शून्य सहनशीलताका लागि सोसाइटीको अपिल



 

नेपाल समाचारपत्र
काठमाडौं
नेपाल मिडिया सोसाइटीले भ्रष्टाचारप्रति शून्य सहनशीलताका लागि अपिल गरेको छ। बुधबार राजधानीमा सोसाइटीले पत्रकार सम्मेलन गर्दै सो अपिल गरेको हो।

नेपालमा गणतन्त्र स्थापनाको एक दशक बितिसक्दा पनि भ्रष्टाचारले नेपाली समाजलाई आक्रान्त पार्न नछोडेकाले सरोकारवाला निकाय, नागरिक समाज, मिडिया हाउस, नागरिक सबैलाई अपिल गरिएको सोसाइटीका महासचिव शुभशंकर कँडेलले बताउनुभयो। ‘भ्रष्टाचारका कारण नेपाली समाजमा पूरै वितृष्णा फैलिइसकेको छ। शासकले पनि मिडियाले कुरा उठाए पनि टेर्न छाडिसके’, सोसाइटीका महासचिव कँडेलले भन्नुभयो– ‘अब सबैलाई भ्रष्टाचार विरुद्ध लड्न अपिल गरेका छौं। हामी मिडिया पनि भ्रष्टाचारप्रति शून्य सहनशीलताका लागि एक ढिक्का भएका छौं।’

सोसाइटीले बुधबारै एक वक्तव्य जारी गर्दै जुनसुकै परिवर्तनपश्चात् पनि मिडिया जनताको पक्षमा र बेथिति, विकृति र भ्रष्टाचार र अनियमिततालाई उदाङ्गो पारेर देशलाई अघि बढाउन मिडिया रहिरहने प्रस्ट पारेको छ।

अर्बौँको एनसेल कर मिनाहा प्रकरण, कर फस्र्याेटका नाममा कर छलीका लागि भएको घिनलाग्दो खेलमा संलग्न राजनीतिक दलका नेताहरू, उच्च पदस्थ कर्मचारीहरू मन्त्रिपरिषद्का सदस्यहरू संलग्न देखिनु दुःखद भएको सोसाइटीले जनाएको छ। यी घटना र यस्ता नीतिगत र संस्थागत भ्रष्टाचारका अनेक विषय नेपाली मिडियाले प्रस्तुत गरेर सरकार र प्रमुख राजनीतिक दलहरूलाई कानुनी कारबाही र भ्रष्टाचार निरुत्साहन गर्न गरिएका आग्रहलाई पूर्वाग्रहका रूपमा लिएर मिडियामाथि नै अनेकौं कोणबाट दबाब दिने, धाकधम्की देखाएर मिडियाको स्वतन्त्रतालाई कुण्ठित गर्ने दुस्प्रयास जारी रहेको पनि सोसाइटीले जारी गरेको वक्तव्यमा उल्लेख छ।

यस्ता सबै खालका क्रियाकलाप तत्काल बन्द गर्न र नेपाली मिडियाले भ्रष्टाचार र अनियमितताका शृंखलाका बारेमा प्रस्तुत गरेका तथ्यका आधारमा समेत भ्रष्टाचारी र बिचौलियाहरूलाई कारबाही प्रक्रिया अघि बढाउन सरकार र प्रमुख राजनीतिक दलहरूलाई सोसाइटीले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्