घर बनाउन गाउँमै पुगे पुनर्निर्माणका हाकिम



 

नानीराम नेपाल, सिन्धुपाल्चोक
भूकम्पको २७ महिनाका बीच ध्वस्त भएका घरसंरचनामध्ये पन्ध्र प्रतिशत हाराहारीमात्र पुनर्निर्माण शुरू भएका छन्। नेपालीहरूको महान् चाड विजयादशमी नजिकिँदै गर्दा यसअघिका दशैं टहारामै टारेका अधिकांश भूकम्पपीडितले यस वर्ष पनि टहरामै दशैं मनाउनुपर्ने अवस्था छ।

विनाशकारी भूकम्पको साढे दुई वर्ष बित्नै लाग्दा पनि निजी आवास पुनर्निर्माणले गति लिन नसकेपछि पुनर्निर्माणका हाकिमसाबहरू पीडितका बस्तीमै पुगेर ‘तातो’ लगाउन थालेका छन्। निजी आवास पुनर्निर्माणका लागि पहिलो किस्ता लिएको एक वर्ष बिते पनि गाउँबस्तीमा पुनर्निर्माण सुस्त भएपछि पछिल्लो समय राष्ट्रिय पुनर्निर्माण प्राधिकरण विशेष सम्पर्क कार्यालयका प्रमुख रुद्र मल्ल र जिल्ला आयोजना कार्यान्वयन एकाइ प्रमुख एवं शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख डा. युवराज पौडेल भूकम्पपीडितका बस्तीमै पुगेर निजी आवास निर्माणमा दबाब दिइरहेका छन्।

शुक्रबार लोकल इन्टरभेन्सन ग्रुपले चौतारा साँगाचोकगढी नगरस्थित साविकको साँगाचोकको रानाथोकमा सामुदायिक छलफल सञ्चालन गर्यो। भूकम्पपीडित जनताका गुनासा सुन्न र पुनर्निर्माणमा तातो लगाउन जिल्ला आयोजना कार्यान्वायन एकाइ प्रमुख डा. पौडेल र पुनर्निर्माण प्राधिकरण विशेष सम्पर्क कार्यालयका प्रमुख मल्ल रानाथोकमा पुगेका थिए।

हाकिमसाबहरू गाउँमा पस्दा साँगाचोकका भूकम्पपीडितले प्रत्यक्षरूपमा साक्षात्कार मात्र गरेनन्, समस्या र गुनासाका चाङ नै फुकाए। पहिलो किस्ता प्राप्त गरेका भूकम्पपीडित लाभग्राहीले घर बनाउन नसकेको पीडादेखि साढे दुई वर्षसम्म अनुदानको पहिलो किस्ता नपाउँदा घर बनाउन नसकेको गुनासा सुनाए।
‘सबैले पहिलो किस्ता पाए, हाम्रो परिवारले पाएन। अनि गुनासोमा फारम भरें’, भूकम्पपीडित कल्पना रानामगर भन्छिन्– ‘सरकारको आसमा बस्दा यसपालिको दशैं पनि टहरामै टर्ने भो।’ निजी आवास पुनर्निर्माणका लागि पहिलो किस्ता प्राप्त गरे पनि रानाथोककी कमला रानामगरले घर बनाउन शुरू नै गरेकी छैनन्।

अघिल्लो दशैंअगावै पहिलो किस्ताको ५० हजार रुपियाँ प्राप्त गरेकी उनले घर खर्च टारिन्। जब समय घर्कंदै गयो अनि उनलाई पुनर्निर्माणको पिरलो बढिरहेकै छ। ‘पहिलो किस्ता त घरखर्चमै सकियो, अब कसरी बनाउनु घर?’ –सामुदायिक छलफलमा सहभागी उनले गुनासो गरिन्।

पुनर्निर्माणबारे चासो लिएर गाउँ आएका हाकिमहरूलाई आर्थिक अभाव सँगसँगै पानीको अभावदेखि कामदार नै नपाएका कारण घर बनाउन नसकेको गुनासो सुनाए साँगाचोकबासीले। ‘पानी छैन, काम गर्ने मान्छे भेटाउनै मुस्किल छ’, स्थानीय पम्फा रानामगरले भनिन्– ‘घर बनाउनू त भन्नुहुन्छ तर कसरी बनाउनू?’

झन्डै २ हजार ५ सय घरधुरी रहेको साँगाचोकमा बल्ल ३ सय हाराहारीमा मात्र निजी आवास पुनर्निर्माण शुरू भएको छ। पुनर्निर्माणका लागि सरकारी अनुदानको पहिलो किस्ता त अधिकांशले लिएका छन्, कतिपयले त दोस्रो किस्ता र तेस्रो किस्ता नै हात पारिसकेका छन्। तर साँगाचोकमा अनुदानको पहिलो किस्ता लिएका लाभग्राहीमध्ये ८० प्रतिशतभन्दा बढीले पुनर्निर्माण शुरू गरेकै छैनन्।
जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख डा. पौडेलले आगामी असार मसान्तभित्र सबैले घर बनाइसक्नुपर्ने भन्दै तत्कालै पुनर्निर्माणको काम शुरू गर्न साँगाचोकबासीलाई सुझाए। ‘तपाईंहरूलाई घर बनाउनू भनेर पैसा दिएको हो, त्यसै दिएको होइन’, कार्यक्रममा उनले भने– ‘पैसा लिने अनि घरचाहिँ नबनाउने?’ खेतीपातीमा मेलापर्म चलेजस्तै अब पुनर्निर्माणमा पनि पर्म चलाउनुपर्नेमा उनले जोड दिए।

प्रतिक्रिया दिनुहोस्