सुरुङमार्गका नाममा करोडौं रकम हिनामिना भएको खुलासा,भ्रष्टाचारको छानवीन गरी दोषीलाई कारबाही गर्न माग



रोशन पराजुली,हेटौंडा ।

हेटौंडा–कुलेखानी–काठमाडौं सुरुङमार्गका नाममा भएको भ्रष्टाचारको छानवीन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ । नेपाल पूर्वाधार विकास कम्पनीले जनताबाट उठाएको करोडौं रुपियाँबाट भ्रष्टाचार गरेको भन्दै दोषीलाई कारबाही माग गरिएको हो ।

विगतदेखि नै कम्पनीले गरेका गलत कामको विरोधमा अभियान सञ्चालन गरिरहेका नेपाली कांग्रेसका युवा नेता भीमसेन महतले पत्रकार सम्मेलन गर्दै दोषीलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए ।

उनले कम्पनीका संस्थापक अध्यक्ष कुशकुमार जोशीले मकवानपुरबासीले खसी, बोका, गरगहना, कृषिउपज बिक्री गरेर सुरुङमार्ग निर्माणका लागि गरेको लगानी हिनामिना गरेको दाबी गरे ।

उनले परियोजना निर्माणस्थलसम्म पहुँच मार्ग निर्माणका लागि कामै नगरी ३९ लाख ८ हजार ५ सय ११ रुपियाँ क्यानेडेली कम्पनीबाट लगानी ल्याएको भन्दै उसका लागि १ करोड ३५ लाख रुपियाँ, कम्प्युटर खरिदमा ४६ लाख, नायिका निशा अधिकारीलाई सगरमाथा चढ्न ५ लाख रुपियाँ चन्दालगायत दर्जन बढी शीर्षकमा हिनामिना गरेको दाबी महतको छ ।

उनले संस्थापक अध्यक्ष जोशी सुरुङमार्ग निर्माणमा भन्दा पनि आर्थिक लाभमा केन्द्रित भएको भन्दै राज्यले कम्पनीलाई सुरुङमार्ग निर्माणका लागि दिएको अनुमति खारेज गर्नु सही भएको बताए । उनले आफ्नो लगानी उठाउन संगठित पहलका लागि आग्रह गरेका छन् । राज्यले अनुमति खारेज गर्नुअघि जनताको लगानी सुरक्षीत गर्नेतर्फ ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

आफूहरुले नागरिक समाजका तर्फबाट पटकपटक सुरुङमार्ग निर्माण कम्पनीले गरेको अनियमितताका विषयमा आमनागरिकलाई जानकारी गराउँदै आए पनि कम्पनीले गलत गर्न नछाडेकोले हाल आयोजना खारेज हुने अवस्थामा पुगेको उनले बताए ।

तराई र काठमाडौंलाई जोड्ने ‘मिडजोन’ का रुपमा परिचित हेटौंडाको सामाजिक र आर्थिक क्रान्तिका लागि ‘४ प’ (प्राइभेट, पब्लिक, पार्टनरसीप र पिपुल) अवधारणाअन्तर्गत निर्माण गर्ने भनिएको सुरुङमार्गको भविष्य अझ लथालिङ्ग भएको छ ।

भीमफेदी–कुलेखानीमा ४ किमी सुरुङसहित हेटौंडा–भीमफेदी र कुलेखानी–फास्टट्रयाकसम्म चार लेनको बाटो निर्माण गर्न भन्दै गठित कम्पनी नै सरकारले अब खारेजीको तयारी गरेको हो । सुरुङमार्ग निर्माणपछि हाल भइरहेको इन्धन र सवारीमर्मत खर्चमा भारी कटौती हुने, सवारीसँग उठाएको सीमित कर रकमले पनि आठ वर्षभित्र लगानी उठाउन सकिने भन्दै मार्ग निर्माणका लागि सरकारसँग अनुमति लिइएको थियो ।

सुरुङमार्ग निर्माणपछि हाल ८० किमी लामो सडक ३० किमीमा छोटिने र निर्माणसम्पन्न भएपछि करिब ६० देखि ९० मिनेटमा हेटौंडा–काठमाडौं ओहोरदोहोर गर्न सकिने विश्वाससाथ अगाडि बढिएकोमा कम्पनीभित्रको आपसी बेमेल तथा अनियन्त्रित खर्चका कारण कम्पनी धरासयी भएको आरोप छ ।

नेपालको सर्वपक्षीय विकासका सहयोग गर्ने आशा गरिएको बहुुप्रतीक्षित परियोजना हेटौंडा–काठमाडौं सुरुङमार्ग निर्माणको एकमात्र लक्ष्य लिएर स्थापित नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले खारेजीको चेतावनी दिइएको हो ।

कम्पनीले सुरुङमार्ग निर्माण गर्न राखेको प्रस्तावलाई २०६९ वैशाखमा मन्त्रिपरिषद्ले पारित गरेको थियो । त्यसअनुसार आयोजनाको काम २०७१ बाट सुरु हुनुपर्ने भए पनि हालसम्म सिन्को भाँचिएको छैन ।

आयोजना करिब ३७ अर्बमा बन्ने आँकलन गरिएको थियो । म्याद थप गर्दै ५० अर्ब हाराहारीमा लागत लाग्ने उल्लेख छ । पूर्वाधार विकास कम्पनीले सुरुङमार्ग बनाउन गैरआवासीय नेपाली तथा स्वदेशी उद्योगपतिबाट ३५ अर्ब उठाउने योजना बनाएको थियो । त्यसअनुसार जनताबाट ३१ करोड ७६ लाख रकम जुटाइएको थियो ।

सुरुङमार्ग निर्माण भए एक घण्टामै काठमाडौंबाट हेटौंडा आउन सकिने कम्पनीको दाबी छ । तर, हाल सरकार आफैंले काठमाडौं–निजगढ फास्टट्रयाक निर्माण सुरु गरिसकेको छ ।

हेटौंडाका जनताले लगानी गर्न तप्परता देखाए । गहना, गाई, बाख्रा, भैंसी बेचेर तथा ऋण काढेर हेटौंडाबासीले कम्पनीलाई रकम बुझाएका थिए । तर, प्रगति नै भएन ।

कम्पनीमा मकवानपुरका २२ संस्थापक शेयर सदस्य छन्, जसमा मकवानपुर उद्योग वाणिज्य संघ, उद्योग संघ हेटौंडा र नारायणी यातायात व्यवसायी संघले संस्थागत संस्थापक शेयर लिएका छन् ।

निर्माणकर्ता नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले शुभसाइत ठहरिएको दिन भन्दै हेटौंडा–कुलेखानी–काठमाडौं सुरुङमार्ग निर्माणका लागि २०७० मंसिर १५ गते भूबराह पूजा गरेको थियो ।

मकवानपुरको तत्कालीन कुलेखानी गाविस वडा नं. २ लाम्दोली, चुरेपाखास्थित सुरुङको प्रस्तावित प्रवेश विन्दुमा देशका प्रतिष्ठित पण्डितहरुद्वारा पाँच प्रकारका पूजा गरिएको हो ।

चार पण्डितले वेद, एक पण्डितले चण्डी, ११ पण्डितले रुद्रि, तीन पण्डितले हवन र अन्य पण्डितले पृथ्वीसुक्त, सामवेद, भागवत पाठ गरेका थिए भने केहीले पञ्चशीला पूजा, विश्वकर्मा पूजा, नागपूजा र स्थानीय मठमन्दिर पूजा गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्