लोकगायक गुरुङ एकल साँझमा



 

लोकगायक अमर विरही गुरुङ सांगीतिक करियरमै पहिलोपटक एकल साँझमा उत्रने भएका छन्। आगामी भदौ ३१ गते राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादीमा तमु गुरुङ कलाकार संघको आयोजनामा हुन लागेको कार्यक्रममा उनले रचना गरेका चर्चित गीतहरू प्रस्तुत गर्ने भएका छन्।

चार दशकभन्दा लामो सांगीतिक यात्रा गरेका गायक गुरुङ जीवनमा एकल साँझ सम्पन्न गराउने जिम्मा भने गुरुङ (तमु) कलाकार संघले लिएको छ। शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै एकल साँझका बारेमा जानकारी गराइएको थियो। कार्यक्रममा बोल्दै गायक गुरुङले आफ्नो जीवनको पहिलो र अन्तिम कार्यक्रम भएको घोषणा गरेका थिए।

६३ वसन्त पुगिसकेका गायक गुरुङले जीवनभर गाइएका गीतबाट छानेर एक दर्जनभन्दा बढी गीत प्रस्तुति गर्ने बताए। त्यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका सल्लाहकार राजन लम्सालले गायक गुरुङले आफ्ना लागि कहिल्यै पनि काम नगरेको तथा सधैं अर्काका लागि र संस्थाका लागि भनेर दौडिँदै गर्दा आफ्नो जिन्दगी नै भुलेको चर्चा गरे।

कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष राजु गुरुङले गायक गुरुङ आफ्नो समुदायको मात्र नभएर सम्पूर्ण मुलुकवासीको कलाकार भएकाले उनको एकल साँझ गर्ने निर्णय गरेको बताए।

लमजुङको घनपोखरामा जन्मेका अमरले गोरखा दक्षिणबाहु चौथो, विभिन्न उच्चस्तरको राष्ट्रिय अभिनन्दन तथा राष्ट्रिय स्तरको लोकदोहोरी गीतमा प्रथम स्थान हासिल गरिसकेका छन् भने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको संस्थापक अध्यक्ष हुन्। गायक गुरुङले रेलीमाई, गैरी पर्यो ताल, खोली रसायो, स्याउली पलाइछ, सलल बग्यो गण्डकी, काठमाडौं सिंहदरबार, गोर्खा कालिका, गोगन पानीमा, काँचो सुर्तीलगायतका दर्जनौं गीतमा स्वर दिएका छन् भने ५० भन्दा बढी एल्बम प्रकाशनमा ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्