सुनील महर्जन
पाटन संग्रहालय विकास समितिले सर्वोच्च अदालतको आदेशलाई अटेर गर्दै पाटन दरबार क्षेत्रस्थित कोतपाटीको पसल कवल सञ्चालनमा ल्याएको छ।

ललितपुर महानगरपालिका साविकको ११ र हालको १२ को हःखास्थित कि नं २ क्षेत्रफल ९ आना २ पैसाको जग्गामा ३३ वटा (कोतपाटी) कवलहरू रहेका छन्। सो पाटी धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक रूपले महत्त्वपूर्ण मानिँदै आएको छ। विश्व सम्पदा सूचीमा सूचीकृत सो कोतपाटीको ३३ वटा पसल कवलमध्ये १२ वटा धार्मिक सांस्कृतिक रीतिस्थिति सञ्चालनका लागि खाली राख्न सर्वोच्चले आदेश दिएको थियो। बाँकी १८ वटा कवलहरू १५ वर्षका लागि व्यावसायिक प्रयोजनका निम्ति बहालमा दिने कार्य शुरू गरिएको छ।

ती कवलमा बिक्री सामान राख्दा नेपाली हस्तकलाका परम्परागत तथा आधुनिक सामग्रीहरू, पर्यटकीय वस्तुहरू, नेपाललाई विश्व समुदायमा चिनाउने धातुकला, मूर्तिकला, प्रस्तरकला, पौभा थांका, पस्मिना, गलैंचा, परम्परागत गरगहना र कागजबाट निर्मित सामानहरूबाहेक अन्य कुनै पनि सामग्रीहरू बिक्री गर्न नपाइने भन्ने अदालतको आदेशमा उल्लेख गरिएको छ।

अहिले कोतपाटीका १८ कवल बहालमा दिन समितिले बीपीएस लिजिङ मेनेजमेन्टलाई ठेक्का दिइएको छ। ठेकेदार कम्पनी बीपीएसलाई प्रत्येक वर्ष १० प्रतिशतका दरले भाडा रकम वृद्धि हुने गरी आव २०७४ र ७५ का लागि १९ लाख २३ हजार ४ रुपियाँमा ठेक्का दिइएको हो। बीपीएसले ठेक्का पाएको १८ पसल कवलमध्ये ४ वटामा हिमालय जाभा कफी सप नामक पसल सञ्चालनमा ल्याइएको छ।

समितिअन्तर्गतको सो पुरातात्त्विक महत्त्वका कोतपाटीमा ठेकेदारले मापदण्डविपरीत पसल कवल सञ्चालनमा ल्याउँदा पनि संग्रहालय टुलुटुलु हेरेर बसेको भन्दै हःखा टोल सुधार संघले आपत्ति जनाएको छ। पसल राखेदेखि पार्किङका लागि छुट्टयाइएको ठाउँ खाली गर्ने अनेक खेलहरू रचिएको पनि स्थानीयको बुझाइ रहेको छ। ‘एक त हस्तकलाका लागि भनेर पसल राख्न अदालतले आदेश दिने। अनि कफी सप राख्न मिल्छ?’ –हःखाका स्थानीयबासी ईश्वरराज शाक्यले भन्नुभयो।

विकास समितिका निमित्त कार्यकारी निर्देशक सुरेश लाखेले हिमालय जाबा कफी सप पर्यटकीय वस्तुहरू अन्तर्गत रहेकाले पसल राख्न दिएको जानकारी दिनुभयो। अधिकृत लाखेले फुड स्टल पनि डेभलप होस् भनेर हिमालय जाभा कफीलाई खोल्न अनुमति दिएको बताउनुभयो। ‘कोतपाटीमा खोलिएका सामग्रीले मुलुकलाई विश्व समुदायमा चिनाउने उद्देश्य हो,’ उहाँले भन्नुभयो– ‘हिमालय जाभा पनि विश्वमा चिनाउने नेपाली सामग्री हो।’

त्यसै गरी पाटन संग्रहालय विकास समितिको कार्यालय रहने भनिएको तीनवटा कवल पनि अदालतको आदेशविपरीत व्यापारिक प्रयोजनका लागि प्रयोग गर्ने विषयमा समितिले छलफल गरिरहेको बुझिएको छ। यो कार्य अदालतको आदेशविपरीत रहेको हःखा टोल सुधार समितिका अध्यक्ष शरणकुमार शाक्यले बताउनुभयो। ‘भन्ने बेला कार्यालय सञ्चालनका लागि भन्ने, अनि एटीएम मेसिन राखेर व्यापारिक प्रयोग गर्ने मानसिकता बनाउने, यो त अदालतको आदेशविपरीत रहेको छ’ –शाक्यले भन्नुभयो।

२०७३ भदौ १६ मा सर्वोच्चले दिएको आदेश पालना गर्नुको सट्टा समितिले धार्मिक, सांस्कृतिक कार्यका लागि छुटयाइएको १२ मध्ये ९ वटा पसललाई भाडामा दिने भनेर तीनवटा निकायलाई सम्झौताका लागि पत्राचार गरेको बुझिएको छ।

