भारतीय सेनाध्यक्ष नेपाल आउँदै



 

काठमाडौं। भारतीय स्थल सेनाध्यक्ष विपीन रावत नेपालको औपचारिक भ्रमणका लागि नेपाल आउने भएका छन्।

यही भदौ ३० गते भारतीय स्थल सेनाध्यक्ष रावत नेपाल आउन लाग्नुभएको हो। नेपाल र भारतीय सेनाको संयुक्त सैनिक अभ्यास भइरहेको र सोही संयुक्त सैन्य अभ्यासको समापनमा उहाँ प्रमुख अतिथिका रुपमा भाग लिन नेपाल आउन लाग्नुभएको हो।

रुपन्देहीको सालझण्डीमा सञ्चालित उक्त सैन्य अभ्यासमा भारतीय सेनाका ३ सय अधिकृत तथा जवान र नेपाली सेनाका ३ सय अधिकृत तथा जवानले संयुक्त रुपमा सैन्य अभ्यास गरिरहेका छन्। भदौ ३१ गते सालझण्डीमा हुने समापन समहारोमा भारतीय सेनाध्यक्षले सहभागिता जनाउने हुनुभएको सैनिक मुख्यालयले जनाएको छ।

नेपाल भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, रक्षा मन्त्री भीमसेनदास प्रधान, प्रधानसेनापति राजेन्द्र क्षत्री र उच्च सैन्य अधिकारीसँग भेट गर्ने कार्यक्रम रहेको बताइएको छ।

सालझण्डीमा सञ्चालन भइरहेको एक्स सूर्य किरण भीआईआई नेपाल भारतीय सेनाको १०औं संस्करण हो। अब हुने नेपाल–भारत संयुक्त सैन्य अभ्यास भारतको उत्तराञ्चलमा रहेको पिथौरागढमा सञ्चालन हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्