हालसम्मकै धेरै ८८ किलो सुन महानगरीय अपराध महाशाखाले समात्यो। हालसम्मकै ठूलो परिमाणमा सुन बरामद गरेर प्रशंसा पनि भयो प्रहरीको। यो सुन बरामद गरेपछि नेपाललाई ट्रान्जिट बनाएर तस्करी गर्दै आएको चिनियाँ तस्करको सञ्जालबारे नयाँ खुलासा भएको छ। पर्यटन व्यवसायको आवरणमा ठमेल क्षेत्रलाई स्टेसन बनाई चिनियाँ नागरिकले ११ वर्षदेखि तिब्बत, नेपाल र भारतमा सुन तस्करी गर्दै आएको कुरा प्रहरीको अनुसन्धानमा खुल्यो। केरुङ नाका हुँदै ४३ करोड रूपियाँबराबरको सुन महानगरीय प्रहरी अपराध महाशाखा टोलीले नियन्त्रण गरेपछि सुन तस्करीको नयाँ रहस्य सार्वजनिक भएको हो।

केही वर्षयता अवैध सुन तस्करीको धन्दा तीव्ररुपमा फस्टाउँदै गएको छ। ०७० असार २६ मा ३५ किलो सुन बरामद भएपछि नेपालमा अवैध सुन तस्करीको धन्दा मौलाएको प्रमाणित भएको थियो। त्यसपश्चात् ०७३ पुस २१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्रिपक्षीय मिलेमतोमा ३४ केजी सुनका बिस्कुट बाहिरिएको थियो। सोही वर्ष माघ १ मा फेरि १५ किलो सुन बरामद भएको थियो।

०७४ भदौ १४ मा १५ किलो सुन बरामद गरेको प्रहरीले त्यसको एक साता नबित्दै हालसम्मकै ठूलो परिणाममा सुन बरामद गरेको छ। अवैध सुन तस्करीको धन्दा मौलाएपछि यतिखेर केरूङ नाका नै प्रमुख तस्करी हुने नाकाका रुपमा परिचित भएको छ। त्यसमा पनि अवैध सुन तस्करीमा चिनियाँ नागरिककै प्रत्यक्ष संलग्नता पुष्टिसमेत भएको छ।

चिनियाँ नागरिक नेपालमा रेस्टुरेन्ट र पर्यटन व्यवसायको आवरणमा सुन तस्करीमा हुनु एउटा चुनौतीको विषय हो। संगठित तवरबाट हुने अवैध सुन तस्करी नेपालका लागि नयाँ विषय होइन। लेनदेनमा कुरा नमिल्दा मात्रै यस्ता सुराकी प्रहरीमा आउने गरेको छ। विमानस्थलको भन्सार सुरक्षा पास गरेर बाहिरिएको करिब ३४ केजी सुन बरामदपश्चात् संगठित सुन तस्करीबारे संसदीय समितिदेखि सदनसम्म चर्को बहस चलेको थियो। त्यस बेला अर्थ मन्त्रालय र संसदीय समितिले छानबिन समितिसमेत गठन गर्यो। तर, सरकार परिवर्तन भएसँगै त्यो मुद्दा त्यसै सेलाएर गयो।

नेपालमा जे–जति सुन तस्करीका घटना भएका छन्, त्यसमा भरिया मात्रै पक्राउ पर्दै आएका छन्। जबसम्म तस्करीका असली मालिक पक्राउ पर्दैनन्, तबसम्म सुन तस्करीको सृङ्खला रोकिन असम्भव छ। यसो भनिरहँदा प्रहरीले सुनका मुख्य नाइके समाउन नसक्नुमा राजनीतिक आडमा त यो भएको छैन ? चारैतिर शंका उब्जिएको छ। विभिन्न मुलुकबाट तस्करले ल्याउने अवैध सुन ठूलो परिमाणमा नेपाली बजारमा मात्र खपत हुँदैन, भारतलगायत तेस्रो मुलुक सप्लाइ गर्ने हबको रुपमा पनि चिनिएको छ। नेपाली बजारबाहेक तस्करले खुला सिमानाको फाइदा उठाउँदै भारतीय बजारसम्म पनि तस्करी गर्ने गरेका छन्।

