अंकका लागि नै खेल्छौंः कोजी



ताजिकिस्तानविरुद्धको खेल हुनुअघिको पत्रकार सम्मेलनमा बोल्दै नेपालका प्रशिक्षक ग्योटोकु कोजी । साथमा नेपाली कप्तान विराज महर्जन (बायाँ) । तस्वीरः उजोल डंगोल⁄काठमाडौं

 

नेपाल समाचारपत्र
काठमाडौं
एएफसी एसियन कप २०१९ छनोटअन्तर्गत आज नेपालले समूहको तेस्रो खेल खेल्दै छ। एन्फा मैदानमा हुने खेलमा नेपालले पाहुना टोली ताजिकिस्तानविरुद्ध खेल्नेछ। समूहमा एक अंकसहित तेस्रो स्थानमा रहेको नेपालका लागि यो खेल जित्नैका लागि खेल्नुपर्ने हुन्छ। त्यसो त समूहमा ताजिकिस्तानले अंक जोडेको छैन।

नेपालका प्रमुख प्रशिक्षक ग्योटोकु कोजीले जितकै लागि खेल्ने लक्ष्य लिएको सोमबार प्रिम्याच पत्रकार सम्मेलनमा बताए। उनले भने– ‘नजिते पनि हामी अंकका लागि नै खेल्नेछौं। मैले ताजिकिस्तानको खेल हेरेको छु र उनीहरूको प्रदर्शनको पनि विश्लेषण गर्न पाएको छु। तर उनीहरूले त्यही स्तरमा खेल्नेछन् भन्नु पनि आवश्यक छैन। उनीहरू खेलेअनुसार नै हाम्रो रणनीति र योजना हुनेछ।’

उता ताजिकिस्तानका प्रशिक्षक फुजाएलोभ खाकिमले पनि जितकै लागि खेल्ने बताएका थिए। उनले भने– ‘हामीले नेपालको यमनविरुद्धको खेल हेरेका छौं। उनीहरूले सानदार प्रदर्शन दिएका थिए। अंक ल्याउन दुवै टोलीका लागि खेल चुनौतीपूर्ण हुनेछ। हामी घरबाहिर खेलिए पनि हामीमाथि दबाब छैन हामी खोलेर खेल्न सक्छौं।’

प्रतिक्रिया दिनुहोस्