दर्ता नभएका अटोरिक्सामा कडाइ



 

नेपाल समाचारपत्र
बाँके
ट्राफिक प्रहरीले यातायात कार्यालयमा दर्ता नभएका अटोरिक्सालाई कडाइ गरेको छ। ट्राफिकले शनिबार त्यस्ता अटोरिक्सालाई नियन्त्रणमा लिएको छ। अटोरिक्साको चाप र जथाभावी चल्दा दुर्घटना बढेको निष्कर्ष निकालेको ट्राफिक प्रहरीले नियमन र व्यवस्थित गर्न यस्तो अभियान चलाएको जनाएको छ।

प्रहरीले यातायात कार्यालयमा दर्ता नभएका अटोरिक्सालाई नियन्त्रणमा लिँदै गुल्ममा राखिएको छ। प्रायः अटोरिक्साहरू साविकका गाविसमा दर्ता भएका छन्। यातायात कार्यालयमा दर्ता गर्न पटक–पटक आग्रह गर्दा पनि अटेर गरेपछि बाध्य भएर नियन्त्रण गर्ने अभियान थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज होमबहादुर थापाले बताउनुभयो।

बाँके र त्यसमा पनि नेपालगन्जमा कति अटोरिक्सा छन् भन्ने यकिन छैन। जथाभावी चल्ने अटोरिक्साले ट्राफिक अस्तव्यस्त बनाउने गरेको छ। यसले दुर्घटना पनि बढाएको छ। यातायात कार्यालयले अटोरिक्सा दर्ता र लाइसेन्सको व्यवस्था गर्न सकेको छैन। ट्राफिकसम्बन्धी ज्ञान नभएका व्यक्तिले जथाभावी सडक काट्ने, नियम मिच्ने गरेको पाइन्छ।
नेपालगन्जको सानो र खाल्टाखुल्टी परेका सडकमा अटोरिक्साको चापले अन्य सवारीसाधन तथा पैदलयात्रीलाई दुःख दिएको छ। यातायात कार्यालयले अटोरिक्सा चालकलाई लाइसेन्सको व्यवस्था गर्ने तयारी गरिरहँदा अख्तियारको छापा परेपछि रोकिएको थियो। नेपालगन्ज बजारमा अटोरिक्सा र टाँगाको व्यवस्थापन नगर्दासम्म दुर्घटनामा कमी नआउने सम्बद्धहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्