केरूङ नाकाबाट आएको अवैध सुन बरामदको घटनाले नेपालमा हुने सुन तस्करीको पुरानो इतिहासलाई पुनः स्मरण गराइदिएको छ। प्रहरीले विभिन्न गिरोहबाट २०७० सालयता झन्डै ७ सय किलो अवैध सुन पक्राउ गरेको तथ्यलाई विश्लेषण गर्दा अवैध सुनको कारोबार मौलाइरहेको प्रस्ट हुन्छ। प्रहरीको अनुसन्धान ब्युरोले सुन कारोबारमा संलग्न भरिया मात्रै पक्राउ गर्दै आएको छ। अब मिङजस्ता व्यवसायीको आडमा सुन तस्करी गर्ने गिरोहलाई पनि पक्राउ गरी कारबाही गर्ने साहस देखाउनुपर्छ। केन्द्रीय अनुसन्धान ब्युरोले सुन तस्करीबारे छानबिन गरी सत्यतथ्य विवरण सार्वजनिक गर्नुपर्छ। देशको समग्र अर्थतन्त्रलाई नै धराशायी बनाउने अवैध सुन तस्करीलाई निस्तेज बनाउन राज्यले सम्पूर्ण संयन्त्र परिचालित गरेर यस्ता तस्करी नियन्त्रण गर्नु जरुरी छ। खासगरी तस्करका मुख्य नाइके समातेर यसको जरैदेखि समाधान गर्नु जरुरी छ।

– सरु सुन्दास, नुवाकोट

सडक जाम यसरी हट्छ

काठमाडौं धुवाँ–धूलो र जाम हुने शहरका रुपमा परिचित छ। यहाँ ट्राफिक व्यवस्थापन नहुँदा हुने गरेको जामले निकै सास्ती दिएको छ। मोटरसाइकल, साना गाडी र निजी सवारीका साधनले ट्राफिक जामलाई अझ बढाएको छ। त्यसैले सडक जाम नहुन दिन यसो गरौं।
सोझै रुट परमिट दिने व्यवस्था गर्ने।
हालको सिन्डिकेट बन्द गर्ने।
यातायात सेवालाई डिलक्स र साधारण दुई वर्गमा बाँडी दुई थरी भाडादर तय गर्ने।
सुविधा सम्पन्न नगर बसलाई डिलक्सको भाडा उठाउन अनुमति दिने।
दुई सिटबीच र गल्लीको न्यूनतम दूरी तोकी त्यो भन्दा कम ग्याप भएका सवारी साधन चल्न प्रतिबन्ध लगाउने।
नियम–कानुन उल्लंघनकर्तालाई कडा कारबाही गर्ने।
सडकको क्षमताले भ्याएसम्म रुट परमिट र पूर्ण स्वतन्त्र प्रतिस्पर्धा गर्न दिने।
कक्षा ८ भन्दा माथिका विद्यार्थी बोक्न स्कुल बसको प्रयोग गर्न नपाउने व्यवस्था गर्ने।
कुनै पनि सरकारी कार्यालयको प्रमुख र सुरक्षा थ्रेट भएकाबाहेक कर्मचारीको निवाससम्म गाडी लिन र पुर्याउन जाने सुविधा बन्द गर्ने।
सरकारी कर्मचारीलाई दिइएको मोटरसाइकल सुविधा बन्द गर्ने।
कार्यालयमा आएपछि कार्यालयको कामले बाहिर जान परे मात्र सरकारी मोटर प्रयोग गर्ने।
सवारीसाधन सुविधाको सट्टा कर्मचारीलाई यातायात भत्ता उपलब्ध गराउने।
ट्याक्सी सेवामा सिन्डिकेट हटाउने र पूर्ण स्वतन्त्र प्रतिस्पर्धाको वातावरण बनाउने।
ट्याक्सी कम्पनीले स्वयम् घोषणा गरेको सेवा–सुविधा पूर्णरूपमा उपलब्ध गराए⁄नगराएको अनुगमन गरी कारबाही गर्ने।
सडकपेटीमा लत्ताकपडालगायतका वस्तु बिक्री गर्न रोक्ने।
ठूला क्याम्पसहरूलाई मुख्य शहरी इलाकाबाट बाहिर जनचाप कम भएको स्थानमा सार्ने।
ठूला अस्पतालहरूलाई मुख्य शहरी इलाकाबाट बाहिर जनचाप कम भएको स्थानमा सार्ने।
गति सीमा उल्लंघन गरेर वा पालो मिचेर छिटो जान खोज्ने चालकलाई अनिवार्य कारबाहीको दायरामा ल्याउने।
इमर्जेन्सी प्रयोगका लागि एक लेन सडक खुला राख्ने।
सुरक्षा थ्रेट भएका भीआईपी, एम्बुलेन्स, दमकल र प्रहरी भ्यानबाहेक कसैलाई पनि बाटो खालि गराएर साइरन बजाउँदै पास गर्ने छुट नदिने।
ट्राफिक नियम उल्लंघनकर्ता सबैलाई जरिबाना गर्ने र रकम औचित्यपूर्ण हुने नीति लिने।
नगर बसका लागि मुख्य शहरभित्र बस टर्मिनलको सुविधा हटाउने, यात्री चढ्ने र ओर्लने प्रयोजनबाहेक रोक्न निषेध गर्ने।
– खर्कबहादुर सुनार, रोल्पा

LEAVE A REPLY