क्रस बोर्डर टुरिजम एण्ड ट्रेड एक्स्पो हुने



 

नेपाल समाचारपत्र
काठमाडौं
काठमाडौंमा यही भदौ १७ देखि २० गतेसम्म बंगाली फेस्टिभल आयोजना हुने भएको छ। भारतीय राजदूताबास तथा भारतको वेस्ट बंगाल–नेपाल उद्योग वाणिज्य संघको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर्न लागेको फेस्टिभलको नाम क्रस बोर्डर टुरिजम एण्ड ट्रेड एक्स्पो राखिएको छ।

सोल्टी होटलमा आयोजना एक्स्पोको उद्घाटन भदौ १८ गते प्रधानमन्त्री शेरबहादुर देउवाबाट उद्घाटन हुने कार्यक्रम छ।नेपाल–भारत दौत्य सम्बन्ध स्थापना भएको ७० औं वर्ष पुगेको अवसरमा दुवै देशको आर्थिक, सामाजिक, धार्मिक, पर्यटकीय, साँस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउन कार्यक्रम आयोजना गरिएको महासंघले जानकारी दिएको छ। कार्यक्रममा दुवै देशका उद्यमी व्यवसायी एकै ठाउँमा भेला भई आपसी आर्थिक तथा व्यावसायिक सम्बन्ध विस्तार, सम्पर्क सञ्जाल विस्तारमा महत्त्वपूर्ण पहल हुने महासंघले जनाएको छ।

 

काठमाडौंमा एक पत्रकार सम्मेलन गरी फेस्टिभल आयोजना हुने जनाइएको हो। फेस्टिभलमा सांस्कृतिक कार्यक्रम, बंगालको फुड फेस्टिवल, व्यावसायिक सभा, सम्मेलन, आर्थिक व्यावसायिक सम्बन्ध खासगरी पश्चिम बंगालसँगको सम्बन्धलाई अझ मजबुत बनाउन विभिन्न गतिविधि आयोजना गरिने जानकारी दिइयो। त्यसअघि भदौ १७ गते वेस्ट–बंगाल नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलले नेपाल उद्योग वाणिज्य महासंघमा द्विपक्षीय भेटवार्ता गर्ने बताइएको छ।

कार्यक्रममा भाग लिन वेस्ट बंगाल–नेपाल चेम्बर अफ कमर्सका तर्फबाट संघका अध्यक्ष डी. के. जैसवालको नेतृत्वमा संघका पदाधिकारीसहित उद्यमी व्यवसायी शनिबार काठमाडौं आउने कार्यक्रम छ। उक्त प्रतिनिधिमण्डलबाट आपसी आर्थिक तथा व्यावसायिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउन नेपाल सरकारका उच्च अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको आयोजकले जनाएको छ।
वेस्ट बंगालबाट आउने व्यावसायिक प्रतिनिधिमण्डलले खासगरी होटल, शिक्षा, फिल्म, मेडिकल, स्टील उद्योग, कृषि, चिया कफी आदि क्षेत्रमा आपसी छलफलका लागि विशेष चासो देखाएको छ भने ती विषयमामा बी–टु–बी बैठक गर्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्