कर्मचारीविहीन यारी भन्सार कार्यालय



अर्जुन बोहरा, हुम्ला
हुम्लाको उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको यारी भन्सार कार्यालय एक वर्षदेखि कर्मचारीविहीन रहेको छ।

हरेक प्रकारका कारोबार हुने यारी भन्सार नाकामा कर्मचारी नबस्दा त्यहाँबाट उठ्ने लाखांैको राजस्व राज्यलाई घाटा भएको छ।

एक जना नायब सुुब्बा, एक जना खरिदार र दुई जना कार्यालय सहायोगीको दरबन्दी भएको यारी भन्सार कार्यालयमा गएको वर्ष असोज अन्तिम सातादेखि कार्यालय सहायकबाहेक अन्य कुनै कर्मचारी नभएपछि नाकाबाट उठाउनुपर्ने रकम यस वर्ष शून्य भएको कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाका कोष नियन्त्रक राजन रेग्मीले बताउनुभयो। गएको वर्षमा ८ लाख ९६ हजार ३ सय ३ रुपियाँ राजस्व उठेकोमा यो वर्ष कर्मचारी नहुँदा १ रुपियाँ पनि आम्दानी नभएको कोष तथा लेखा नियन्त्रक रेग्मीले जानकारी गराउनुभयो।

हुम्लामा दैनिक उपभोग्य सामान नुनदेखि ऊनसम्म र निर्माण सामग्री, इन्धन, व्यापारिक सामग्री, मदिरालगायतका करोडौंको मूल्य बराबरका सामग्री चीनबाट आयात हुने गर्दछ। सामानहरूको भान्सार कार्यालयमा कर्मचारी नभएपछि यस वर्ष लक्षित गरेको लाखौं रकमको राजस्व आम्दानी नभएको खुलासा गरेका छन्। यारी नाका गएको वर्ष पुनःस्थापना भएसँगै दरबन्दीअनुसार सरकारले कर्मचारी नपठाएपछि नाका बन्द भएको हो।

नेपालबाट लोपोन्मुख वन्यजन्तु, बहुमूल्य जडीबुटी, काठ चोरी निकासी गर्ने र तिब्तबाट अवैध मदिरा, खाद्य सामग्री, व्यापारिक सामग्रीको आयात गर्ने उक्त नाकामा कर्मचारी अभावकै कारण बन्द भएपछि थप समस्या बन्दै गएको छ।

अहिले दुई देशको सिमानाको हिल्सामा नेपाल प्रहरीको संख्या थोरै भएपछि सुरक्षाकर्मीको तर्फबाट चेकअफ गर्न नसकिने र राजस्व असुलीको काममा अधिकार नै नभएकाले अवैध सामग्री आयातमा नियन्त्रण गर्न कठिनाइ भएको सहायक प्रमुख जिल्ला अधिकारी रिद्धप्रकाश सिटौलाले बताउनुभयो। सहायक प्रमुख जिल्ला अधिकारी सिटौलाका अनुसार नाकालाई व्यवस्थित गर्न तत्काल दरबन्दीअनुसारका सरकारले कर्मचारी खटाउनुपर्नेमा आग्रह गर्नुभयो।

कोष तथा लेखा नियन्त्रक कार्यालय हुम्लालाई अहिलेसम्म भन्सारको अधिकार नभएकाले समेत यारी भन्सार कार्यालय नियमित नाका सञ्चालनमा आउन नसकेकाले पनि यस वर्ष ३० लाखभन्दा बढीको राजस्व नउठेको नियन्त्रक रेग्मीले बताए।

मौसमका कारण हरेक वर्ष चैतदेखि कात्तिकसम्म मात्रै सञ्चालनमा आउने उक्त नाकालाई राज्यले सोहीअनुसार कर्मचारी खटाउनुपर्ने समेत कोष लेखा नियन्त्रण कार्यालय हुम्लाको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस्