बस र जीप ठोक्किदा ५ जना घाइते, २ गम्भिर



विनोद सिंह विष्ट, बैतडी ।
दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको दशरथचन्द नगरपालिका २ देहिमाण्डौं बजार नजिक बुधवार बस र जीप एक आपसमा ठोक्किदा ५ जना घाइते भएका छन् । घाईतेमध्ये २ जनाको अवस्था गम्भिर रहेको छ ।
गम्भिर घाईते हुनेहरुमा दशरथचन्द नगरपालिका १ का ३५ बर्षीय डम्मरदत्त भट्ट र बर्दिया शिवपुर ५ घरभई हाल गुरुखोला स्वास्थ्यचौकीमा कार्यरत अनमी टीका दहाल रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो । गम्भिर घाईतेको जिल्ला अस्पताल बैतडीमा उपचार हुन नसक्दा काठमाडौं रेफर गरिएको उहाँले बताउनुभयो । अन्य घाईतेहरुमा दशरथचन्द नगरपालिका ६ का ५० बर्षीय ध्वजराम लुहार,दनपा ४ का ४४ बर्षीय भानी ऐर र दनपा ४ कै गोमती ऐरको जिल्ला अस्पताल बैतडीमा उपचार भईरहेको छ ।
बैतडी सदरमुकामबाट पाटन लागि छुटेको महाकाली यातायातको ना २ ख ७६०६ नम्बरको बस र सतबाँझबाट सदरमुकामका लागि छुटेको म १ ज १२९ नम्बरको जीप देहीमाण्डौं बजार नजिक घुसल्ला मोडमा एक आपसमा ठोक्किएका हुन् ।
तीव्र गतिका कारण मोडमा जीप र बस एक आपसमा ठोक्किएका प्रहरीले बताएको छ । बस र जीपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्