दशैंको मुख्य सुरक्षा चुनौती, मुग्लिङ–नारायणगढ सडक खण्डको पहिरो



ईश्वरराज ढकाल, काठमाडौं
दशैंको मुख्य चुनौती मुग्लिङ–नारायणगढ सडक खण्डको पहिरो भएको प्रहरीले निष्कर्ष निकालेको छ। नेपाल प्रहरीले मुग्लिङको ३६ किलोमिटर बाटोलाई विशेष सुरक्षा दिएको छ।

दशैंतिहारमा अन्य सुरक्षा सामान्य भए पनि मुग्लिङ–नारायणघाट सडकको सुरक्षालाई विशेष रूपमा लिएको छ। नेपाल प्रहरीका प्रवक्ता डीआईजी मनोज नेउपानेले चितवनका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, सडक आयोजना प्रमुखलगायत सरोकारवालाको बैठकपछि मुग्लिङ सडकको २४सै घण्टा सुरक्षा दिई यात्रुलाई सहजरूपमा आवतजावत गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो।

उहाँले मुग्लिङ सडकमा ६ वटा टोली परिचालन गरेको छ। सो टोलीले २४सै घण्टा अनुगमन गर्ने, ६ वटा स्काभेटरसहित हेभी इक्युपमेन्ट राख्ने, पहिरो आए वा यात्रुवाहक सवारी साधन बिग्रिए तत्काल हटाउने, प्रत्येक हप्तामा सुधार गर्ने, अनुगमनलाई तीव्र बनाउनेलगायतका योजना लागू गरिएको जनाएको छ।

सो सडक खण्डमा प्रहरीले यात्रुको सुरक्षाका लागि ३ वटा अस्थायी प्रहरी पोस्ट स्थापना गरी सुरक्षा दिइरहेको र अब केही अस्थायी सुरक्षा पोस्ट स्थापना गर्ने जानकारी दिनुभयो। त्यसैगरी यात्रुलाई कुनै समस्या परे तत्काल समस्या समाधान गर्न प्रहरीको हटलाइन, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखलगायतको नम्बरमा सम्पर्क गर्ने व्यवस्था प्रहरीले मिलाएको छ।

त्यस्तै सो सडक खण्डको अवस्थाबारे स्थानीय एफएमबाट नियमित जानकारी दिने व्यवस्था मिलाइएको छ। बुधबारदेखि सो सडक खण्ड २४सै घण्टा खुला भइसकेको छ।

यसै गरी दशैं तिहारको विशेष सुरक्षा योजनाअन्तर्गत सबै राजमार्गमा प्रहरी गस्ती बढाइएको छ। प्रत्येक बसमा सादा वा बढी खतरा रहेको यात्रुवाहक बसमा हतियारसहित प्रहरीले गस्ती गर्ने व्यवस्था मिलाइएको प्रवक्ता नेउपानेले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘एक बस स्टपबाट अर्को बस स्टपसम्म एउटा टोलीले गस्ती गर्ने व्यवस्था मिलाइएको छ।’ उहाँले बढी खतराजन्य स्थानमा प्रहरी बिट स्थापना गरिएको जानकारी दिनुभयो। त्यसै गरी दशैंमा मेला लाग्ने मन्दिर र अन्य स्थानमा विशेष टोली खटाइने व्यवस्था गरिएको छ। राजधानीबाट टिकट लिने यात्रुका लागि प्रहरीले विभिन्न स्थानमा १३ वटा प्रहरी सहायता कक्ष स्थापना गरी त्यहाँबाट सेवा दिन शुरु गरेको छ।
टिकटमा कालो बजारी गर्ने, दोस्रो व्यक्तिले टिकट बिक्री गरेर यात्रु ठग्ने कामलाई निरुत्साहित गर्न प्रहरीले बसपार्क र अन्य स्थानमा विशेष गस्ती शुरू गरेको छ।

‘यात्रुलाई हैरानी नहोस भनेर यो वर्ष विशेष सुरक्षा व्यवस्था गरेका छौं’ –प्रवक्ता डीआईजी नेउपानेले भन्नुभयो। उहाँले यो वर्ष हामीले बसपार्क र यात्रुलाई नै विशेष सुरक्षा दिने योजना बनाएको जानकारी दिनुभयो। यात्रुको सहज यात्राका लागि राजधानीबाट बाहिरिने स्थानमा चेकपोस्ट स्थापना गरेको प्रहरीले जनाएको छ।

उपत्यका सुरक्षाका लागि ब्यापक प्रहरी परिचालन गर्ने, दशैंमा घर छाडेर गएका घरहरूको जानकारी लिई सो घरमा प्रहरीले निगरानी बढाउने, विषेश गरी मानिसको भीडभाड हुने स्थान, सपिङ मल, गहना पसललगायतका स्थानमा सादा र प्रहरी गस्ती शुरू गरिएको प्रहरीले जनाएको छ।

यस्तो छ, उपत्यकाको सुरक्षा

प्रहरीले यही असोज १ गतेदेखि लागू हुने गरी राजधानीमा दशैंतिहार सुरक्षा योजना लागू गर्ने भएको छ।

दशैंतिहारमा हुन सक्ने चोरी, लुटपाट नियन्त्रण, खाद्यान्नलगायतका दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिन, सवारी साधनमा हुने मनपरी भाडा नियन्त्रण र कारबाही गर्न विशेष अभियान सञ्चालन गर्न लागेको हो।

त्यसका लागि राजधानीमा मात्र करिब ३ हजार ५ सय प्रहरी परिचालन हुने भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रामदत्त जोशीले काठमाडौंका मुख्य चोक, सपिङ मल, गहना पसल, टिकट काउन्टरलगायतका स्थानमा व्यापकरूपमा प्रहरी परिचालन गरिने जानकारी दिनुभयो। उहाँले सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली बनाएर अनुगमन गरिने बताउनुभयो।

दशै र तिहारको समयमा खाद्यान्नको कृतिम अभाव देखाउने, मिसावट गर्ने माथि समेत कारबाही प्रकृया अघि बढाइने जानकारी दिनुभयो।
जिल्ला प्रशासन कार्यालयको सहयोगमा अनुगमन कार्यलाई तीब्र बनाउने, सडकमा जथाभावी पसल राख्नेमाथि कारबाही गर्ने, लगायतका योजना परिसरले गरेको छ।

त्यसै गरी काठमाडौं परिसरले सादा पोशाकका प्रहरी खटाउने, विभिन्न स्थानमा महिला प्रहरी परिचालन गरिनेजस्ता विशेष सुरक्षा योजना अघि बढाएको छ। महानगरीय प्रहरी परिसर विशेष सुरक्षा योजनाअन्तर्गत ललितपुरले सबै नगरवासीको घरमा पर्चावितरण गर्ने, प्रहरी परिचालन गरी घरदैलो अभियान सञ्चालन गर्ने कार्यक्रम रहेको जनाएको छ।

परिसर प्रमुख एसएसपी गणेश ऐरले साइकल, मोटरसाइकल गस्ती गर्ने, सपिङ मल, गहना पसल, टिकट काउन्टरमा प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘हामीले सुरक्षा योजना शुरु गरिसकेको छौं, कसैलाई समस्या परे नजिकैको प्रहरीलाई खबर गर्नुहोला।’
ललितपुरले जुवातास नियन्त्रण गर्ने, जथाभावी हुलहुज्जन गर्नेमाथि कारबाही गर्नेलगायतका सुरक्षा योजना अघि बढाएको जनाएको छ। ललितपुरले दशैं तिहार सुरक्षाका लगि करिब ६ सय प्रहरी परिचालन गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्