मन्त्रालय पाएँ, काम गर्ने अख्तियारी पाइनँ ः मन्त्री बलायर



SONY DSC

 

विमल विष्ट, डोटी
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले आफूले मन्त्रालय पाए पनि काम गर्ने अख्तियारी नपाएको बताउनुभएको छ। कामको सिलसिलामा डोटीको दिपायल आई पुग्नुभएका मन्त्री बलायरले नेपाल प्रेस युनियन डोटी शाखाले शनिबार दिपायलमा आयोजना गरेको पत्रकार सम्मेलनमा निर्वाचन आयोगले लगाएको आचारसंहिताका कारण आफूले काम गर्ने अवसर नपाएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘मैले मन्त्रालय पाएँ तर काम गर्ने अवसर पाइनँ के, कसरी र कुन कारणले आचारसंहिता लागू भयो मैले पनि बुझ्न सकिनँ, आक्रमण शैलीमा आचारसंहिता लगाइयो र सरकारलाई बन्धक बनाइयो, सरकारलाई खुकुलो बनायर आचारसंहिता लगाउनुपर्छ।’

त्यस्तै मन्त्री बलायरले डोटीमा २९ वटा पक्की पुलका लागि डीपीआर तयार भइसकेकाले यो वर्ष नै ठेक्कामा लैजाने योजना भएको बताउनुभयो। उहाँले थप भन्नुभयो– ‘पक्की पुल नहुँदा यातायात बन्द हुने अवस्थाबाट डोटी अब मुक्त हुनेछ।’ दिपायलदेखि खप्तड पर्यटन क्षेत्रमा केबुलकार पुर्याउनका लागि पहल भइरहेको बताउँदै मन्त्री बलायरले भन्नुभयो– ‘एउटा नेपाल र अर्को भारतीय कम्पनीसँग केबुलकार सञ्चालका लागि कुरो भएको छ, सम्भवतः चाँडै नै स्थलगत अध्यन र निरीक्षण हुनेछ।’ त्यस्तै सुदूरपश्चिमको ७ सय ५० मेगावाटको जलासययुक्त पश्चिम सेती आयोजना सञ्चालनका लागि चिनियाँ सरकारका मन्त्रीसँग कुरो भइसकेकाले चाँडै पश्चिम सेती आयोजना सञ्चालन हुने बताउनुभयो।

सोही पत्रकार सम्मेलनमा मन्त्री बलायरले ७ नम्बर प्रदेशको राजधानी दिपायलमा नै हुने बताउनुभयो। उहाँले भन्नुभयो– ‘मैले के कति सक्छु, के सक्दिनँ आफ्नो ठाउँमा छ तर राजधानी दिपायल बनाउने विषयमा म अडिग छु र एक इन्च डगमगाउने छैन।’ मन्त्री बलायरले खुटिया, बीपीनगर, दिपायल फास्ट ट्रइक अब दिपायलसम्म मात्र नभएर चीनको ताक्लाकोटसम्म लैजाने बताउनुभयो। उहाँले भन्नुभयो– ‘चीनसँगको सम्बन्ध अझ सुधार पार्न तथा व्यापार व्यवसाय बनाउनका लागि खुटिया, बीपीनगर, दिपायल फास्ट ट्रइकलाई बझाङ हुँदै चीनको तक्लाकोट पुर्याइनेछ।’ खुटिया, बीपीनगर, दिपायल फास्ट ट्रइकको नाम परिवर्तन गरी धनगढी ताक्लाकोट फास्ट ट्रइक राखिने समेत मन्त्री बलायरले पत्रकार सम्मेलनमा बताउनुभयो।

विषम परिस्थितिमा आफूले मन्त्रालय चलाउनुपरेको बताउँदै मन्त्री बलायरले भन्नुभयो– ‘जनताको आवश्यक्ताअनुसार सरकार जे गर्न पनि तयार हुनेछ।’ प्रेस युनियनका डोटी अध्यक्ष योगेन्द्र बलायरको अध्यक्षतामा उक्त उक्त पत्रकार सम्मेलनको आयोजना गरिएको थियो। उक्त पत्रकार सम्मेलनमा कांग्रेसका डोटी पार्टी सभापति प्रदीव देउवा, महाधिवेशन सदस्य भूमिराज बडु, कोषाध्यक्ष भरतबहादुर कठायतलगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो। त्यस्तै मन्त्री बलायरलाई दिपायलमा शैलेश्वरी, उग्रतारा, डडेल्धुरायातायात व्यवसायी समिति तथा डोटी उद्योग वाणिज्य संघले स्वागत कार्यक्रमको आयोजनासमेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्