२ नम्बर प्रदेशमा ७३ प्रतिशत मतदान



 

सुनील महर्जन, काठमाडौं
प्रदेश नम्बर २ का आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा सोमबार भएको निर्वाचनमा ७३ प्रतिशत मत खसेको पाइएको छ। एकाध छिटपुट घटनाबाहेक अधिकांश स्थानमा शान्तिपूर्णरूपमा भएको मतदानमा आयोगले ७३ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको हो। यसअघि वैशाख ३१ गते भएको स्थानीय तहको पहिलो चरणको निर्वाचनमा पनि ७३ प्रतिशत मत खसेको थियो।

२ हजार १ सय ६४ मतदानस्थलका ३ हजार ५ सय ७५ मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ। शान्तिपूर्ण, उत्साहजनक र मतदाताको व्यापक सहभागितामा निर्वाचन सम्पन्न भएको आयोगले जनाएको छ। निर्वाचनबाट ६ हजार ६ सय २७ जनप्रतिनिधि निर्वाचित हुनेछन्।

मधेस आन्दोलनको मुख्य केन्द्रबिन्दु रहेको प्रदेश नम्बर २ मा पछिल्लोपटक बाढी र डुबानमा परी अत्यधिक धनजनको क्षति भएको थियो। यसका बाबजुद शान्तिपूर्ण र उत्साहजनकरूपमा मतदान भएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो।

पटक–पटक सर्दै राजनीतिक सहमति र समझदारीका साथ प्रदेश नम्बर २ मा स्थानीय तह निर्वाचन भएको हो। यसबाट संविधानले परिकल्पना गरेको स्थानीय तह संरचनाको आधार तय भएको प्रमुख निर्वाचन आयुक्त डा. यादवले दाबी गर्नुभयो।

मतगणना शुरू भएको पाँच दिनभित्र सबै परिणाम सार्वजनिक गरिसक्ने आयोगले जनाएको छ। अहिले मतपेटिका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा लैजाने काम भइरहेको छ।

मतदान कार्य सम्पन्न भई मतपेटिका सम्बन्धित स्थानीय तहको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भएपछि मतगणना प्रक्रिया अगाडि बढाइने भएको छ।

मतपेटिका प्राप्त भएपछि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले मतगणना गर्ने विषयमा राजनीतिक दलसँग समन्वय गरी मतगणनाको मिति र समय तोक्ने आयोगले जनाएको छ।

आयोगका अनुसार सम्भवतः ढिलोमा आज मंगलबार बिहानबाटै मतगणना शुरू गर्ने आयोगको तयारी रहेको छ। आयोगका अनुसार नक्कली मतदाता ३८ जना र कानुनको उल्लंघन गर्ने १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सप्तरीको राजविराज नगरपालिका– १५ मा राजपाका वडा अध्यक्ष उम्मेदवारको निधनका कारण दुई वडामा भने सोमबार निर्वाचन हुन सकेन। अब सो स्थानमा असोज ५ गते निर्वाचन गर्ने निर्णय आयोगले गरेको छ।

बिहान सात बजेदेखि मतदानको समय तोकिए पनि त्योभन्दा करिब दुई–तीन घण्टा अघि नै मतदाता लामवद्ध भएका थिए। प्रदेश २ मा मतदाता रहेका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिका साथै राजपा शीर्ष नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, महेन्द्र राय यादव, अनिलकुमार झालगायतले पनि मतदान गर्नुभएको थियो। तर, पूर्वराष्ट्रपति डा. रामवरण यादवले पनि मतदानमा भाग लिनुभएन। उहाँ धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीका मतदाता हुनुहुन्छ। यस्तै राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले भने मतदान गर्नुभएन। उहाँ स्वास्थ्यको कारण देखाउँदै आइतबारमात्र काठमाडौं फर्किनुभएको थियो। ठाकुर सर्लाहीको मगंलवा नगरपालिका ८ का मतदाता हुनुहुन्छ। २ नम्बर प्रदेशको निर्वाचनसंगै स्थानीय तहको निर्वाचनको चरण सकिएको छ।

प्रतिक्रिया दिनुहोस्