गुरुयोजना निर्माण गरी विकास निर्माण गर्नुपर्छ : अध्यक्ष प्रचण्ड



 

चितवन, २३ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय निकायको गुरुयोजना निर्माण गरी वृहत सोचका साथ काम गर्नुपर्ने बताउनुभएको छ ।
भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको एकीकृत शहरी विकास कार्यक्रमसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उहाँले राजधानी काठमाडौँमा झैँ संरचना बनाउने र भत्काउने नगरी एकसय वर्षभन्दा पछिसम्मको सोच राखेर गुरुयोजना निर्माण गरी विकास निर्माण गर्नुपर्ने बताउनुभयो ।

संघीयता र संघको निर्वाचनसँगै संविधान पूर्णरुपमा कार्यान्वयन हुने भन्दै उहाँले अवको समय आर्थिक समृद्धिको भएको बताउनुभयो ।

दीर्घकालीन रणनीतिका साथ अघि बढ्न नसके राष्ट्रनिर्माण गर्न नसकिने भन्दै उहाँले राजनीतिक प्रतिशोधलाई थाँती राखेर विकास निर्माणमा अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “राजनीतिक आँखा अब विकासमा केन्द्रित हुनुपर्दछ ।”

कार्यक्रममा भरतपुर महानगरपालिकालाई बहुआयामिक नगरको रुपमा विकास गर्नुपर्ने भन्दै उहाँले तथ्यांक गत रुपमा गुरुयोजना निर्माण गर्न सुझाव दिनुभयो ।

विश्वका महत्वपूर्ण देशका प्रमुख महानगरसँग भगिनी सम्बन्धको विकास गरी महानगरलाई एकीकृत विकास गर्नुपर्ने पनि उहाँको जोड थियो ।

भरतपुर महानगरपालिकालाई चितवन महानगरको रुपमा विकास गर्नुपर्ने भन्दै उहाँले भरतपुर महानगरमा क्षेत्रीय विमानस्थल, शिक्षा र स्वास्थ्य केन्द्रको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । महानगरबाट नवलपरासी जोड्ने पुल निर्माण गर्ने र राप्ती एवं नारायणी दुई नदीको किनारै किनार चक्रपथ बनाउनुपर्नेमा पनि जोड दिनुभयो ।

कार्यक्रममा सहरी विकास मन्त्री प्रभू शाहले भरतपुर महानगरलाई नमुना सहर बनाउनका लागि मन्त्रालयले काम सुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो “स्मार्ट सिटी बनाउन डिपिआरका लागि ठेक्का भइसकेको छ ।”

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक शिवहरि शर्माले भरतपुर महानगरलाई स्मार्ट सिटीका रुपमा विकास गर्न अध्ययनका लागि बजेटसमेत निकासा भइसकेको बताउनुभयो ।

कार्यक्रममा चितवन क्षेत्र नं–३ का सांसद कृष्णभक्त पोख्रेल, सांसद सन्तु दराईलगायतले भरतपुर महानगरको विकास गुरुयोजना निर्माण गरी काम गर्नुपर्ने बताउनुभयो ।

हालै मात्र भरतपुर महानगरमा (माओवादी केन्द्र)का अध्यक्ष दाहाल पुत्री रेणु दाहाल प्रमुख पदमा विजयी हुनुभएको छ । महानगर नै भएको चितवनबाट आउँदो संघको चुनावमा उम्मेदवार बन्ने घोषणा समेत प्रचण्डले गरिसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्