टिकटका लागि पार्टी बदल्नेको भीड



 

बीपी साह, काठमाडौं
पार्टीभित्र असन्तुष्टिका बीच उम्मेदवारी दर्ताको अघिल्लो साँझ राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले उम्मेदवारको टुंगो लगाएको छ।

स्थानीय निकायको तेस्रो चरणको निर्वाचनमा भाग लिएको राजपाले दुई नम्बर प्रदेशको १ सय ३६ स्थानीय निकायमध्ये १ सय १४ स्थानका लागि उम्मेदवारको नाम सार्वजनिक गरेको छ।

मंगलबार साँझ राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले उम्मेदवारको नाम सार्वजनिक गर्नुभएको छ। स्थानीय निकायको टिकट नपाएका नेताहरूलाई आगामी निर्वाचन तथा पार्टीको पदीय जिम्मेवारी दिइने जनाउँदै असन्तुष्टलाई मनाउने प्रयास गरिएको छ।

दुई नम्बर प्रदेशको एकमात्र महानगरपालिका र मधेस आन्दोलनको महत्त्वपूर्ण स्थान वीरगन्जमा राजपाले पहाडी अनुहारलाई मेयरको टिकट दिएको छ। राजेशमान सिंहलाई वीरगन्जको मेयरको उम्मेदबार बनाइएको छ। जसबाट पार्टीका असन्तुष्ट नेता विमल श्रीवास्तवले राजपा परित्याग गरी विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबाट मेयरको उम्मेदबार बन्ने तयारी गरेका छन्।

त्यस्तै, राजपाको अध्यक्ष मण्डलको तीनजना अध्यक्ष रहेका सर्लाहीमा दुईजना नेता असन्तुष्ट भई राजीनामा गरेका छन्। राजपाका महासचिव एवम् सांसद जंगीलाल राय यादवले महासचिव पदबाट राजीनामा दिएका छन् भने पासपोर्ट काण्डमा मुछिएका शिवपुजन यादव माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

त्यस्तै टिकट नपाएपछि महासचिव जोगिन्द्र मण्डलले पनि पदबाट राजीनामा दिएका छन्। त्यस्तै, बाराका केन्द्रीय सदस्य योगानन्द चौहानले टिकट नपाएपछि माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

पुरानो पार्टीको आधारमा टिकट बाँडफाँड
राष्ट्रिय जनता पार्टी नेपाल एकीकरण भए पनि पार्टीभित्र अहिले पनि ६ वटै पार्टी अस्तित्वमा रहेको टिकट वितरणको क्रममा देखिएको छ। टिकट वितरणको क्रममा यसअघिको ६ वटै पार्टीगत हिसावले उम्मेदवार चयन गरिएको छ। दुई नम्बर प्रदेशको दुईवटा मुख्य स्थान जनकपुरधाम र वीरगन्जमा पनि सोहीअनुसारले टिकट वितरण गरिएको छ।

जनकपुरधामको मेयरमा राजेन्द्र महतो निकट लालकिशोर साहले टिकट पाए भने वीरगन्जको मेयरमा शरत्सिंह भण्डारी निकट राजेशमान सिंहले टिकट पाएका छन्। त्यस्तै, अन्य प्रमुख स्थानमा पनि पूर्व पार्टीका नेताको आधारमा टिकटको बाँडफाँड भएको छ। अधिकांश स्थानमा ६ वटै पार्टीबाट उम्मेदवारी परेको थियो।

यसैबीच नेकपा एमालेले पनि २ नम्बर प्रदेशका उम्मेदवारको टुंगो लगाएको घोषणा गरेको छ। मंगलबार पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा २ नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने उम्मेदवारको नाम सार्वजनिक गरेको हो।

प्रतिक्रिया दिनुहोस्