जीएसटीले समस्या पारेको उद्योगीको गुनासो



नेपाल समाचारपत्र,हेटौंडा ।
सन् २०१७ जुलाई १ देखि भारतले वस्तु तथा सेवा कर (गुड्स एन्ड सर्भिसेस ट्याक्स, जीएसटी) लागू गरेपछि हेटौंडाका उद्योगलाई उत्पादन निकासीमा समस्या परेको गुनासो गरिएको छ।

मूल्य अभिवृद्धि कर (भ्याट) को अवधारणामा आधारित उक्त व्यवस्थाले स्थानीय विशेषतः बहुर्राष्ट्रिय उद्योगका उत्पादन भारत निकासीमा समस्या देखिएको भन्दै यहाँका उद्योगीको संस्था मकवानपुर उद्योग वाणिज्य संघले गुनासो गरेको हो। सिमरामा भारतीय राजदुत मञ्जीवसिंह पुरीलाई भेटेर उद्योग वाणिज्य संघको टोलीले यस्तो गुनासो गरेको छ।

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका महासंघ केन्द्रीय सदस्य राजकुमार न्यौपानेले क्लोजर सिस्टमलगायत उद्योगका उत्पादन भारत निकासी गर्न करिब ३ दिन भारतमा गाडी त्यत्तिकै राख्नुपर्दा समय र खर्च बढी भइरहेको गुनासो गर्नुभयो।

उहाँले रक्सौलमा इन्टरनेटमा खराबीलगायत कारण जनाउँदै भारतले रोक्दा मकवानपुरका उद्यमी समस्यामा परेको गुनासो गर्नुभयो। भारतले सफ्टवेयर तथा प्रणालीमा परिवर्तन तथा संशोधन गरेकाले हेटौंडाबाट सामान लिएर गएका गाडी इन्टरनेटमा खराबी आउने गरेपछि केही दिन त्यहींँ रोकिनुपरेको छ। हेटौंडाको वैदेशिक व्यापारको दुई तिहाइ अंश भारतसँग हुने, भारतसँग लामो खुला सिमाना भएको, ठूलो परिमाणमा अनौपचारिक व्यापार पनि हुने हुनाले भारतले गरेको यो बृहत् कर प्रणाली परिवर्तनबाट हेटौंडाको निर्यात बजारमा ठूलो प्रभाव परेको अध्यक्ष न्यौपानेको भनाइ छ।

‘भारतसँगको व्यापारघाटा अझ बढ्न सक्दछ। यस क्रममा विभिन्न उद्योगलाई मर्का पर्न जानेछ,’ न्यौपानेले भन्नुभयो। व्यापार सम्झौता र त्यहाँको नियम कानुनमा गरिएको व्यवस्थाभन्दा बाहिर गएर भारतले पटकपटक नेपालको निर्यातमा अवरोध खडा गर्ने गरेको छ।

नेपालबाट भारततर्फ निर्यात हुने मालवस्तुले पहिले करलगायत अन्य कारणले जुन झमेला व्यहोर्नु परिरहेको थियो, नयाँ करले त्यसमा केही सरलता ल्याउने अनुमान गरिए पनि यसको सकारात्मक प्रभाव पर्न नसकेको स्थानीय उद्योगीको गुनासो छ। भारतीय कर प्रणालीमा ७० वर्षयताकै सबैभन्दा ठूलो कर परिवर्तन हो। राजदूत पुरीले हेटौंडामा रहेका बहुर्राष्ट्रिय उद्योगका उत्पादन भारत निकासीका लागि सहजता ल्याउन आफूले पहल गर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्