२ तोला सुनको सिक्रि उपहारका बिषयमा अख्तियारले सुरु गर्यो अनुसन्धान



विमल विष्ट,डोटी ।
डोटीमा कर्मचारीको बिदाईमा दुईतोला सुनको सिक्रि उपहार दिएको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय दिपायलले निकै चासो देखाएको छ ।

अख्तियार स्थित एकजना कर्मचारीका अनुसार उक्त उपहारका बिषयमा अख्तियारले सुक्ष्म अनुसन्धान सुरु गरेको छ ।

कर्मचारीको बिदाईमा दुईतोला सुनको सिक्रि उपहार भन्ने बिषयमा बिभिन्न सञ्चार माध्यममा समाचार प्रकासित हुनुका साथै सामाजिक सञ्जालहरुमा पनि बिभिन्न खाले टिका टिप्पणी भएपछि अख्तियारले चासो देखाएको हो । अख्तियार स्थित श्रोतले भन्यो ‘कुन सिर्षक बाट उपहार दिईएको हो त्यो बिषयमा अनुसन्धान भईरहेको छ,गलत देखिए कार्वाहि भोग्नु पर्छ ।’

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने डौड इलाका स्वास्थ्य चौकी इञ्चार्ज शिवशंकर रावतको विदाईमा केहि दिन पहिले ‘दुई तोला सुनको सिक्री’ दिईएको थियो । उक्त सिक्रि बर्थिङ् सेन्टरको रकमबाट खरिद गरि दिईएको पाईएको छ ।

उक्त स्वास्थ्य चौकीमा २०५५ सालदेखि सेवारत रावतलाई साविकको डौड गाउँ विकास समितिले वर्थिङ् सेन्टरका लागि छुट्टयाईएको रकमबाट सिक्री दिईएको पुष्टी भएको हो । साबिकको डौड गाविसको गत वर्ष पौषमा सम्पन्न गाउँपरिषदबाट बर्थिङ् सेन्टरका लागि ४ लाख २० हजार रकम विनियोजन गरिएको थियो ।

सो मध्ये ३ लाख २० हजार रुपैंया बर्थिङ् सेन्टरमा कार्यरत अनमी राधिका सिंह र स्विपर कटी नागरीको तलबमा खर्च भएको थियो भने त्यसैमध्ये बाँकी १ लाख रकम र डौड स्वास्थ्यचौकी व्यवस्थापन समितिको खातामा रहेको थप २० हजार रकमबाट सिक्री खरिद भएको पाईएको छ ।

त्यस्तै सुनको सिक्रि उपहारका बिषयमा सायल गाउँपालीकाले एक विज्ञप्ती सार्वजनिक गरेको छ । गाउँपालीकाका अध्यक्ष तेजबहादुर डुम्रेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा सुनको सिक्री प्रदान गरेको विषयमा गाउँपालीका र गाउँसभामा उपस्थित अतिथिहरु सँग जोडेर विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा भएको आलोचना भ्रामक भएको भन्दै सत्यतथ्य कुरा खोजेर लेख्न आग्रह गरिएको छ ।

साथै साविकको डौड गाविस र डौड स्वास्थ्यचौकी व्यवस्थापन समितिले सुनको सिक्री उपहारका विषयमा के कसरी निर्णय गरेको हो त्यसको सायल गाउँपालीकालाई कुनै जानकारी नरहेको अवस्थामा गाउँ सभामा उपहार दिनु पूर्व कुनै जानकारी पनि नगराईएकाले उक्त कार्यको पुर्ण रुपले नैतिक जिम्मेवारी स्वास्थ्य व्यवस्थापन समितिले लिनुपर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सायल गाउपालिका परिषदमा सुनको सिक्रि उपहार पहिराउने सो गाउँपालीका वडानं. ४ का निर्वाचित वडा अध्यक्ष टेकबहादुर सिंहले सुनको सिक्रि उपहार दिने भन्ने बिषयमा आफुलाई कुनै जानकारी नभएको एक्कासी सार्वजनिक कार्यक्रममा सिक्री पहिराईदिन भनेपछि आफुले स्वास्थ्यकर्मी रावतलाई पहिराई दिएको बताउनु भयो ।

उहाँले भन्नु भयो, – ‘स्वास्थ्यचौकी ईञ्चार्जको बिदाईमा उपहार र सम्मान गर्ने भन्ने जानकारी मात्रै थियो, एक्कासी सुनको सिक्री हातमा दिएर पहिराईदिन भनियो, त्यो मैले पहिराएको हुँ, बाँकी मलाई कुनै जानकारी छैन, गाविस सचिव लाल बोगटीलाई सबै कुरा थाहा होला ।’

प्रतिक्रिया दिनुहोस्