नयाँ अटोरिक्सालाई ‘नो इन्ट्री’



नेपाल समाचारपत्र, बाँके । नेपालगञ्जमा अब नयाँ अटोरिक्सालाई चल्न नदिने निर्णय गरिएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने जिल्ला यातायात व्यवस्थापन समितिले नयाँ अटोरिक्साको दर्ता नगर्ने निर्णय गरेको हो । बजारमा अटोरिक्साको संख्या धेरै भएकोले सडक दुर्घटनाका साथै ट्राफिक जामको समस्या निम्तिएको भन्दै यस्तो निर्णय गरिएको अधिकारीहरुले बताए ।

चलिरहेका अटोरिक्साको दर्ता प्रक्रिया सहज गर्ने, चालकलाई अनुमति पत्र दिने, भाडादरका लागि बृहत छलफल गर्ने निर्णयहरु भएका छन् । नेपालगञ्जमा कति अटोरिक्सा छन भन्ने अहिलेसम्म यकिन तथ्यांक नै छैन । सबै अटोरिक्सालाई यातायात कार्यालयमा दर्ता गराउन ट्राफिक प्रहरीले अभियान थालेपनि अझै दर्ता भइसकेका छैनन् । आठ हजार बढी अटोरिक्सा भएको आकलन गरिएको छ, बैठकमा अधिकारीहरुले छलफल गरेका थिए । अटोरिक्साको रातभरी ब्याट्री चार्ज गर्ने र दिउँसोभरी सञ्चालन गर्ने गरिन्छ ।

भारतबाट पाटपूर्जा ल्याएर यही फिटिङ गरेर अटोरिक्सा तयार गरिन्छ । ब्याट्रीबाट चल्ने अटोरिक्सा सुविधा सम्पन्न भएकाले यात्रुको पहिलो रोजाईमा पर्ने गरेको छ । धेरै अटोरिक्सा किनेर दैनिक भाडामा लगाउनेको संख्या पनि कमी छैन । नेपालगञ्जमा पेट्रोलबाट चल्ने रिक्सा पनि आइसकेका छन् । अटोरिक्साहरु साविकाका गाउँपालिका, नेपालगञ्ज उपमहानगरपालिकामा दर्ता भएर चलेका छन् । यातायातमा धेरै भएका कमै छन् । ट्राफिक प्रहरीले एकै दिन सयौं अटोरिक्सालाई नियन्त्रणमा लिएर यातायातमा दर्ता गर्न आग्रह गरेर छोडेको थियो ।

धेरैजसो यातायात कार्यालयमा दर्ताका लागि गएका छन् । अटोरिक्सा चालकलाई ट्राफिक नियमका बारेमा ज्ञान नहुँदा अझ बढी समस्या भएको छ । जथाभावी सडक पार गर्ने, यात्रु देख्ने बित्तिकै बीच सडकमा रोक्ने, तीब्र प्रतिस्पर्धा र धेरै भएकाले सडकनै जाम गर्ने अवस्था आएको छ । नियम अनुसार नचल्दा अटोरिक्साको बदमासी पनि भइरहेको छ । सोझा यात्रुलाई ठग्ने गरिएको छ । अटोरिक्साका मजदुरलाई राखेर सात दिनभित्र भाडादर कायम गर्ने निर्णयले यात्रुलाई सहज हुने आशा गरिएको छ । अटोरिक्सा चालकलाई लाइसेन्सका लागि लिखित परीक्षा नलिन यातायात कार्यालयमा अनुरोध गर्ने निर्णय भएको छ ।

प्रमुख जिल्ला अधिकारी रमेश केसीको अध्यक्षतामा भएको बैठकमा नेपालगञ्ज उपमहानगरपालिका, प्रहरी, उपभोक्ता संरक्षण मञ्चलगायतको सहभागिता रहेको थियो ।  राँझा एयरपोर्ट र सीमार्वी भारतीय बजार रुपैडिहा आउने–जाने मान्छेका कारण नेपालगञ्जका अटोरिक्साको कमाई राम्रो रहेको छ । एउटा अटोरिक्सा दैनिक चारदेखि सात सय रुपैयामा भाडामा लिएर पनि चालकले राम्रै कमाइरहेका छन् । अटोरिक्सा चलेपछि सञ्चालनमा आएपछि यात्रुलाई सुविस्ता पनि भएको छ । यात्रा छिटो, छरितो र आरामदायी हुने गर्दछ ।

अटोरिक्साको खराबी ब्याट्रीमा हुने गर्दछ । कारोबारीले भने ब्याट्री भन्सार नगरी ल्याउने गरेको स्रोतले बताउँछ । ब्याट्रीकै कारोबार गर्ने गोपाल अधिकारीले बिना भन्सार भारतबाट ब्याट्री ल्याउने भएकाले नेपालगञ्जमा कारोबार नै नभएको बताउनुभयो । ‘भन्सारले कडाई गर्दैन, हामीले त ब्याट्री बेच्नै पाएका छैनौ, व्यवसायी अधिकारीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्