२ नम्बर प्रदेशमा मनोनयन सम्पन्न १८ हजारले गराए उम्मेदवारी दर्ता



 

नेपाल समाचारपत्र
काठमाडौं
सोज २ गते स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुने प्रदेश नम्बर २ का ८ जिल्लामा बुधबार उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको छ।

१ सय ३६ वटै स्थानीय तहका विभिन्न पदमा उम्मेदवारी मनोनयन दर्ता गर्ने काम शान्तिपूर्ण र उत्साहपूर्ण रूपमा भएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

बुधबार बिहान १० बजेदेखि ८ जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गराउन फाराम लिने तथा दर्ता गर्नेहरूको भीड लागेको थियो। विभिन्न राजनीतिक दलका उम्मेदवारहरू फूलमाला लगाएर उम्मेदवारी मनोनयन दर्ता गर्न गएका थिए।

जनकपुरलगायत विभिन्न स्थानीय तहमा ७ बजेसम्म पनि उम्मेदवारी दर्ता गराउनेको भीड रहेको बताइएको छ। कतिपय मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्नेहरूको लामो लाम लागेको जानकारी आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेईओसी)बाट प्राप्त भएको छ। मुख्य निर्वाचन अधिकृत÷निर्वाचन अधिकृतको कार्यालयमा निर्धारित समय ५ बजेभित्र प्रवेश गरिसकेका उम्मेदवारहरूको उम्मेदवारी दर्ता कार्य साँझ अबेरसम्म पनि सञ्चालन हुने जानकारीसमेत प्राप्त भएको छ। साँझ साढे ६ बजेसम्म आयोगमा प्राप्त विवरणअनुसार १८ हजार २ सय जना उम्मेदवारले मनोनयन दर्ता गराउनुभएको छ।

निर्वाचन आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेईओसी)बाट प्राप्त जानकारीअनुसार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयहरूमा विभिन्न राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएको आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो।

स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर दुईका ८ जिल्लाका १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १ सय ३६ वटा स्थानीय तहका विभिन्न पदमा हुने निर्वाचनका लागि बुधबार उम्मेदवारी मनोनयनको समय तोकिएको हो।

यो निर्वाचनबाट ६ हजार ६ सय २७ जना प्रतिनिधिहहरू निर्वाचित हुनेछन्। निर्वाचन कार्यक्रमअनुसार दर्ता भएका उम्मेदवारको दाबी विरोधका लागि आज बिहीबार तोकिएको छ। पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा जस्तै तेस्रो चरणको प्रदेश नम्बर दुईको स्थानीय तहको निर्वाचनमा पनि व्यापक उम्मेदवारी परेको प्रारम्भिक अनुमान छ।

संविधानसभाबाट जारी ‘नेपालको संविधान’ले व्यवस्था गरेबमोजिम सातवटा प्रदेश र ७७ जिल्लाका ७ सय ५३ वटा स्थानीय तहमध्ये पहिलो चरणमा २०७४ वैशाख ३१ गते प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २ सय ८३ वटा स्थानीय तह र दोस्रो चरणमा प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ गरी जम्मा ६ सय १७ वटा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ। प्रदेश नम्बर दुईको जारी निर्वाचन प्रक्रिया सम्पन्न भएपछि नेपालको संविधानले व्यवस्था गरेअनुसार सबै स्थानीय तहको निर्वाचन सम्पन्न हुनेछ।

प्रतिक्रिया दिनुहोस्