आजबाट फेरि जिरे खुर्सानी



 

नेपाल टेलिभिजनबाट एघार वर्ष पहिलेदेखि प्रसारणमा आएको लोकप्रिय हास्य टेलिसिरियल जिरे खुर्सानी बन्द दुई वर्षपछि पुनः प्रसारणमा आउने भएको छ। कुनै बेलाको यो हिट कमेडी सिरियल आज बिहीबारदेखि प्रत्येक साता राति ८ः४५ मा नेपाल टेलिभिजनमार्फत् प्रसारण हुनेछ। ५ सय १० भाग प्रसारण भएपश्चात् बन्द भएको सिरियललाई लोकप्रिय हास्य अभिनेता जितु नेपालले प्रसारणमा ल्याउन लागेका हुन्।

पहिले अर्का हास्य अभिनेता शिवहरि पौडेलका साथमा जितु नेपालले निर्देशन गरेको सिरियलको निर्देशन अब भने जितु नेपालले गरेका छन्। ‘पहिले जिरे खुर्सानी मिडिया हब र टेलिभिजनबीचको आन्तरिक कारणले जिरे खुर्सानी बन्द भएको थियो। त्यसमाथि भूकम्प र नाकाबन्दीका कारण फेरि निर्माणको वातावरण भएन। त्यसैले अहिले भने सबै कुरा मिलाएर फेरि निर्माण गरिएको हो जितुले भने– ‘जिरे खुर्सानीलाई जतिसक्दो सर्वप्रिय बनाउन टिमसँग मिलेर प्रयास गरेको छु।’

जिरे खुर्सानीका अर्का निर्देशक तथा प्रमुख कालकार शिवहरि पौडेल भने जिरे खुर्सानीकै केही कलाकारलाई लिएर केही समयदेखि ब्रेकफेल नामक अर्को हास्य शृंखला निर्माण गरिरहेका छन्। आफूले ढिलै भए पनि जिरे खुर्सानी भए मात्र काम गर्ने सोच लिएकाले शिवहरि पौडेलले अर्को कार्यक्रम निर्माण गरेको जितुले बताए।
अबको जिरे खुर्सानी राजनीतिक र समसामयिक विषयवस्तुलाई व्यङ्यमा उतारेर निर्माण गरिने र परिस्थितिअनुसार विषयमा परिवर्तन गर्दै लैजाने जितुले खुलाए। ‘पहिले सोमबार आउने सिरियल अहिले बिहीबार प्रसारण हुन लागेको छ।

जुन समय भनेको पहिले तितो सत्य प्रसारण हुने गरेको दिन हो। जिरे खुर्सानीप्रति दर्शकको प्रतिक्रिया हेर्दा फेरि पनि दर्शकले जिरे खुर्सानीलाई साथ दिनुहुन्छ भन्ने आशा गरेको छु जितु भन्छन्– ‘मैले जिरे खुर्सानीको पुनः प्रसारणका बारेमा फेसबुकमा राखेको सामग्रीप्रति दर्शकहरूको उत्साहपूर्ण प्रतिक्रियाले पनि यसले दर्शकको राम्रो साथ पाउने आशा राखेको छु।’ सिरियलमा जितु नेपालको साथमा राजाराम पौडेल, सविता गुरुङ, शिवहरि वैरागी, देवीराम पराजुलीलगायत अन्य केही नयाँ कलाकारको अभिनय रहनेछ।

प्रतिक्रिया दिनुहोस्