सुशासनको सिद्धान्तलाई लत्याएको भन्दै ११ दल सडकमा



 

यमलाल भुसाल, बुटवल
तिलोत्तमा नगर क्षेका ११ त्रवटा राजनैतिक दल तिलोत्तमा नगरपालिकाको विरोधमा सडकमा उत्रिएका छन्। उनीहरूले हालै सम्पन्न स्थानीय निर्वाचनपछि बनेको निर्वाचित जनप्रतिनिधिले स्थानीय निकायको सुशासनको सिद्धान्तलाई लत्याउँदै क्षेत्रीय, जातीय लैंगिकता, धार्मिक, भौगोलिकलगायतमा समावेशी मूल्यमान्यतालाई अस्वीकार गर्दै दलगत स्वार्थको परिधिभित्र रही एकलौटी शैलीमा मनपरि किसिमले काम अगाडि बढाएको भन्दै नगरपालिकाको विरोधमा उत्रिन परेको जनाएका छन्।

नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा माले, जनमोर्चा नेपाल, संघीय समाजवादी फोरम, राष्ट्रिय जनमोर्चा, माओवादी विप्लव, नेकपा माक्र्सवादी र नयाँ शक्तिपार्टी नेपालले सोमबार संयुक्त रूपमा नगरपालिकाका मेयर वासुदेव घिमिरेलाई ज्ञापनपत्र बुझाई विभिन्न १० बँुदे असहमतिका विषयका बारेमा जानकारी गराएका छन्। ११ दलले माग गरेका मागमा नगरपालिकाले तत्काल सुनुवाइ नगरे कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।

तिलोत्तमा नगरपालिकामा नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा मेयर उपमेयरसहित बहुमतले विजयी हासिल गरेको छ। उनीहरूले नगरको योजना तर्जुमा वार्षिक नीति तथा कार्यक्रम निर्माण गर्दा अन्यदललाई बेवास्ता गरी एकलौटी ढंगबाट बजेट तर्जुमा गरेको बजेट तथा कार्यक्रममा आम नगरबासीलाई सूचनाबाट वञ्चित गराएको, नगरका विभिन्न वडामा समिति उपसमिति गठन गर्दा राजनैतिक दलको अस्तित्व अस्वीकार गरी मनपरी रूपमा व्यक्ति चयन गरेको, प्रथम नगरसभामा नगर क्षेत्रका सांसद र राजनैतिक दललाई नबोलाई अपमान गरेको आरोप लगाएका छन्।

त्यसै गरी नेकपा एमालेबाहेकका राजनैतिक दलहरू, सामाजिक संघसंस्था, सामुदायिक वन उपभोक्ता समिति, विकासका साझेदार संस्थाहरू र गैरसरकारी संस्थाहरूको अस्तित्व अस्वीकार गरेको, लक्षित समुदायलाई खर्च गर्नुपर्ने बजेट आवश्यक रूपमा विनियोजन नगरेको, उपभोक्ता समिति गठनमा एमालेकरण गरेको आस्थाको आधारमा नगरपालिकाका कर्मचारीलाई दुव्र्यवहार तथा निष्काशन गर्ने गरेको, सरकारले नगरक्षेत्रमा निर्माण गर्ने गरी प्रस्तावित मेडिकल कलेजको जग्गा सर्वदलीय सहमतिमा २ सय बिगाहा जग्गा छुट्टइइएको भनिए पनि सो नगरिएको र नगर क्षेत्रमा बनाइएको छाडा चौपाय संरक्षणमा गौशाला सञ्चालनको दायित्व बहन नगरेको भन्दै ११ दलले नगरपालिकाको विरोधमा ज्ञापनपत्र बुझाएको नेपाली कांग्रेस तिलोत्तमा नगर सभापति हरिलाल पाण्डेले बताउनुभयो।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा करिब २ सय जनाको सहभागिता रहेको थियो। ज्ञापनपत्र बुझेपछि नगरप्रमुख वासुदेव घिमिरेले सञ्चारकर्मीमाझ साविकका ७ वटा गाउँपालिका मिलाएर बनाइएको नगरपालिकामा सबै दलको भावनाको कदर गरी काम गरिने बताउँदै प्रथम नगरसभामा भएका कमजोरीलाई आगामी दिनमा दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्