‘पिछडिएको क्षेत्र’ र ‘अल्पसंख्यक’ जातिको परिभाषा



 

नेपाल समाचारपत्र
काठमाडौं
मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको चुनावी प्रयोजनका लागि ‘पिछडिएको क्षेत्र’ र ‘अल्पसंख्यक’ जातिको परिभाषा निर्धारण गरेको छ।

सोमबार बसेको बैठकले पिछडिएको क्षेत्र तोकी राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेको हो। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न बनेको विधेयक बैठकबाट पारित भएको छ। सो बैठकले विधेयक पारित गरी संसद्मा पठाउने निर्णय गरेको हो।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालका लागि दाङको घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पताललाई ३ सय शøयामा स्तरोन्नति गर्ने निर्णय पनि भएको छ। बैठकले आठौं गैरआवासीय नेपाली विश्व सम्मेलन उच्चस्तरीय आयोजक समिति गठन गर्ने निर्णय गरेको छ। सो सम्मेलन असोज २८ गतेदेखि ३० गतेसम्म राजधानीमा आयोजना हुनेछ।

संयुक्त राष्ट्र संघ सुधारसम्बन्धी राजनीतिक घोषणा–पत्रमा हस्ताक्षर गर्न राष्ट्र संघ नियोगका प्रमुख दुर्गा भण्डारीलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको छ। त्यस्तै बैठकले आणविक अस्त्र निषेधसम्बन्धी सन्धिमा हस्ताक्षर गर्न उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई अधिकार प्रत्यायोजन गरेको छ। बैठकले सञ्चार मन्त्रालयमा सञ्चार विज्ञका रूपमा छक्कबहादुर खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्