सामाजिक सञ्जालबाट बन्यो कभर्ड हल



 

दुर्गाप्रसाद शर्मा, पर्वत

सामाजिक सञ्जाललाई आफू अनुकूल प्रयोग गर्न नजान्दा कतिपयको घरबार चौपट पारेको छ। त्यसको महत्त्व र सहीरूपमा प्रयोग नगर्दा धेरै विकृतिहरू पनि भित्रिएका छन्। तर, त्यही सामाजिक सञ्जाल कुस्माका खेलाडीका लागि भने वरदान सावित भएको छ। गतिलो कभर्डहल नहुँदा कुस्माको खेलाडीलाई समस्या परेको सन्देश सामाजिक सञ्जालमा राखेर सहयोगको अपिल गरेपछि लाखौं रुपियाँ संकलन भएको हो।

झण्डै ९ वर्षअघि शिलान्यास भएको कभर्ड हल अलपत्र परेपछि सामाजिक सञ्जालको आह्वानमै १५ लाख रुपियाँ संकलन भएको हो। सामाजिक सञ्जाल फेसबुकको आह्वानले अमेरिका, बेलायत, हङकङ, कोरिया, दुबईलगायतका मुलुकमा बस्ने नेपालीले १५ लाख रुपियाँ संकलन गरेर पठाएपछि कभर्डहल निर्माण गर्न सजिलो भएको पर्वत ब्याडमिन्टन संघका अध्यक्ष प्रेमबहादुर गुरुङले जानकारी दिए। संघकै अग्रसरतामा अहिले कुस्मा नगरपालिका–४ स्थित माझमेलामा अत्याधुनिक कभर्ड हल निर्माण गरिएको छ।

५१ लाख रुपियाँको लागतमा कभर्ड हल निर्माण गरिएको हो। कभर्ड हल निर्माणका लागि सांसद अर्जुनप्रसाद जोशीले ३ लाख प्रदान गरेका थिए। त्यस्तै खेलाडीले ५ हजारदेखि ३ लाख रुपियाँसम्म स्वैच्छिक सहयोग गरेका थिए। खेलकुद विकास समिति, जिल्ला समन्वय समिति, कुस्मा नगरपालिका, कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनालगायतका निकायले सहयोग गरेको कोषाध्यक्ष रविकुमार श्रेष्ठले जानकारी दिए। ‘४ लाख रुपियाँ अझै ऋणमै छौं’, श्रेष्ठले भने– ‘खेलाडी र विभिन्न निकायबाट ४७ लाख रुपियाँ संकलन भएको छ।’
विदेशमा रहेका नेपालीले पैसा पठाएपछि कभर्डहल निर्माणमा उत्साह थपेको गुरुङले बताए।

‘शुरूमा सामाजिक सञ्जालमार्फत् आह्वान गरेपछि १५ लाख प्राप्त भयो, त्यसपछि सहयोग जुट्ने आशा पलायो’, गुरुङले भने– ‘लामो प्रतीक्षापछि कभर्ड हल निर्माण गर्न सफल भएका छौं।’
उनले कुस्मामा ६० जनाभन्दा बढी नियमित ब्याडमिन्टन खेलाडी रहेको भन्दै बताए– ‘हिउँदको समयमा खुला ठाउँमा खेले पनि वर्षाको समयमा उनीहरू वञ्चित थिए। ‘अब वर्षामा ब्याडमिन्टन खेल्नबाट वञ्चित हुनुपरेन।’

कभर्डहल सञ्चालनपछि अन्य खेलाडीसमेत उत्पादन गर्ने सोच पर्वत ब्याडमिन्टन संघले जनाएको छ। ‘कभर्डहल निर्माणको उद्देश्य खेलाडीमात्रै खेल्ने होइन, नयँँ खेलाडी उत्पादन गर्ने लक्ष्य पनि हो’ –विगत दुई दशकदेखि ब्याडमिन्टन खेल खेल्दै आएका गुरुङले भने। हल निर्माणपछि पर्वतमा राष्ट्रियस्तरको खेलसमेत आयोजना गर्नसक्ने क्षमता भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्