अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तयारी तीव्र



टंकराज अधिकारी, पोखरा
आरोहणको क्षेत्रमा सबैभन्दा जेठो हिमालका रूपमा ख्याती कमाएको अन्नपूर्ण हिमालमा ‘अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव’ को तयारी तीव्र पारिएको छ।

अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ अन्नपूर्ण गाउँपालिकाको विशेष सक्रियतामा प्रथम आधार शिविरमा महोत्सव आयोजना गर्न लागिएको हो। समुद्री सतहबाट उक्त क्षेत्र ४ हजार १ सय ३० मिटरमा रहेको छ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले महोत्सवसँगै अन्नपूर्ण आधार शिविरको पदयात्रामार्गलाई थप व्यवस्थित गरी यहाँको आरोहणलाई थप व्यवस्थित बनाउने लक्ष्य राखिएको बताउनुभयो। अध्यक्ष कुँवरले भन्नुभयो–‘अन्नपूर्ण हिमाल प्रदेश नं. ४ को मात्र नभएर समग्र नेपालकै गौरवपूर्ण स्थल हो। यस क्षेत्रमा आवश्यक पूर्वाधार विकास गर्दै अधिक संख्यामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने हाम्रो सोच रहेको छ।’

महोत्सव असोज २५ गतेदेखि जेठ २० गतेसम्म विभिन्न तीन चरणमा कार्यक्रमको आयोजना गरिएको महोत्सव मूल समारोह समितिका संयोजक ललित गुरुङले जानकारी दिनुभयो।

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव मुल समारोह समितिको आयोजनामा, अन्नपूर्ण गाउँपालिका कास्की एवम् पर्यटन उपसमिति छोम्रोङको व्यवस्थापन साथै विभिन्न सरकारी, गैरसरकारी संघसंस्थाको सहयोग रहेको छ। संयोजक गुरुङका अनुसार पहिलो चरणको कार्यक्रमको उद्घाटन अन्नपूर्ण आधार शिविरमा हुनेछ भने समापन अन्नपूर्ण आरोहण दिवसको अवसर पारीे घान्द्रुकमा गरिने छ।

पहिलो चरणको मुख्य कार्यक्रमका रूपमा विश्वकै जेठो हिमालका रूपमा चर्चित अन्नपूर्ण प्रथम हिमालका प्रथम आरोही मौरिस हर्जोगको अर्धकदको सालिक शिलान्यास गरिने छ।
उक्त अवसरमा मोरिस हर्जोग, कर्णेल धनविक्रम राणा र सरदार आङ थार्के शेर्पाको परिवारका सदस्यलाई सम्मान, परम्परागत होटल व्यवसायको इतिहास झल्कने फोटो प्रदर्शनी, हिमाली तथा लेकाली वन्यजन्तुको अवलोकन, हिमश्रृङ्खलाको दृश्यावलोकनलगायतका कार्यक्रम गरिनेछ। महोत्सव सम्पन्न गर्न ललित गुरुङको संयोजकत्वमा ३५ सदस्यीय मूल व्यवस्थापन समिति, १६ विभिन्न उप समिति, ७२ सदस्यीय सल्लाहाकार समिति गठन गरिएको छ।

महोत्सव सम्पन्न गर्न करिब एक करोड पाँच लाख खर्च लाग्ने अनुमान गरिएको छ। महोत्सवको लागि अन्नपूर्ण गाउँपालिकाको विनियोजित बजेट १० लाख रुपियाँ, पर्यटन उपसमिति छोम्रोङबाट प्रारम्भिक चरणको खर्च १० लाख रुपियाँ, त्यस क्षेत्रमा रहेका करिब ८० वटा स्थानीय होटल व्यवसायीबाट प्रतिहोटल २५ हजारका दरले रकम संकलन हुने र विभिन्न सरकारी गैरसरकारी संघसंस्थाको सहयोग प्राप्त हुने विश्वास लिइएको संयोजक गुरुङको भनाइ छ।

पदयात्राका लागि विश्वकै उत्कृष्ट गन्तव्य अन्नपूर्ण आधार शिविरको पहिलो पदयात्री एरिक सिप्टन हुन्। सिप्टनले सन् १९६६ मा अन्नपूर्ण आधार शिविरको पदयात्रा गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्