प्रेमकथामा अनुराग बन्ने



 

सांगीतिक प्रेमकथामा आधारित फिल्म अनुराग निर्माण हुने भएको छ। बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आगामी कात्तिकको तेस्रो साताबाट फिल्मको सुटिङ हुने जानकारी यसको निर्माण समूहले दिएको छ।

लामो समयदेखि मुख्य सहायक निर्देशकका रूपमा काम गर्दै आएका सत्यराज चौलागाईंले निर्देशन गर्ने डेब्यु फिल्मको निर्मात्री भने पत्रकार ऋषि धमला पत्नी एलिजा गौतम हुन्। उनी यो फिल्मबाट नायिकाका रूपमा समेत डेब्यु गर्दै छन्।

एरिका फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा मोडल दीपक घिमिरे नायकका रूपमा डेब्यु गर्दै छन्। फिल्मका अन्य प्रमुख कलाकारमा सरोज खनाल, निर्माता तथा निर्देशक निर्मल शर्मा र रुपा राना रहनेछन्। रामकुमार केसीले खिच्ने फिल्ममा तारा प्रकाश लिम्बू र सरोज पोखरेलको संगीत रहनेछ भने कविराज गहतराजले नृत्य निर्देशन गर्ने फिल्ममा कथा किरण दाहाल, पटकथा तथा संवाद सत्यराज चौलागार्इं र आगत केसीको छ। करिब १ करोडको लगानीमा निर्माण हुने भनिएको फिल्म काठमाडौं, ईलाम र पोखरामा छायांकन गरिनेछ। कार्यक्रममा बोल्दै पत्रकार ऋषि धमलाले नेपाली फिल्म उद्योगलाई नयाँ र फरक शैलीको फिल्म दिने उद्देश्यले चलचित्र निर्माण गर्न लागिएको बताए।

नवअभिनेत्री तथा निर्मात्री एलिजाले आफ्नो नेपाली सिनेमामा काम गर्ने सपना आज आएर पूरा हुन लागेको बताइन्। त्यस्तै नवअभिनेता दीपक घिमिरेले मोडलिङमा जसरी नै फिल्ममार्फत् चिनिने चाहना रहेको बताए। नवनिर्देशक सत्यराजले यो आफ्ना लागि अवसर भएको बताए।

प्रतिक्रिया दिनुहोस्