शुरु भयो तेस्रो चरणको स्थानिय तह निर्वाचनको मतदान, निक्कै उत्साहका साथ मधेशी जनता भोट हाल्न लाईनमा (फोटो फिचर)



नेपाल समाचारपत्र, काठमाडौँ । तेस्रो चरणमा गर्न लागिएको स्थानिय तह निर्वाचनमा प्रदेश नम्बर २ मा मतदान शुरु भएको छ । एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा आज मतदान सुरू भएको हो । सबैजसो मतदान केन्द्रमा मतदाता लाइनमा बसेका छन ।

आजको निर्वाचनमा २६ लाख ६४ हजार ९५० मतदाताले मताधिकारको प्रयोग गर्दैछन् । यस निर्वाचनबाट छ हजार ६२७ प्रतिनिधि निर्वाचित हुनेछन् भने निर्वाचनको मैदानमा कुल ३७ हजार २३६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

यस निर्वाचनमा आठजना उम्मेदवार निर्विरोध निर्वा्िचत भइसकेका छन । सक्नु भएको छ । नगरप्रमुख तथा अध्यक्षमा एक हजार ७०९ पुरुष र ६१ महिला मात्रै प्रतिस्पर्धामा छन । उपप्रमुख र उपाध्यक्षमा १९७ पुरुष र ९१९ महिला उम्मेदवार हुनुहुन्छ । वडाध्यक्षमा आठ हजार ५२ पुरुष र २२३ महिला उम्मेदवारहरू निर्वाचनको मैदानमा छन ।

जुन मतदान केन्द्रको मतदाता नामावलीमा आफ्नो नाम छ, सोही मतदान केन्द्रमा गई आफूले रोजेका सातजना उम्मेदवारको चिह्नमा गोप्य तवरले मतपत्रमा स्वस्तिक छाप लगाई मतदान गर्न आग्रह गर्दै आयोगले मतदाताले नाम ढाँटेर अर्काको नाममा मतदान नगर्नु हुन अपिल पनि गरेको छ ।

अपांगता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई मतदान गर्ने कार्यमा प्राथमिकता दिई उचित व्यवस्था मिलाउन र सहजढंगले मतदानको प्रबन्ध गर्न सबै मुख्य निर्वाचन अधिकृत र मतदान अधिकृतलाई निर्देशन दिँदै आयोगले दृष्टिविहीन वा शारीरिक अशक्तता भएका मतदाताले आफैँ मत संकेत गर्न नसकेमा एकाघरको परिवारका सदस्यले मतदान अधिकृतको स्वीकृति लिएर वा मतदान अधिकृतको सहयोगमा मतसंकेत गराउन सुझाव दिएको छ ।

दुईहजार भन्दा बढी पर्यवेक्षक
स्थानीय तहको निर्वाचन पर्यवेक्षणका लागि आयोगले ४४ वटा संस्थाका दुई हजार एक सयभन्दा बढी पर्यवेक्षकलाई निर्वाचन पर्यवेक्षणको अनुमति दिएको छ । तेस्रो चरणको स्थानीय तह निर्वाचनमा नेपालमा रहेका विदेशी कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई प्रदेश नं २ का जनकपुर, बर्दिबास, वीरगन्ज र सिमरामा मतदानको दिन अवलोकन भ्रमण गर्नसक्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

स्वच्छ, स्वतन्त्र र भयरहित निर्वाचन गराउन नेपाल सरकार, मित्रराष्ट्रहरू, दातृ निकाय तथा विकास साझेदार संस्था तथा अन्तर्रा्िष्ट्रय समुदायको अटुट सहयोग र सद्भावप्रति आयोगले धन्यवाद ज्ञापन गरेको छ । मतदानको कार्य सम्पन्न भई मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भइसकेपछि राजनीतिक दलहरुसँग समन्वय गरी यथाशक्य छिटो मतगणना सुरु गरी परिणाम सार्वजनिक गर्न आयोगले सबै निर्वाचन अधिकृतलाई निर्देशन पनि दिएको छ ।

विगतका घटनाक्रमलाई समेत ध्यानमा राखी मतगणना कार्यलाई सुरक्षित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, मतगणनामा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीकोे सहयोगात्मक भूमिका रहनेमा पनि आयोगले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्