विद्यालय आगलागीमा चौबीस जनाको मृत्यु



 

क्वालालम्पुर, (एजेन्सी)
मलेसियाको राजधानी क्वालालम्पुरको एउटा धार्मिक विद्यालयमा आगलागी हुँदा बिहीबार कम्तीमा २४ जना विद्यार्थीको ज्यान गएको छ। बुधबार बिहान सबेरै ताहफिज दारुल कुरान इत्तिफाकियामा आगलागी भएको थियो। तिनीहरू झ्यालमा फलामको ग्रिल राखिएको छात्रावासमा थुनिन पुगेको बताइएको छ।

अग्नि तथा उद्धार विभागका निर्देशक खिरुदिन द्राहमानले विगत बीस वर्षभित्रको यो सबैभन्दा भयावह आगलागीको घटना भएको बताएका छन्। शुरूमा मृतकको संख्या २५ बताइए तापनि पछि प्रहरीले एक घटाएको थियो। प्रहरीका अनुसार मारिने २२ जना १३ देखि १७ वर्ष उमेर समूहका छात्र तथा २ जना कर्मचारी रहेका छन्।

मुस्लिमहरूको पवित्र ग्रन्थ कुरानको पढाइ हुने यस्ता इस्लामिक ताहफिज विद्यालयमा विद्यार्थी छात्रावासमै बस्ने गर्दछन्। अनलाइनमा राखिएका तस्वीर र भिडियोमा विद्यालयको माथिल्लो तल्ला पूर्णतया आगलागीको चपेटामा परेको देखिन्छ।

आगो र धूवाँले घेरिएका ती विद्यार्थीले झ्यालबाट निस्कने असफल प्रयास गरेको अग्नि नियन्त्रण विभागले जनाएको छ। क्वालालम्पुरका प्रहरी प्रमुख अमर सिंहले नराम्ररी जलेका लाशहरू सनाखत हुन सक्ने स्थितिमा नरहेको बताएका छन्। सर्ट सक्र्युटको गडबडी वा लामखुट्टे मार्न बालिएको धुपका कारण आगो सल्केको अनुमान गरिए पनि प्रहरीले विस्तृत अनुसन्धान शुरू गरेको छ।

प्रतिक्रिया दिनुहोस्