“इर्मा” आँधी भगाउन गोली हान्ने सुझाव भाइरल



 

वासिङ्टन, (एजेन्सी)
हाल इर्मा नामक डरलाग्दो सामुद्रिक आँधीबाट दुःख पाउँदै गरेको अमेरिकामा कुनै एक्सन हलिउड चलचित्रमा भयावह समस्याविरुद्ध एक हिरोले देखाउने काल्पनिक बहादुरी जस्तै घटना सार्वजनिक भएको छ।

फ्लोरिडाका एक पुरुषले तनाव र निकै नियास्रो लागेकै कारण तुफान इर्मालाई ताक्दै गोली हानेको घटनाप्रति अधिकांश व्यक्तिको ध्यानाकर्षण भएको छ। उनको कल्पनामा इर्मासँग भिड्न अचानक आएको यस कल्पनामा साथ दिन ४६ हजारभन्दा बढीले साथ दिने सहमति जनाइसकेका छन्। हिजोअर्थात शनिबार इर्मा फ्लोरिडा आइपुग्ने वैज्ञानिकहरूको भविष्यावाणीलाई ध्यानमा राख्दै खतराको क्षेत्रमा परेको ठूलो संख्यामा मानिसलाई सुरक्षित गन्तव्यतर्फ लगिँदै गरेको अमेरिकी अधिकारीहरूले बताएका छन्।

अमेरिकी इतिहासममै यति ठूलो संख्यामा मानिसलाई असुरक्षित क्षेत्रबाट खाली गरिएको बताइएको छ। २२ वर्षीय र्योन एडवर्डसले उपन्यासे शैलीमा आँधीलाई गोली हानेर भगाउने जुक्ति शुक्रबार साँझ आफ्नो फेसबुक इभेन्टमा राखेका थिए। उक्त इभेन्टप्रति अहिलेसम्मा ४६ हजार व्यक्तिले आफ्नो समर्थन व्यक्त गरिसकेका छन्।

उनले बीबीसीलाई बताएका छन्– ‘भावी आँधीको खतराका कारण निरन्तर तनाव र नमज्जा लाग्न थालेपछि मैले त्यसै सो इभेन्ट शुरू गरेको थिएँ। तर, यतिका प्रतिक्रिया आउँछ भन्ने मैले सोचेकै थिइनँ। मैले मेरो यस काल्पनिक इभेन्ट यसरी भाइरल होला भनी सोचेकै थिइनँ। अब त यसलाई म आफैं पनि नियन्त्रण गर्न नसक्ने स्थितिमा पुगेको छु।’

उक्त दि ‘सुट एट इर्मा’ पेजमा यदि कोष मिलाइर आँधीतर्फ गोली हानिएको खण्डमा गोली आफूतिर नफर्किने ग्राफिक्ससहितको सुझाव पनि राखिएको छ। एडवर्डसको गुरूयोजनाको सिको गर्दै खोलिएका त्यस्तै अन्य फेसबुक पेजहरूमा आँधीतर्फ आगो फाल्ने सुझावसमेत दिइएको छ।

यसैबीच थुपै्र क्यारिवियन टापुलाई तहसनहस बनाइसकेको इर्मा भीषण हुरीबतास र वर्षासहित हिजो क्युबा आइपुगेको बताइएको छ। क्युबाको उत्तरपूर्वी समुद्रीतट क्यामागय क्षेत्रमा यसले असर पारिरहेको छ।

तर, इर्माले अचानक आफ्नो पथ परिवर्तन गरेकाले बहामासका विभिन्न भाग सुरक्षित हनपुगेको बताइएको छ। इर्माकै कारण क्यारिवियन क्षेत्रमा अहिलेसम्म कम्तीमा २० जनाको ज्यान गइसकेको छ। फ्लोरिडामा ५६ लाख मानिस बस्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्