संविधान दिवसलाई महापर्वका रुपमा मनाउन आग्रह



 

काठमाडौँ, ३० भदौ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपालको संविधान भव्यताका साथ कार्यान्वयनको दिशामा अघि बढेको बताउनुभएको छ ।

स्थानीय तहको दुई चरणको निर्वाचन सम्पन्न भई तेस्रो चरणको अन्तिम तयारी पूरा भएको र आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचन प्रक्रियासमेत अघि बढेकाले मुलुक निर्वाचनमय बनेको उहाँको भनाइ थियो । संविधान दिवसलाई कसरी प्रभावकारीरुपले मनाउने भन्ने सन्दर्भमा आज सूचना तथा सञ्चार मन्त्रालयमा सरोकार भएका निकायसँगको छलफलका क्रममा मन्त्री बस्नेतले संविधान दिवसलाई महापर्वका रुपमा मनाउन सबैसमक्ष आग्रह गर्नुभयो ।

संविधान दिवस मूल समारोह समितिअन्तर्गत प्रचारप्रसार उपसमितिका संयोजकसमेत रहनुभएका मन्त्री बस्नेतले संविधान दिवसलाई विगतभन्दा फरक र ब्यापक ढंगले मनाउने तयारीमा सरकार लागेकाले सबैको साथ र हयोग चाहिने औँल्याउनुभयो ।

“संक्रमणका नाममा मुलुक सधैँ अन्योलमा रहन सक्दैन । अब बाँकी रहेको निर्वाचन सकिएपछि मुलुक आर्थिक समृद्धिको दिशामा अघि बढ्नेछ, त्यसैले संविधान दिवसलाई यो वर्ष कसरी मनाउछौँ भन्ने विषयले संविधान कार्यान्वयनको बाँकी चरणलाई पनि मद्दत पुग्ने भएकाले मन्त्रालय मातहत निकाय तथा अन्य संघसंस्थाले सक्रियता देखाउन आग्रह गर्दछु”, सरकारका प्रवक्ता बस्नेतले भन्नुभयो ।

फरक प्रसंगमा मन्त्री बस्नेतले अन्य सञ्चारमाध्यम जस्तै अनलाइन मिडियाको प्रभावकारिता र उपयोगितालाई ध्यानमा राखी थप व्यवस्थित, प्रोत्साहित र मर्यादित गर्दै लैजाने प्रक्रियामा रहेको जानकारी दिनुभयो ।

सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले संविधानको महत्वबारे स्थानीयस्तरका जनतासम्म चेतना अभिवृद्धि हुनेगरी विद्यालय तहसम्म संविधान दिवसका कार्यक्रमलाई लैजानुपर्नेमा जोड दिनुभयो । सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले राष्ट्रिय प्रसारण माध्यम तथा स्थानीय तहदेखि केन्द्रीयस्तरका सभा समारोहमार्फत संविधानका उपलब्धिबारे जनताले अनुभूत गर्नेगरी संविधान दिवसलाई भव्यताका साथ मनाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

सूचना विभागका महानिर्देशक वीरबहादुर राईले संविधान दिवसका सन्दर्भमा गरिने प्रचारात्मक कार्यक्रमबारे उल्लेख गर्नुभएको थियो । कार्यक्रममा सहभागी वक्ताले संविधान दिवसलाई थप रचनात्मक ढंगले केन्द्रदेखि स्थानीय तहसम्म भव्यरुपले मनाउनुपर्ने सुझाएका थिए ।

राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्ले, नेपाल टेलिभिजनका वरिष्ठ समाचार सम्पादक मनोहरि थापा, सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष सुवास खतिवडा, अनलाइन पत्रकार संघका अध्यक्ष शिव सत्याललगायतले दिवसलाई प्रभावकारी बनाउन आफ्नो सञ्चारमाध्यमको भूमिकाबारे जानकारी गराउनुभएको थियो ।

आगामी असोज ३ गते मनाइने संविधान दिवस सम्पन्न गर्न गत २६ गते प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको थियो । उक्त समितिअन्तर्गत तीन उपसमिति छन् । रासस

प्रतिक्रिया दिनुहोस्