उम्मेदवारको हातमा टिकट नपर्दै कांग्रेस छाड्ने बढे



 

सञ्जय कार्की, रौतहट
युध्दकालीन अवस्थामा पत्रकार सञ्जय मिश्रले लेखेको समाचारले माओवादीमा तरंग ल्याइदिन्थ्यो। उनले लेखेको समाचारका कारण केयौंपल्ट माओवादीबाट उनीमाथि आक्रमणको प्रयाससमेत भएको थियो। युद्धकालमा माओवादीको (तीन म) मोटरसाइकल, मनी र मोबाइलसम्बन्धी समाचार लेखेकै कारण उनले माओवादीबाट जोगिन केयौं दिन घरसमेत छाड्नुपरेको थियो तर उनै पत्रकार सञ्जय मिश्रले यतिखेर माओवादीको नीति मन पराएर पार्टी प्रवेश गरेका छन्।

पत्रकार मिश्र नेपाल प्रेस युनियन रौतहटका केन्द्रीय पार्षद् र नेपाली कांग्रेसको पाँच नम्बर क्षेत्रीय सचिवसमेत हुन्। आसन्न स्थानीय तहको निर्वाचनमा कटहरिया नगरपालिकाको मेयरपदमा जनभावनाविपरित मेयर पदमा सिफारिस गरेको भन्दै मिश्रसहित नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि राकेश गिरी र जिल्ला समिति सदस्य कुन्दन कुश्वाहाले पार्टी छाडेका हुन्। उनीहरूले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ को हातबाट टीका लगाएर माओवादीमा प्रवेश गरेका छन्। जिल्ला समिति सदस्य कुन्दन कुश्वाहाले कटहरिया नगरपालिकाको मेयर पदमा पार्टी सभापति कृष्ण यादव र सांसद सुनील यादवले आर्थिक लाभमा २२ वर्षीय अजयप्रसाद जयसवाललाई टिकट दिलाएको आरोप लगाएका छन्।

उनी भन्छन्– ‘पार्टीको कुनै तह र तप्काको जिम्मेबारी ननिभाए पनि मेयरका लागि अजयप्रसाद जयसवालले टिकट पाएका छन्।’ पार्टी सभापति कृष्ण यादवले लामो समयदेखि क्रियाशील साथीहरूले पार्टी छाड्नु दुःखको कुरा रहेको बताउनुभयो।

उता चार नम्बरका क्षेत्रीय सभापछि रामभरोसी यादवले पार्टीमा त्याग गरेको व्यक्ति हैन नातेदार भए पुग्दोरहेछ भनेर सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गरेका छन्। गरुडा नगरपालिकाको मेयर पदमा पार्टी सभापति कृष्ण यादवको साला सुनील यादवले टिकट पाएपछि क्षेत्रीय सभापति रामभरोसी यादवको असन्तुष्टि बाहिर आएको हो।

टिकट वितरणमा असन्तुष्टि भएपछि नेपाली कांग्रेसका पुराना कार्यकर्ताले पार्टी धमाधम छाड्न थालेका छन्। पार्टीका इमान्दार कार्यकर्ता भनेर चिनिएका वैधनाथ पाल, इनु राय यादव, तेजापाकडका टुनु सिंहलगायतले नेपाली कांग्रेस छाड्दै माओवादी केन्द्र तथा फोरम नेपालमा प्रवेश गरेका छन्।

प्रतिक्रिया दिनुहोस्