भुकम्पको असर, ५६ लाख कामदारको आम्दानी ह्रास !



हेटौंडा,(नेस) । नेपालबाट वैदेशिक रोजगारीमा करिब ४० लाख युवा गएका छन् । खाडी मुलुकसँगै सुविधासम्पन्न देशमा रोजगारीका लागि ती युवा विदेशिएका हुन् ।
सरकारले पछिल्लो समय विदेशिने युवाको संख्या घटाउने नीति ल्याए पनि ब्यवहारमा लागु हुन सकेको छैन । आन्तरिक बजारमा रोजगारीको पर्याप्त अवसर नहुँदा युवा जनशक्ति विदेश पलायन हुन बाध्य भएको हो ।
वैदेशिक रोजगारीमा जानेमध्ये दुई तिहाइभन्दा बढीको गन्तब्य खाडी मुलुक र मलेसिया हुने गरेको छ । देशगत आधारमा हेर्दा मलेसियामा जानेको संख्या सबभन्दा बढी छ । आकर्षक कमाइ हुने पश्चिमा तथा अन्य मुलुकमा कामदार पठाउन सरकारले पहल गरेको छैन ।
यस्तो अवस्थामा रोजगार सूचना केन्द्र श्रम कार्यालय मकवानपुरको आयोजनामा रोजगारदाता र स्थानीयस्तरका टे«ड युनियनसँग रोजगार विनिमय सेवासम्बन्धि अन्तक्र्रियामा यस्तो जानकारी दिइएको हो । २०७२ सालको भुकम्पपछि ५६ लाख कामदारको आम्दानीमा ह्रास आएको श्रम कार्यालय मकवानपुर प्रमुख नितेश्वरराय यादवले बताए । श्रमिकका पाँच लाख घर पूर्णरुपले क्षति भयो ।
नेपालमा हाल पनि धेरै युवा बेरोजगार छन् । तीमध्ये समयानुसार फरक किसिमका सिपको आवश्यक्ता हुनु, प्रतिष्ठानको स्थान परिवर्तन हुनु, श्रमबजार प्रतिस्पर्धी हुनु, समयानुसार आधुनिकता र स्वचालित प्लान्ट विकास नभएकाले बेरोजगारको समस्या देखिएको यादवले बताए ।
मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष राजकुमार न्यौपानेले देशको अर्थतन्त्र दशकौंदेखि वैदेशिक विप्रेषण आप्रवाहले धानेको तथ्य नलुकेको बताए । देशको कुल गार्हस्थ्य उत्पादनमा विप्रषेणको अंश झण्डै एक तिहाइ पुगिसकेको उनले जनाए ।
‘औपचारिक तथ्यांकअनुसार दैनिक करिब १ हजार ५ सयको औसतमा नेपाली श्रम बजारबाट बाहिरिरहेका युवा पुस्ताको रगत र पसिनासँग साटिएको रकमले देशको अर्थतन्त्र चल्नुपर्ने र जति विप्रेषण भित्रिरहेको छ, झण्डै त्यति नै रकम छिमेकी मुलुकसँगको व्यापार घाटाबापत् बुझाउनुपर्ने नेपालको वास्तविकता निकै पीडादायी छ,’ महासंघ केन्द्रीय सदस्यसमेत रहेका न्यौपानेले भने ।
विप्रेषणमा निहित अर्थतन्त्र, बढ्दो आयात र देखासिकी सँस्कृतिसमेतका कारण देशमा उपलब्ध स्रोत र साधनको समुचित प्रयोग हुन नसकी घरजग्गा, गाडी, सुनचाँदीजस्ता कम उत्पादनशील क्षेत्रमा लगानी बढेको तथ्यांक सार्वजनिक भइरहेको भन्दै उनले दुःख व्यक्त गरे ।
उद्योग संघ मकवानपुर अध्यक्ष नवराज अर्यालले यहाँका उद्योगमा दक्ष जनशक्ति नभएर भारतबाट मजदुरलाई बढी रकम दिएर ल्याउनुपर्ने बाध्यता भएको बताए । दक्ष र क्षमतावान कामदार पाए उत्पादन बढाउन सकिने भएकाले आफूहरुले दक्ष जनशक्तिलाई रोजगारी दिनसक्ने उनले बताए ।
प्रत्येक वर्ष आन्तरिक श्रमबजारमा ठूलो संख्यामा युवा प्रवेश गरिरहेका छन् । स्वदेशमा रोजगारको उपयुक्त अवसरको अभावले उज्ज्वल भविष्यको आशा र आकांक्षा राखी परिवार र समाजबाट टाढा हुँदै वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या दिनानुदिन बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्