प्रधानमन्त्री महासभामा भाग लिन न्युयोर्क जाँदै



 

काठमाडौं, (नेस)
संयुक्त राष्ट्रसंघको ७२औं महासभामा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा भोलि मंगलबार न्युयोर्क प्रस्थान गर्दै हुनुहुन्छ। उहाँले आगामी शनिबार (सेप्टेम्बर २३)मा महासभालाई सम्बोधन गर्नुहुने भएको छ।

देउवाले महासभालाई सम्बोधन गरेकै दिन राष्ट्र संघका महासचिव एन्टिनियो गुटेरससँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यस क्रममा उहाँले आउँदो बिहीबार अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी, श्रीलंकाका राष्ट्रपति मैथ्रीपाला सिरिसेना, बंगलादेशका राष्ट्रपति सेख हसिना र पाकिस्तानका प्रधानमन्त्री सहिद खान अब्बासीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने परराष्ट्रका एक अधिकारीले बताए।

‘यसक्रममा उहाँले नेपालले मानव अधिकार परिषद्को सदस्यमा दिएको उम्मेदवारीको पक्षमा लविङ गर्नुहुने भएको छ। विशिष्ट व्यक्तिहरूसँगको भेटवार्ताका क्रममा क्षेत्रीय सहकार्य र सहयोग आदान–प्रदानका बारेमा पनि छलफल हुनेछ।’ –ती अधिकारीले नेपाल समाचारपत्रसँग भने।

नेपालले मानव अधिकार परिषद्को (सन् २०१८–२०२० को) सदस्यका लागि उम्मेदवारी दिने भएको छ। कुल ४७ सदस्यीय परिषद्मा एसिया प्रशान्त क्षेत्रबाट १३ सिट छुटइइएकाले नेपालले त्यस्तो पहल अघि बढाएको हो।

त्यसैगरी प्रधानमन्त्री देउवाले बिहीबार कोलम्बिया विश्वविद्यालयले आयोजना गर्ने विश्व नेतृत्व मञ्चलाई सम्बोधन गर्ने कार्यतालिका रहेको परराष्ट्रले जनाएको छ।
प्रधानमन्त्री देउवाले आउँदो शुक्रबार इस्टोनियाका राष्ट्रपति केस्र्टी काल्जुलेइडसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने बताइएको छ। सोही दिन उहाँ न्युयोर्कस्थित राष्ट्र संघीय नेपाली नियोगले संविधान दिवसका अवसरमा आयोजना गर्ने कार्यक्रममा सहभागी हुने र कार्यक्रमलाई सम्बोधन गर्ने हुनुभएको छ।

राष्ट्र संघको महासभामा सहभागी भएपछि प्रधानमन्त्री देउवा आउँदो आइतबार ओमनको मस्कट प्रस्थान गर्ने र त्यहाँ कार्यरत नेपाली कामदारहरूको अवस्थाबारे जानकारी लिने कार्यक्रम रहेको छ। सो अवसरमा श्रम मन्त्री फरमुल्लाह मन्सुरसहित खाडी मुलुकका नेपाली कूटनीतिक नियोग प्रमुखहरू पनि सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री देउवा करिब ४० सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्युयोर्क पुग्नुहुने भएको छ। नेपालबाट २० र बाँकी सदस्य न्युयोर्कबाट राष्ट्र संघमा सहभागी हुने बताइएको छ। सो टोलीमा देउवा पत्नी आरजु राणा, उप–प्रधान एवम् परराष्ट्र मन्त्री कृष्णबहादुर महरा, श्रम मन्त्री फरमुल्लाह मन्सुर, महिला, बालबाललिका तथा समाज कल्याणमन्त्री आशा कोइराला संलग्न रहनुहुनेछ। त्यसैगरी प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, न्युयोर्कस्थित राष्ट्र संघको स्थायी नियोगका नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराईसहितका उच्च सरकारी अधिकारी सहभागी हुने बताइएको छ।

यसैबीच महासभामा सहभागी हुन मन्त्री महरा आइतबार साँझ न्युयोर्क प्रस्थान गर्नुभएको छ। आउँदो बिहीबार न्युयोर्कमा आयोजना हुने सार्क मन्त्रीस्तरीय बैठक र अतिकम विकसित मुलुक र भूपरिवेष्टित मुलुकको मन्त्रीस्तरीय बैठकमा सहभागी हुन र त्यसको तयारीका सिलसिलामा उहाँ आइतबार न्युयोर्क प्रस्थान गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाल सार्कको अध्यक्ष राष्ट्र भएकाले मन्त्री महराले सार्क मन्त्रिपरिषद् बैठकको अध्यक्षता गर्दै हुनुहुन्छ।
मन्त्री महरा भोलि मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले आयोजना गर्ने राष्ट्र संघको स्वागत समारोहमा सहभागी हुने र अपराह्न राष्ट्र संघका महासचिव गुटेरसले आयोजना गर्ने दिवा भोजमा पनि सहभागी रहने बताइएको छ। न्युयोर्कमा रहँदा मन्त्री महराले बहराइन, भुटान, नर्वे, ओमन, कतारलगायत अन्य मुलुकका विदेशमन्त्रीसँग भेटवार्ता गर्नुहुने भएको छ।

 

प्रतिक्रिया दिनुहोस्