विद्यार्थी आफैं जुटे पूर्ण सरसफाइ अभियानमा



 

धनवीर दाहाल, रुकुम
आफ्नो गाँउ टोल सरसफाइ गर्नका लागि समाजको जति भूमिका रहन्छ उति भूमिका आफ्नो विद्यालय सरसफाइका लागि विद्यार्थीको पनि रहन्छ। आज भोलि रुकुममा पूर्ण सरसफाइ उन्मुख जिल्ला बनाउका लागि विद्यालय स्तरदेखि नै कक्षाहरू सञ्चालन भइरहेका छन्। जिल्ला खानेपानी सरसफाइ स्वच्छता समन्वय समितिको अगुवाइमा गाउँपालिका, नगरपालिका तथा वडा स्तरमा रहेका सरसफाइ समितिहरूले सक्रियताका साथ काम गरिरहेका छन्।

विश्व खाद्यकार्यक्रमको आर्थिक सहयोगमा एकिकृत विकास समाज नेपालले रुकुमका १३८ विद्यालयमा कार्यक्रम सञ्चालन गरी पूर्ण सरसफाइ सम्बन्धीका कुराहरू तथा विभिन्न भौतिक सामग्रीहरू पनि सहयोग गरिरहेको छ। पूर्ण सरसफाइका विषयमा आफूहरूलाई धेरै ज्ञान प्राप्त भएको विद्यार्थीको भनाइ छ। विद्यार्थीबाट धेरै कुरा फैलने भएकाले आफूहरूले विद्यालयबाट सरसफाइका कुराहरू सिकाउने गरेको आइडीस नेपालका सामाजिक अभियन्ता सुनिता खड्काले बताउनुभयो।

गाँउमा बालबालिकाहरूको यस्तो अभियानलाई विश्व खाद्यकार्यक्रमको सहयोगमा एकिकृत विकास समाज नेपालद्वारा जिल्लामा सञ्चालित विद्यालय सरसफाइ कार्यक्रमले सहयोग गरेको हो। करिव एक वर्षदेखि जिल्लाका १३८ ओटा प्राथमिक विद्यालयका करिब १८ हजार ५ सय जति बालबालिकाहरू र उनका अभिभावकहरूलाई पूर्ण सरसफाइसम्बन्धी सञ्चालन गरेका विभिन्न खालका कार्यक्रमहरू गर्दै आएपछि सरसफाइसम्बन्धी कार्यक्रमहरू प्रभावकारी बन्दै आएका छन्। विद्यार्थीले आफ्नो व्यक्तिगत र वातावरणीय सरसफाइमा ध्यान दिई समाजमा चेतना अभिवृद्धि गर्ने भएकाले विद्यालय स्तरको कार्यक्रम गरिएको एकीकृत विकास समाज नेपाल रुकुमका जिल्ला सरसफाइ अधिकृत झनकप्रसाद जोशीले बताउनुभयो।

सरसफाइलाई पूर्ण रूपमा सफल बनाउन विद्यालय स्तरबाट बालबालिकालाई विज्ञ बनाएमा घर हँुदै गाउँसमेत प्रभावित हुन्छ भन्ने उद्देश्यले कामहरू गरिरहेको हो। शुरूमा विद्यालय पुग्दा विद्यालयको बाहिरी क्षेत्रमा कागज, ढुंगालगायत फोहर बस्तुहरू छरिएर रहेका हुन्थे, विद्यालयको शौचालय अत्यन्तै फोहर र दुर्गन्धित थियो, विद्यालयको भान्सा फोहर, खाजा पकाउने भाँडाको सरसफाइमा कमी, कक्षा कोठाको सरसफाइमा नियमितता थिएन, विद्यार्थीको सरसफाइमा ध्यान थिएन, हात धोएर खाजा खानेमा ध्यान थिएन तर अहिले त्यो सबै फेरिएको अभिभावक तथा शिक्षकहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्