अस्पतालमा औषधिको हाहाकार, निःशुल्क वितरण गर्ने औषधि अस्पतालमा छैन



 

प्रशान्त वली, काठमाडौं
जिल्ला तहमा रहेका सरकारी अस्पतालमा औषधिको अभाव देखिएको छ। सरकारले औषधि खरिदका लागि वर्षेनि लाखौं रुपियाँ बजेट छुटइउँदा पनि पर्याप्त मात्रामा जिल्ला तहका अस्पतालमा औषधि पुग्ने गरेको छैन।

अधिकांश जिल्लाका स्वास्थ्य संस्थामा सामान्य बिरामीका लागि आवश्यक पर्ने औषधिको हाहाकार भएको छ। सरकारले प्रत्येक स्वास्थ्य संस्थामा ७० प्रकारका औषधि निःशुल्क वितरण गर्न निर्देशन दिए पनि पर्याप्त औषधि नभएको जिल्ला तहका अस्पतालले बताउँदै आएका छन्।

तेह्रथुम, नुवाकोटलगायतका अधिकांश जिल्लामा सामान्य औषधि नपाइँदा बिरामीहरू निकै मारमा पर्ने गरेका छन्। यद्यपि जिल्ला तहका अस्पताल तथा स्वास्थ्य संस्थामा पर्याप्त औषधि नहुँदासमेत जिम्मेवार निकाय कानमा तेल हालेर बस्ने गरेको पाइएको छ।

सरकारले बिरामीलाई वितरण गर्न निर्देशन दिएका औषधि पेटको दुखाइ कम गर्ने बुस्कोपान, ग्यास्ट्रिकको औषधि डाइजिन, बान्ता रोक्ने प्रोमिथाजिन, आँखाको समस्या भएका बिरामीलाई लगाउने मलम सिप्रोलगायत सामान्य प्रकारका कुनै पनि औषधि स्वास्थ्य संस्थामा लामो समयदेखि नभएको स्वास्थ्यकर्मीको गुनासो छ।

स्वास्थ्य संस्थाको भित्तामा स्वास्थ्य सेवा विभागले निःशुल्करूपमा बिरामीलाई वितरण गर्ने औषधिका प्रकार र तिनको नाम सूची टाँसिए पनि बिरामीहरूले निःशुल्क औषधि नपाएको गुनासो गरेका छन्।

सरकारले सर्वसाधारणका लागि अति आवश्यक औषधि निःशुल्क उपलब्ध गराउने निर्णय गरेअनुसार जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ६७, प्रसूति गृहसहितका स्वास्थ्य चौकीमा ३८ र स्वास्थ्य चौकीमा ३५ प्रकारका औषधि उपलब्ध हुनुपर्ने हो।

किन औषधि पर्याप्त मात्रामा भण्डारण नगरेको भन्ने जिज्ञाशामा नुवाकोटस्थित त्रिशूली अस्पतालका स्टोर प्रमुख कृष्ण उपाध्यायले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘हामीकहाँ औषधिको समस्या छैन। निःशुल्क पाइने ५५ देखि ६० प्रकारका औषधिहरू राखेका छौं। अन्य १० थरि औषधि नराखिएको यथार्थ हो। यद्यपि हामी अब राख्ने तयारी छौं।’

स्वास्थ्य सेवा विभागले भने अस्पतालमा औषधिको हाहाकार हुन नदिन सबै उपाय अवलम्बन गरेको जनाएको छ। वर्षेनि अस्पतालको प्रकृति हेरेर १० देखि ४० लाख रुपियाँ बजेट औषधि वितरणमा खर्चिने गरिएको विभागका उपस्वास्थ्य प्रशासक डा. भेषराज पोख्रेलले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

अस्पतालहरूले पनि औषधिका लागि माग फाराम भर्नुपर्छ। उहाँले थप्नुभयो– ‘नेपालगन्ज, हेटौंडा, बुटवल, विराटनगरमा मेडिकल स्टोर छ। त्यहीँबाट मगाउन सकिन्छ। औषधि खरिद गर्ने समय पुसतिर हो। अहिले बजेट अभावको समस्याले केही स्थानमा अभाव हुन सक्छ।’

कतिपय अस्पतालहरू संवेदनशील नभइदिँदा पनि समस्या हुन सक्ने स्वास्थ्य सेवा विभागले बताएको छ। यस्तै बिरामीहरूले आफूहरूले अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा नपाएको गुनासो गरेका छन्। सरकारले स्वास्थ्य उपचारमा निःशुल्क सेवा भन्दै आए पनि नारामा सीमित भएको काठमाडौं महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचारका लागि तुलसीपुरबाट आउनुभएका बिरामी अमृता डाँगीले गुनासो गर्नुभयो। उहाँले भन्नुभयो– ‘खोई आफूलाई त अस्पतालमा चेकजाँच गराएको टन्नै पैसा लिए। भन्नलाई त निःशुल्क स्वास्थ्य सेवा भनिएको छ। हामीजस्तालाई के निःशुल्क होला र बाबु⁄’

प्रतिक्रिया दिनुहोस्