आगामी चुनाव आत्मसमर्पणवादी भर्सेस राष्ट्रवादीः कमल थापा



नेपाल समाचारपत्र
बाँके
राप्रपाका अध्यक्ष कमल थापाले आगामी चुनावमा आत्मसमर्पणवादी भर्सेस राष्ट्रवादीका बीचमा प्रतिस्पर्धा हुने बताउनुभएको छ। शुक्रबार नेपालगन्जमा भएको पत्रकार भेटघाटमा अध्यक्ष थापाले संविधान निर्माणको क्रमदेखि शुरू भएको आत्मसमर्पणवादी र राष्ट्रवादीको धु्रवीकरण आगामी चुनावमा प्रस्ट देखिने बताउनुभयो। ‘संविधान अस्वीकार गर्ने, जलाउने, नाकाबन्दी गर्ने, संविधानलाई समाप्त पार्न लागेका आत्मसमर्पणवादीहरू त्यसबाट उद्देश्य पूरा नभएपछि धु्रवीकरण भएका छन्’, थापाले भन्नुभयो– भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले संविधान संशोधनको कुरा उठाउनुले त्यसलाई पुष्टि गर्दछ।’

आत्मसमर्पणवादीहरू आन्दोलन र नाकाबन्दीबाट प्राप्त नभएको उद्देश्य प्राप्तिका लागि चुनावमा धु्रवीकरण भएर अघि बढ्ने योजनामा रहेको थापाको टिप्पणी थियो। उहाँले आगामी चुनावमा राष्ट्रवादी शक्तिका बीचमा पनि समझदारी आवश्यक रहेको बताउनुभयो।

अध्यक्ष थापाले संविधान संशोधनले मधेसको मूलभूत समस्या समाधान नगर्ने बताउनुभयो। ‘संशोधनमा समेटिएका सबै विषय राष्ट्रलाई हानिकारक गर्ने थिएनन्। संशोधनले मधेसको मूलभूत माग सम्बोधन गर्नुभन्दा पनि मधेसकेन्द्रित दलको ‘फेस सेभिङ’ गर्ने मात्रै थियो’, थापाले थप्नुभयो– ‘त्यसैले राप्रपामा त्यसमा सकारात्मक भएको थियो। तर, सरकार र सत्ता पक्षबाट राप्रपालाई विभाजन गरिएपछि हामीले त्यसको विपरीत मत हाल्यौं।’

राप्रपालाई एकीकरण गराएर आत्मसमर्पणवादी कित्तामा लैजाने डिजाइन असफल भएपछि पार्टी विभाजन भएको थापाको भनाइ थियो। ‘आत्मसमर्पणवादीको गोटी पशुपतिजी हुनुभयो, सिंगो पार्टीलाई आत्मसमर्पणवादी कित्तामा लैजान नसकेपछि सरकार र सत्तारूढ दलले राणालाई उचालेर पार्टी फुटाए’, थापाले भन्नुभयो– ‘राणा नियोजित षड्यन्त्रमा प्रयोग हुनुभयो।’

तपाईंले मनोमानी गरेपछि राणा पक्ष छुट्टिएको भन्छन् नि भन्दा थापाले यस्तो कुरा थियो भने पार्टीभित्र छलफल गर्न सकिन्थ्यो। ‘एक्कासि पार्टी फुटाइहाल्नु पर्दैनथ्यो’, थापाले उदाहरण दिनुभयो– ‘कांग्रेसमा रामचन्द्रजी रातदिन रोएर बस्नुभएको छ। पार्टी फुटाउनुभएको त छैन नि। सानो कुरामा पार्टी फुटाउँदै जाने हो भने कहाँ पुगिन्छ ?’

अध्यक्ष थापाले सरकारको संघ र प्रदेशको चुनाव दुई चरण गर्ने निर्णयले आशंका उब्जिएको बताउनुभयो। दलहरूसँग छलफल गरेर मंसिर १० गते एकै चरणमा चुनाव गर्ने सहमति गरेको सरकारले ९ दिनपछि नै दुई चरणमा गर्ने निर्णय गर्नुले आशंका जन्माएको थापाको भनाइ थियो। ‘पहिलो चरणको चुनावको मतगणना गर्ने कि नगर्ने, त्यसको सुरक्षाको प्रश्न खडा भएको छ’, थापाले भन्नुभयो– ‘चुनाव एकै चरणमा गर्नु उपयुक्त हुन्छ।’

पार्टीको एजेन्डा र मूलधार आफैंसँग रहेको दाबी गर्दै थापाले आगामी चुनावमा पनि हिन्दु राष्ट्रको एजेन्डालाई लिएर जनतामाझ जाने बताउनुभयो। राप्रपाले देशका ७ सय ५३ वटै स्थानीय निकायमा कात्तिकभित्र संरचना निर्माण गरेर चुनाव लक्षित अभियान सञ्चालन गर्दै छ। दशैं र तिहारको बीचमा मेची–महाकाली हिन्दुत्व जागरण अभियान आयोजना गर्ने तयारी गरेको छ। पार्टी एकीकरण भएर फेरि चोइटिँदा कमल थापा पक्षधरका केही सांसद राणातिर लागेका छन्। तथापि, वरिष्ठ नेताहरू लोकेन्द्रबहादुर चन्द, बालाराम घर्तीमगर, बुद्धिमान तामाङहरू यतै रहेका छन्।

प्रतिक्रिया दिनुहोस्