हेलिप्याड नहुँदा बिरामीलाई समस्या



 

रविन भट्टराई, ताप्लेजुङ
ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा हेलिकोप्टर उडान तथा अवतरणका लागि हेलिप्याड नहुँदा समस्या हुने गरेको छ। जिल्लामा विभिन्न प्रयोजनले आउने हेलिकोप्टर अवतरणका लागि उपयुक्त स्थान नहुँदा समस्या हुने गरेको हो।
सदरमुकाममा नेपाली सेनाले आफ्नो प्रयोजनका लागि मात्रै निर्माण गरेको हेलिप्याड र भानुजन माविको खेल मैदानलाई सार्वजनिक रूपमै प्रयोग गरिँदै आएको छ। तर सेनाको हेलिप्याड प्रयोग गर्न प्रक्रिया झन्झटिलो हुने तथा निरन्तरको उडानले विद्यालयको पनि आसपासका भौतिक संरचनामा क्षतिसमेत पुर्याउने हुँदा हेलिकोप्टर राख्न दिन समस्या हुने भानुजन माविका प्रधानाध्यापक किशोर राई बताउनुहुन्छ।

यता आफ्नो आन्तरिक प्रयोजनका लागि मात्रै निर्माण भएको हेलिप्याडमा निजी तथा व्यावसायिक हेलिकोप्टरहरू अवतरण गर्न दिन नमिल्ने नयाँ रणभीम गुल्मले बताएको छ। जसका कारण बिरामी र पर्यटकका लागि आकस्मिक रूपमा झिकाइएका हेलिकोप्टर विद्यालयका खेलमैदान र सुकेटारमा रहेको विमानस्थलमा समेत राख्नुपर्ने बाध्यता रहेको हेलिकोप्टर व्यवसायी ईश्वरी पौडेलको भनाइ छ।

हेलिकोप्टरसमेत अवतरण गर्न सक्ने उचित स्थान नहुँदा यात्रु तथा पर्यटकले सास्ती बेहोर्नु परिरहेको छ। जिल्लामा विभिन्न समयमा जिल्ला बाहिरबाट हेलिकोप्टर नै चार्टर गरेर आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउने, बिरामी लिन तथा पुर्याउन र अन्य प्रयोजनका लागि मानिसहरू आउने गर्दछन्।

सदरमुकाममा अत्यावश्यक प्रयोजनका लागि हेलिप्याड आवश्यक भए पनि नगरपालिकाले हेलिप्याड निर्माणका लागि कुनै चासो नदिएको स्थानीयको गुनासो रहेको छ।

प्रतिक्रिया दिनुहोस्