साहस, हिम्मत र आँट कसमा छ ?



 

हामी नागरिकले तिरेको राजस्वलाई प्रधानमन्त्री, मन्त्री, सांसद र नेताहरुले दुरुपयोग गरिरहेका छन्। श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र शाह र श्री ३ जंगबहादुर राणा पनि वास्तवमा सेना नै हुन्। तर उनीहरु सेनाको प्रमुख ओहदामा भएकाले उनीहरुमा आत्मबल, साहस, आँट र हिम्मत थियो। उनीहरुले राष्ट्रहितको पक्षमा अडान लिने र जनहितको पक्षमा राम्रो काम गर्ने भएकाले राजा कहलाएका हुन्। जस्तै सेनामा सबैभन्दा ठूलो भनेको प्रधानसेनापति, पृतनापति, जर्नेल, कर्णेल र मेजर हो।

श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र शाह र श्री ३ जंगबहादुर राणामा आत्मबल, साहस, हिम्मत र आँट थियो। प्रधानसेनापति, पृतनापति, जर्नेल, कर्णेल र मेजरमध्ये मुलुकको हित र रक्षाको लागि तथा राज्यकोष ढुकुटी दुरुपयोगमा रोक लगाउन सक्ने आत्मबल, साहस, हिम्मत, आँट कसमा छ र छैन भन्ने मात्र कुरा हो। आत्मबल, साहस, हिम्मत र आँट भएको सेनाले मुलुकको स्वाधीनताको रक्षा गर्न र राज्यकोष ढुकुटी दुरुपयोग गर्नेहरुलाई कारबाही गर्न अघि बढ्नुपर्ने आवश्यकता रहेको छ।

– राकेशकुमार शर्मा, हेटौंडा–२, मकवानपुर

घ्याँप्चे पहिरोले डाँडा नै सकिन लाग्यो

रामेछाप जिल्लामा रहेको घ्याँप्चेको पहिरो नागदह, कठजोर र सालुको सिमानामा पर्छ। हुन त यो पहिरो बर्सेनि बगिरहन्छ। हिउँद–बर्खा सधैँ झरिरहन्छ। यति मात्र फरक हो कि हिउँदमा सुख्खा पहिरो जान्छ भने बर्खामा लेदो बग्छ। रामेछाप सदरमुकामबाट नजिकै रहेको यो पहिरो धेरै पहिलेदेखि बगिरहेको हो तर आजसम्म कसैले रोकथाममा चासो दिएको छैन र कुनै उपाय निकाल्न सकेको छैन। पहिरो खसेर एउटा डाँडो सकिन लागिसक्दा पनि रामेछापका नेताहरुको ध्यान खिचिन सकेको छैन।
लेदो बगाएर सबै खेतीयोग्य जमिन बगर बनाएको छ भने खोलोले जमिनको क्षेत्र ओगटेर सबै रोडा र बालुवा थुपारेको छ। कति मानिस त यहाँ भास्सिएर ज्यान गुमाइसकेका छन्। हेर्दा समथर र सुख्खाजस्तो देखिने बगर लेदो भरिएको र भासिएला भन्ने कसैलाई पनि लाग्दैन तर काल नै बनिदिन्छ कुनै बेला त। बर्खा याममा सधैँ धमिलो बग्ने घ्याँप्चे रनजोर खोलाको नामले चिनिन्छ। यो खोलो सदरमुकाम मन्थलीमा आएर सुनकोशीमा मिसिन्छ। सत्ता परिवर्तनका क्रममा रामेछापका धेरै नेताहरु मन्त्री पनि भैसकेका छन् तर यस पहिरोको रोकथाममा कसैले ध्यान दिएका छैनन्। अहिलेको सरकारका गृह राज्यमन्त्री रामेछापका श्यामकुमार श्रेष्ठ हुनुभएको छ। आशा छ, उहाँले चाहिँ पक्कै पनि यस पहिरोको रोकथाम गर्नुहोला।

– उज्वल अधिकारी, मन्थली–२, कठजोर, रामेछाप

जो रक्षक उही भक्षक

दशैँ नजिकिएको छ। त्यसैले सर्वसाधारणलाई किनमेलको हतारो पनि बढ्दो छ। दैनिक उपभोग्य वस्तुदेखि लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, यातायातका साधन सबै खाले किनबेच यो अवधिमा बढी हुने गर्छ। त्यसैले यस बेला उपभोक्ता ठगिने सम्भावना बढी हुन्छ। अखाद्य सामान ल्याएर कालोबजारी गर्नेलाई सरकारले त्यसै छोड्दा उपभोक्ता मारमा परेका छन्। सरकारका मर्कचारी मात्रै हैन, मन्त्रीसम्मले पनि व्यापारीसँग सेटिङ मिलाएर कमिसन खाँदा नियमनकारी निकाय कानमा तेल हालेर बसेको अनुभूति हामी आमउपभोक्ताले गरेका छौं।

