सडकका बालबालिका



 

काठमाडौं उपत्यकाका व्यस्त सडक र अन्य स्थानमा पैसा माग्दै हिँड्ने बालबालिकाका कारण पैदलयात्रु, सवारी चालक र अन्यले हैरानी व्यहोर्नुपर्ने अवस्था आएको छ । बालबालिका मात्रै होइन, बालबालिकाका अभिभावक पनि त्यस्तै व्यवहारका साथ सार्वजनिक स्थानमा भेटिंदै आएका छन् । उनीहरूले सहयोगको याचना गर्दै कागजपत्र देखाएपछि धेरैले मानवीय नाताले सहयोग पनि गर्ने गरेको पाइन्छ । आर्थिक सहयोगको अपिल गर्दै हिँड्नेहरू केही नेपाली भए पनि अधिकांश भारतीय भएको र उनीहरूले बोक्ने कागजपत्र फर्जी भएको सरकारी निकायको ठहर छ ।

केन्द्रीय बालकल्याण समिति र बालबालिका खोजतलास समन्वय केन्द्रलगायतका निकायले यस्तो पुष्टि गरेका हुन् । सडकमा रहेका बालबालिका र तीनका अभिभावकलाई पटक–पटक उद्धार गरे पनि फेरि जोखिमयुक्त तरिकाले सडकमै गएर उस्तै व्यवहार दोहोर्याउने गरेपछि सरकारी निकाय हैरान बनेका छन् ।

बालबालिका खोजतलास केन्द्रलगायतले गरेको अध्ययन⁄अनुसन्धानका क्रममा उपत्यकाका व्यस्त क्षेत्रमा हरेक दिन बालबालिका र तीनका अभिभावक आर्थिक सहयोगको आग्रह गरिरहेका भेटिने गरेका छन् । केशरमहल, दरबारमार्ग, सुन्धारा, पुरानो बसपार्क, गौशाला, पशुपति, सिनामंगल, विमानस्थल क्षेत्र आसपास, कोटेश्वर, जावलाखेल, कलंकी, स्वयम्भु, थापाथली पुल, नयाँ बसपार्क (बालाजु), बल्खु र लोकन्थलीको सुकुम्बासी बस्तीलगायतका क्षेत्रमा हरेक दिन त्यस्तै गतिविधि दोहोरिने गरेको बालबालिका समन्वय केन्द्रले जनाएको छ ।
केन्द्रले केही समयअघि गरेको अनुसन्धानका क्रममा ५२ बालक, ४५ बालिका र २६ अभिभावक फर्जी कागजात देखाउँदै पैसा माग्दै हिँड्ने गरेको अवस्थामा भेटिएका थिए । उनीहरूलाई सडक र शहरका अति व्यस्त स्थानबाट उद्धारसमेत गरेर सडकमा नफर्कन सचेतनामूलक कार्यक्रम गरे पनि त्यस्तो व्यवहार दोहोरिने क्रम नरोकिएको केन्द्रका पदाधिकारी बताउँछन् । उद्धार गरिएका बालबालिका र अभिभावकले आफूहरू भारतीय नागरिक भएको स्वीकारेका छन् । अधिकांश भारतको रूपैडिया, गौंडालगायतका स्थानका भएको र केहीको भारतीय रासन कार्डसमेत भएको बताइएको छ । सडक र व्यस्त स्थानमा हरेक दिन यस्तै गतिविधि दोहोरिने क्रम नरोकिएपछि केन्द्रीय बालकल्याण समितिले भारतीय दूतावासलाई समस्या अवगत गराएको छ । दूतावास यो विषयमा सकारात्मक रहेकाले समस्या समाधान हुनेमा समिति पदाधिकारी विश्वस्त छन् ।

बालबालिका खोजतलास केन्द्रले समितिसँगको समन्वयमा विगत १० वर्षयता सडकमा आश्रित बालबालिकालाई उद्धार गर्दै आएको छ । काठमाडौं उपत्यकाबाट यसरी उद्धार भएका नेपाली बालबालिका पनि धेरै छन् । हालसम्म ६ सय ५६ जना नेपाली बालबालिकालाई सडकबाट उद्धार गरिएको तथ्यांक छ । यो तथ्यांक गत साउन मसान्तसम्मको हो । उद्धार गरिएका नेपाली बालबालिका ६ देखि १८ वर्षसम्मका छन् । तर सडक र सार्वजनिक स्थानमा नेपाली बालबालिकाले गर्ने सहयोगको याचना पूर्ण रूपमा रोकिएको भने छैन । खास गरी व्यस्त क्षेत्र, पर्यटकको चहल–पहल हुने स्थान र आसपासका क्षेत्रमा बालबालिका मात्रै होइन, वयस्कहरू पनि जवरजस्ती पर्यटकसँग पैसा मागिरहेका भेटिन्छन् । केही त पर्यटकलाई नेपाली सामग्री किन्न जवरजस्ती गरिरहेका पनि देखिन्छन् । पक्कै पनि त्यस्तो व्यवहारले आन्तरिक र वाह्य पर्यटकले घुमफिरको रमाइलो महशुस गर्न सक्दैनन् । त्यसैले अहिले भारतीय बालबालिकाको विषय समाधान गर्ने पहल भइरहेका बेला राज्यको ध्यान यस्तो विषयमा पनि केन्द्रित हुन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्