सीमामा नेपाली लुटिने पुरानो रोग, लुटिएका यात्रुलाई बचाउन भारतमा गस्ती



कुमार श्रेष्ठ,बाँके ।

भारतमा काम गरेर दशैं मान्न घर फर्किएका जाजरकोटका तिलक रावललाई नेपालगञ्जको होटल मालिक बताउने युवाले नाकामा लुट्ने प्रयास गरे ।

‘नाकामा प्रहरीले पैसा खानतलासी गर्छ मलाई राख्न दिनुस्’ भनेर दाङ घर भएका खेमराज भट्टराईले रावलसँग रहेको ६ हजार रुपैया खोसेर लिए । रावलले तत्काल नै नजिकै रहेको प्रहरीलाई सबै कुरा बताए । भट्टराईलाई प्रहरीले नियन्त्रणमा लियो ।

यात्रुवाहक बसमा काम गर्ने, लागु औषध सेवन गर्ने भट्टराई दशैं मान्न घर फर्किने पहाडी जिल्लाका सोझा नेपालीलाई लुट्ने धन्दामा लागेका थिए । प्रहरीले भट्टराईलाई नियन्त्रणमा लिएर सार्वजनिक मुद्दा चलाएको छ भने रावललाई पैसा फिर्ता गराएर घरतिर पठाएको छ ।

भारतका विभिन्न ठाउँमा काम गरेर फर्किने नेपालीलाई सीमावर्ती भारतीय बजार रुपैडिहा र आसपास नाकामा लुटपाट गर्ने कार्य कुनै नौलो होइन । यी त वर्षेनी घट्ने घटनाहरु हुन ।

बसभित्रै या झरिसकेपछि, रिक्सा, टाँगामा बस्दा या एकान्तमा हिडिरहेको बेलामा लुटेराले पिछा गरेर नसालु पदार्थ मिसिएको खानेकुरा खुवाएर या सुँघाएर नेपालीलाई लुटपाट गर्ने गर्दछन् ।

नेपालीहरुको महान पर्व दशैं र तिहार नजिकिदा भारतका विभिन्न शहरमा काम गर्ने हजारौं नेपालीहरु घर फर्किदा लुटपाटको शिकार हुने गरेको पाइन्छ ।

दशैं र तिहार मान्न घर फर्किने नेपालीलाई लुटपाट हुन नदिन बाँके प्रहरीले भारतीय प्रहरीसँग मिलेर सीमावर्ती भारतीय बजार रुपैडिहामा गस्ती शुरु गरेको छ । नाकामा रहेको इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको ब्यूरो टोलीले रुपैडिहास्थित बसपार्क र आसपासमा गस्ती थालेको हो । यसमा भारतीय प्रहरी, सीमा सुरक्षा बल (एसएसबी) र कष्टमले साथ दिएको छ ।

सीमला, कालापहाडलगायतका ठाउँबाट बिहान पाँच बजे रुपैडिहामा बस आइपुग्छ । त्यतिबेला नेपाली प्रहरी रुपैडिहा बसपार्क र आसपासमा पुगेर नेपालीलाई सुरक्षा दिने गरेका छन् ।
प्रहरीले रुपैडिहा बसपार्कबाट नेपालगञ्ज बसपार्कसम्म कमाई गरेर फर्किने नेपालीको सुरक्षा व्यवस्था मिलाएको जिल्ला प्रहरी कार्यालय, बाँकेका मुद्दाफाँट इन्चार्ज बीरबहादुर थापाले बताउनुभयो ।

भारतको सीमला, कालापहाड, प्रयाग, लद्दाक, राजिस्तानलगायत ठाउँबाट काम गरेर फर्किने नेपालीहरु प्रायः लुटिएको तथ्यांकले देखाएको छ । यी ठाउँमा मध्यपश्चिमका पहाडी जिल्लाका हजारौं मानिसहरु रोजगारका लागि गएका छन् ।

दशैं नजिकिएसँगै घर फर्किनेको चाप बढ्न थालेको छ । भीडभाडमा सोझा नेपालीलाई लुटपाट गर्न यतिबेला लुटेराको ध्यान नाकामै हुने गर्दछ । बाँके प्रहरीले नेपालीलाई लुटिनबाट बचाउन नाकामा यात्रु सहायता कक्ष पनि स्थापना गरेको छ । भारतबाट फर्किने नेपालीहरु रिक्सा, टाँगा या हिडेर आउँछन् ।

यात्रुलाई रिक्सा, टाँगाले नेपालगञ्जसम्म कति भाडा मागेको छ या बाटोमा आउँदा कसैले दुःख दियो कि दिएन भनेर सोधपुछ गरिरहेको इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज सुधीर खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्