नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज, डा. केसीको अनशन स्थगित



 

प्रशान्त वली, काठमाडौं
डा. गोविन्द केसीले हिजो बुधबारदेखि शुरू गर्ने भनिएको अनशन तत्कालका लागि स्थगित भएको छ। सरकारले माग पूरा नगरेको भन्दै डा. केसीले हिजो बुधबारदेखि अनशन बस्ने घोषणा गर्नुभएको थियो।

शिक्षामन्त्री गोपालमान श्रेष्ठले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को खोसिएका अधिकार फिर्ता गर्ने निर्णय गरेसँगै डा. केसीको पूर्वघोषित अनशन तत्कालका लागि स्थगित भएको हो। डा. केसीले आईओएमको अधिकार फिर्ता हुनुपर्ने, काठमाडौं नेसनल कलेजको सम्बन्धन खारेज हुनुपर्ने, चिकित्सा शिक्षा विधेयक डा. केदारभक्त माथेमा प्रतिवेदनका आधारमा पारित हुनेपर्नेलगायतका माग राख्दै विभिन्न समयमा अनशन बस्नुभएको थियो। डा. केसीलाई पुनः अनशन बस्ने अवस्था नल्याउन त्रिविले काठमाडौं नेसनल कलेजको सम्बन्धन खारेज गरिसकेको छ।

यद्यपि चिकित्सा क्षेत्रभित्रका विकृति अन्त्य नभए पुनः अनशन बस्ने डा. केसीका वार्ता टोली सदस्य डा. अभिषेक सिंहले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। यस्तै, त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज गरेको हो। त्रिविले स्वास्थ्य मन्त्रालयको प्रतिवेदनका आधारमा सम्बन्धन खारेज गर्ने निर्णय गरेको हो। स्वास्थ्य मन्त्रालयको स्वीकृति नलिई अस्पताल सञ्चालन गरेको, अस्पतालको पूर्वाधार पूरा नभएको प्रतिवेदन त्रिविलाई बुझाएको थियो।

त्रिविले गठन गरेको समितिले बुधबार बिहान घट्टेकुलोस्थित काठमाडौं नेसनल शिक्षण अस्पतालको आकस्मिक निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा अस्पतालका बेडहरू खाली थिए भने डाक्टर र प्रशासनका कर्मचारी कोही पनि भेटिएका थिएनन्। त्रिवि कार्यकारी परिषद्ले सो शिक्षण अस्पताललाई डा. केसी अनशन बसेकै समय साउन १२ गते सम्बन्धन दिएको थियो।

प्रतिक्रिया दिनुहोस्