मधेशको पहिचान, पहुँच र प्रतिनिधित्व कांग्रेसबाट मात्र संभव: महामन्त्री कोईराला



नेपाल समाचारपत्र, पर्सा ।

नेपाली काग्रेसका महामन्त्री डा. शशांक कोईरालाले मधेशका पहिचान, पहुच र प्रतिनिधित्व नेपाली काग्रेसले मात्र दिन सक्ने बताउनुभएको छ ।

वीरगञ्ज महानगरपालिकाको वडा नं १० मा आयोजित चुनावी सभामा कांग्रेस महामन्त्री डा. कोइरालाले सो कुुरा बताउनुभएको हो ।

“एमाले तथा मधेश केन्द्रित दलहरु मधेसमा द्वन्द निम्त्याएर आफ्नो दुलो सोझ्याउन खोजिरहेका छन्” महामन्त्री डा. कोइरालाले भन्नुभयो,“मधेशी दलहरु तथा माओवादीहरु नेपाली काग्रेसको पुच्छर समाएर मात्र बैतरणी पार गर्न सक्छन् , एक्लै पारगर्ने हैसियत छैन।”

महामन्त्री डा. कोइरालाले मधेशी दलका नेताहरु सोझा जनतालाई आन्दोलनमा होमेर आफुहरु काठमाण्डौमा बसेको आरोप लगाउनुभयो । उहाँले नेपालको राजनीतिक निकास र पूर्वाधार तथा आर्थिक विकास लोकतन्त्रमा मात्र संभव भएको र नेपाली कांग्रेस बाहेक अन्य राजनीतिक दलले लोकतन्त्र र लोकतान्त्रिक प्रक्रिया जोगाउन नसक्ने भएकोले नेपाली काग्रेसलाई जिताउन आग्रह गर्नुभयो ।

कोणसभामा नेपाली काग्रेसको तर्फबाट बीरगंज महानगरपालिकाका उम्मेदवार अजयकुमार द्विवेदीले काग्रेसले चुनावमा कम्मर कसेर लागेपछि सबै जना पछि हट्न थालेको दावी गर्नुभयो । द्विवेदीले बीरगंजको सिमामा रहेको मितेरी पुलदेखि महानगरपालिकाको सीमा जंगलसम्म नेपाली काग्रेसको चारतारे झण्डाको लहर छाएको उल्लेख गर्दै भन्नुभयो, “पुरानो शैलीले महानगरको बिकास हुन सक्दैन, नयाँशैली र प्रबिधिकासाथ वीरगंज महानगरको विकास गर्नुछ र त्यो भिजन नेपाली काग्रेससंग मात्र भएकोले नेपाली काग्रेसका सबै उम्मेदवारहरुलाई बिजयी गराउनु पर्दछ ।”

कार्यक्रममा बीरगंज वडा नं. १० मा नेपाली काग्रेसका वडा अध्यक्षका उम्मेदवार रामनगिना साह कानुको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेसका केन्द्रिय चन्द्र भण्डारी, साँसद अनिल रुगंटा, पुर्व सभासद् लगायतको उपस्थिति रहेको थियो ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्