उपभोक्ता ठगिएका गुनासा आउन पनि शुरु भैसकेको छ। विभिन्न नाम र बहानामा वा शीर्षकमा ठग्ने प्रवृत्ति दिनानुदिन झाँगिँदो छ। विशेष नेपालीहरुको महान् चाड दशैँ, तिहार, छठ पर्वलाई लक्षित गरेर सरकारलाई पनि घुँडा टेकाउँदै वस्तुको मूल्य वृद्धि गरी अत्यधिक मुनाफा आर्जन गर्नेहरुको चलखेल शुरु भैसकेको छ। व्यवसायीहरुले आफूले मनले चाहेअनुसारको मूल्य बढाउने र मुनाफा आर्जन गर्न खोज्ने प्रवृत्ति नियन्त्रण गर्न सरकार असफल बन्दै आएको छ।

यति बेला दैनिक उपभोग्य वस्तुको मूल्य ह्वात्तै बढेको पाइएको छ। दशैँको मुखमा यसरी वस्तुको मूल्य ह्वात्तै बढाउँदा आर्थिक अवस्था कमजोर भएका र बिहान–बेलुका मजदुरी गरी जीविका चलाउनेहरुलाई आर्थिक संकट उत्पन्न नहोला भन्न सकिँदैन। दैनिक उपभोग्य सामान मात्रै नभई लत्ताकपडाका पसलमा पनि मानिसको उत्तिकै भीड हुने गरेको देखिएको छ। कपडा व्यापारीहरुले पनि दैशैँका बेलामा अलिकति भए पनि मुनाफा कमाऊँ भन्ने चाहनाले मनपरि मूल्य वृद्धि गर्ने हुनाले जनता मारमा पर्ने गरेको देखिएको छ।

दशैँका बेलामा उपभोग्य वस्तुहरु धैरै मात्रामा खपत हुने गर्छ। यसै मौकालाई मध्यनजर गर्दै व्यापारीले पनि अलिक धेरै मात्रामा सामान भित्र्याउने गर्दछन्। धेरै मात्रामा वस्तुहरु भित्र्याउँदा मिसावट र कालोबजारी गर्ने व्यापारीको त बानी नै भैसकेको छ। सामानको गुणस्तर कायम गर्ने, मूल्य वृद्धि र मिसावटलाई रोक्ने काम सरकारको हो। तर पानी, ग्यास, दैनिक उपभोग्य वस्तुहरु जस्तै– चामल, दाल, तेल, नूनलगायतमा हुने मिसावट र कालोबजारीलाई नियन्त्रण गर्न सरकार निरीह देखिएको छ।

यता खसीबोका बजारमा व्यापारीहरुले खसीबोकालाई कपुर, भिटामिनजस्ता औषधिको प्रयोग गरी साना खसी पनि रातारात बढी तौल बनाउने गरेको पाइएको छ। यस्ता व्यापारीलाई कसले तह लगाउने ? यस्तो अस्वस्थ खसीको मासु खुवााएर जनताको स्वास्थ्यसँग खेलबाड गर्ने व्यापारीलाई कसले सजाय दिने ?

व्यवसायी र व्यपारीहरुको अराजकतालाई सरकारले नियन्त्रण गर्न सकिरहेको छैन। सरकारको कमजोर उपस्थितिको पछाडिको कारण सरकारका कर्मचारी र मन्त्रीहरुलाई व्यवसायी र व्यापारीहरुले दिने कमिसन नै हो। निर्वाचनका बेला उनीहरुले दिएको करोडौं रुपियाँको चन्दाको बदलामा उनीहरुले बेहिसाब मूल्यवृद्धि गरिरहे पनि सरकार मौन बस्ने गरेको छ। ‘जो रक्षक उही भक्षक’ भनेझैँ सरकारको नियमनकारी निकाय नै यसरी कमिसनको चक्करमा लागेर आमउपभोक्ताको खाद्य अधिकारविरुद्ध उभिन पुग्छ भने यस्तो सरकारबाट आमनागरिकले के नै अपेक्षा राख्न सक्छन् र ?

– विजय श्रेष्ठ, हरिसिद्धी, ललितपुर

प्रतिक्रिया दिनुहोस्