उत्तर कोरियाको हालसम्मकै सबैभन्दा शक्तिशाली हाइड्रोजन परीक्षण, रसिया र चीन पनि चिन्तित



 

प्योङयाङ, (एजेन्सी)
उत्तर कोरियाले आइतबार लामो दुरीको क्षेप्यास्त्रमा प्रयोग गर्न सकिने आणविक हतियारको सफलतापूर्वक प्रक्षेपण गरेको दाबी गरेको छ। विश्वबाट अलग्गिएको कम्युनिस्ट मुलुक उत्तर कोरियाले आफ्नो छैंठो आणविक हतियार प्रयोगको कारण बेस्सरी जमिन हल्लिएको घन्टौंपछि मात्र सो सफलताको खबर सार्वजनिक गरेको हो।

प्योङयाङले आणविक बमभन्दा थुप्रै गुणा शक्तिशाली हाइड्रोजन बमको परीक्षण गरेको दाबी गरेको छ। तर अन्तर्राष्ट्रिय हतियार विश्लेषकहरूले प्योङयाङको दाबीलाई होसियारपूर्वक हेरिनुपर्ने तथा त्यसको आणविक क्षमता दिन प्रतिदिन बढिरहेको स्पष्ट भएको बताएका छन्। उत्तर कोरियाले यसअघि पछिल्लोपटक सन् २०१६ को सेप्टेम्बरमा आणविक परीक्षण गरेको थियो।

यसले अन्तर्राष्ट्रिय जगतको दबाब र संयुक्त राष्ट्र संघको नाकाबन्दीको वेवास्ता गर्दै धमाधम आणविक र क्षेप्यास्त्र प्रक्षेपण परीक्षण गर्दै आएको छ। यसको उद्देश्य अमेरिकाको जुनसुकै भू–भागसम्म क्षेप्यास्त्र प्रहार गर्न सक्षम हुनुरहेको छ। दक्षिण कोरियाले यस पछिल्लो हाइड्रोजन बम परीक्षण उत्तरको पुन्ग्गेरी आणविक परीक्षण स्थल रहेको किल्जु काउन्टीमा भएको जनाएकोे छ।

उत्तर कोरियाको मौसम निकायले यस परीक्षणबाट आएको कृत्रिम भूकम्प पाँचौ आणविक परीक्षणको भन्दा ९ दशमलव ८ गुणा बढी रहेको दाबी गरेको छ। प्योङयाङले लामो दूरीको क्षेप्यास्त्रमा जडान गर्न सकिने सानो खालको हाइड्रोजन बम बनाउन आफू सफल भएको घोषणा गरेको केही घन्टापछि नै यो परीक्षण कार्यान्वयन भएको बताइएको छ।

उत्तर कोरियाली सरकारी सञ्चार माध्यम केसीएनएले नयाँ प्रकारको सो हाइड्रोजन बमसंगै उत्तर कोरियाली सर्वोच्च नेता किम जोग उनको तस्वीर प्रशारण गरेको थियो। केसीएनएले यस बमलाई ब्यालेस्टिक क्षेप्यास्त्रमा राख्न सकिने जनाएको छ। उत्तरबाट भइरहेको शृंखलाबद्ध क्षेप्यास्त्र परीक्षणको कारणबाट अन्तार्रष्ट्रिय जगतमा ठूलो तनाव सिर्जना भएको छ।

केसीएनएले किमजोङ आफैं आणविक हतियार प्रतिष्ठानमा उपस्थित भएर वैज्ञानिकहरूसंग भेटघाट गर्दै आणविक सशस्त्रीकरण कार्यका लागि विशेष निर्देशन दिएको जनाएको छ। विगतमा उत्तरले सानोखाले आणविक र हाइड्रोजन बनाउने काममा सफलता हासिल हुन लागेको भनी दाबी गरिरहँदा विश्वका हतिया विशेषज्ञहरूले पत्याएका थिएनन्। अझै पनि उत्तरले हाइड्रोजन बम विकास गरेको तथ्यमाथि शंकाले हेर्ने गरिरएको छ। तर हिजोको परीक्षण उत्तर कोरियाको विवादास्पद आणविक कार्यक्रमको हालसम्मकै सबैभन्दा ठूलो सफलताका रूपमा हेरिएको छ।

अमेरिकाले हालै मात्र जापान र दक्षिण कोरियासंग संयुक्त सैनिक अभ्यास गरेको थियो। वार्षिक रूपमा हुने यस्तो संयुक्त सैनिक अभ्यासलाई उत्तर कोरियाले आफूविरुद्धको युद्धको तयारीका रूपमा लिने गरेको छ। यसैबीच आणविक हतियार विशेषज्ञ क्याथरिन डिलले अहिलेसम्म उत्तरले कस्तो प्रकारको आणविक हतियार परीक्षण प्रक्षेपण गरेको हो भन्ने स्पष्ट भइ नसकेको बीबीसीलाई बताएकी छिन्।

तर उनले पहिलेका परीक्षणहरूको तुलनामा यसपालिको परीक्षणबाट महशुस भएको भूकम्प धेरै गुणा शक्तिशाली भएको स्विकारेकी छिन्। दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले उत्तर कोरियाको यस छैठौ आणविक परीक्षणको जवाफ राम्ररी दिइनुपर्ने तथा संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले नयाँ एवं कडा नाकाबन्दी लागू गरी उत्तरलाई अन्तर्राष्ट्रिय जगत्बाट पूर्णतया अलग्याइनुपर्ने विचार व्यक्त गरेका छन्।

उत्तर कोरियाको एक मात्र गठबन्धन राष्ट्र चीनले समेत यस परीक्षणको कडा शब्दमा भत्सर्ना गरेको छ। चिनियाँ विदेश मन्त्रालयबाट जारी भएको एक विज्ञप्तिमा यसरी अन्तर्राष्ट्रिय समुदायको वेवास्ता गर्दै भएको आणविक परीक्षणप्रति चीन सरकारले कडा आपत्ति जनाएको उल्लेख गरिएको छ।

यसै गरी जापानको मन्त्री परिषद्का प्रमुख सचिव योसिहाइद सुगाले उत्तर कोरियामाथि तेल उत्पादन व्यापार प्रतिबन्धलगायत अन्य नाकाबन्दी लगाइनुपर्ने विचार व्यक्त गरेका छन्। रसियाले पनि यस परीक्षणले अन्तर्राष्ट्रिय कानुनको ेउल्लंघन भएको र सम्बन्धित सम्पूर्ण पक्षले वार्ताका लागि पहल गर्नुपर्ने तथा कोरियाली प्रायद्विपको समस्या समाधान गर्ने यही मात्र एक उपाय रहेको जनाएको छ।

साथै अन्तर्राष्ट्रिय आणविक उर्जा निकायका प्रमुख युकिया आमानोले यो परीक्षणलाई अत्यन्तै दुखदायी घटनाको संज्ञा दिएका छन्। उत्तरको यस कार्यबाट वासिंगटनस्थित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकार र विश्वभरिको दबाब वा रोकको बाबजुद उत्तरले आफ्नो कार्यक्रम नरोक्ने स्पष्ट राजनीतिक संकेत दिएको छ। यसैबीच हिजो जापानी प्रधानमन्त्री सिन्जो आबे र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोन वार्तामार्फत उत्तर कोरिया विरुद्ध एकजुट भइ अघि बढ्ने सहमति भएको छ।

प्रतिक्रिया दिनुहोस्