हःखा टोल सुधार संघले संग्रहालयले सम्झौताका लागि पठाएको पत्रप्रति आपत्ति जनाएको छ। संघका अध्यक्ष शाक्यले सर्वोच्चको निर्णयपछि भित्रभित्रै नौवटा कवलको शुल्क लिएर दिन लागेको आरोप लगाउनुभयो। समितिले तीनवटा ज्यापू समाज, तीनवटा महानगरपालिका र तीनवटा हःखा टोलका लागि भनी छुट्याएको छ।

‘यस कार्यले सरासर अदालतको मानहानि भएको छ’ –उहाँले यसबारेमा संग्रहालय विकास समितिलाई ध्यानाकर्षण गराइसकेको बताउनुभयो। ‘अझ पनि आदेश कार्यान्वयन नभएमा फैसला कार्यान्वयनका लागि अघि बढ्नेछौं’, उहाँले भन्नुभयो– ‘नभए अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि जान बाध्य हुन्छौं।’

संग्रहालयका कार्यकारी अधिकृत लाखेले नौवटा कवल भाडामा लगाउने बारेमा सर्वोच्च अदालतमा रिट पर्नुअघि नै टेन्डर आह्वान भइसकेको जानकारी दिनुभयो। ‘कोतपाटी संरक्षणको नाममा अधिकार जमाउन खोजेको देखिन्छ’, कार्यकारी अधिकृत लाखेले भन्नुभयो– ‘ज्यापू समाजले माग गरेअनुसार समाजको संग्रहालय प्रवद्र्धन गर्ने उद्देश्यले तीनवटा कवल, हःखा टोलकै महिला समूहको मागअनुसार तीनवटा कवल महानगरमार्फत् दिन लागेको हो।’

अहिले सो कवल खुला राखिएको छ। तर अध्यक्ष शाक्यले सर्वोच्चको फैसला अनुरूप नै धार्मिक सांस्कृतिक कार्यका लागि नौवटा कवल खुला राख्नुपर्ने स्थानीयको माग रहेको बताउनुभयो। ‘धार्मिक, सांस्कृतिक कार्यक्रम गर्न केही कवल खुला राख्नुपर्दछ। हःखा टोलले मात्र नभई जोसुकैले खुला कवलमा सार्वजनिक महत्त्वका कार्यक्रमहरू गर्नुपर्ने हुन्छ’ –अध्यक्ष शाक्यले भन्नुभयो।
वैशाख १२ गतेको विनाशकारी भूकम्पछि पीडित स्थानीयबासी महिनौं दिनसम्म सो स्थानमा आश्रय लिएका थिए। भूकम्पले महानगरीय प्रहरी प्रभाग मंगलबजारको कार्यालय क्षतिग्रस्त भएपछि त्यहाँको प्रहरीहरू कोतपाटीमा आश्रय लिएका थिए। ‘यसको आधारमा पनि ती कवल खुला हुनुपर्नेमा स्थानीयको दुईमत छैन’ –शाक्यले भन्नुभयो।

संघका अनुसार धार्मिक कार्यका लागि छुट्याएको कवलमा इन्द्रजात्राको बेला समयबजी बाँध्ने, मच्छिन्द्रनाथ रथ तान्दा बिग्रिँदा मच्छिन्द्रनाथको मूर्ति राख्न, पञ्चदान गर्दा दिपंकर तथागत बुद्धमूर्ति र दशैंमा धनु बजाउने प्रयोग हुने ठाउँ हो। त्यस्तै तीनवटा कवलमा दोलखाबाट देवता साधना गरी ल्याइएको भीमसेनको मूर्ति स्थापना गरिएको छ। जुन संरक्षणका लागि पुरातत्त्व विभागअन्तर्गतको दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालय ललितपुरले हःखा टोलबासीलाई जिम्मा लगाएको छ।

सो कोतपाटी विसं १७३५ मा राजा श्रीनिवास मल्लले दरबारको पूर्वी किल्लाको रूपमा कोतपाटी निर्माण गरेको पुरातत्त्व विभागद्वारा प्रकाशित स्मारकहरूको वर्गीकरणमा पुस्तकमा उल्लेख गरिएको छ। यस कोतपाटीको पश्चिमतर्फ दोलखाबाट आह्वान गरेर श्री दोलखा भीमसेनको मूर्ति स्थापना गरिएको छ। यस कोतपाटीमा ३२ कवलहरू रहेको छ। स्थानीय वयोवृद्धहरूका अनुसार ३२ राजलक्षणको प्रतीकका रूपमा यहाँको ३२ कवल रहेको र एक⁄एक कवल एक⁄एक लक्षणको रूपमा रहेका छन्। यस पार्टीको डबलीमा २००७ सालपछिसम्म पनि श्रीपञ्चमीको दिन वसन्तरागको धुन र दशैंमा मालश्री रागको धुन सुनाउने परम्परा रहेको छ।

LEAVE A REPLY