्